झापामा छरुवा प्रविधि मार्फत धान खेती गरिँदै

झापामा छरुवा प्रविधि मार्फत धान खेती गरिँदै

बनियानी । धान उत्पादनमा लागत घटाउन छरुवा प्रविधिबाट धान खेतीको परीक्षणखेती गरिएको छ ।

कृषि ज्ञान केन्द्र झापाले जिल्लाका केही स्थानमा ‘ड्रम सिडर’ मेसिनको प्रयोग गरी छरुवा प्रविधिबाट धानबालीको परीक्षण खेती थालेको हो । गौरादह गाउँपालिका दुई र कमल गाउँपालिकाको एक स्थानमा परीक्षण खेती गरिएको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

“धान उत्पादनमा केही भए पनि लागत घटाउने उद्देश्यले प्रविधिको प्रयोग गरेर परीक्षण खेती सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “परिणाम कस्तो आउँछ ? त्यो हेर्न बाँकी छ ।”

अहिलेकै अवस्था हुने हो भने कृषकले धानखेती गर्न छाड्ने उहाँको भनाइ छ । उत्पादनमा उच्च लगानी र मूल्य नपाउँदा किसानले आफूले खाने मात्र धान उत्पादन गर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ । छरुवा धान खेतीको प्रविधिबाट किसानको ब्याड बनाउने, बीउ उखेल्ने र रोप्ने खर्च बच्ने जनाइएको छ । यो प्रविधिबाट खेत हिल्याएर ‘ड्रम सिडर’ मेसिनको प्रयोगबाट सोझै धान छर्न सकिने प्रमुख विष्टले बताउनुभयो ।

अहिले परीक्षण खेतीमा धान उम्रिसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्