पोखरामा रङसँगै रमाए विदेशी पर्यटक

<span class='c1'>पोखरामा रङसँगै रमाए</span> <span class='c2'>विदेशी पर्यटक</span>

अन्नपूर्ण (कास्की) । डेनमार्कबाट आउनुभएकी सोफी पोखरा लेकसाइडमा निकै हर्षित देखिनुहुन्थ्यो । उहाँको अनुहारभरि रङ दलिएको थियो । सेतो टिसर्टमा सजिनुभएकी सोफीको कपडा पनि रङले पोतिएको थियो । नेपालको रङको पर्व निकै राम्रो लागेको उहाँको प्रतिक्रिया थियो । “रङ खेल्ने पर्व निकै राम्रो लाग्यो । मलाई पनि खेल्न मन लाग्यो अनि खेलिरहेको छु”, उहाँले भन्नुभयो, “योभन्दा पहिला नेपाल आउँदा यस्तो रमाइलो भएको छैन । अहिले निकै खुसी छु ।”

सोफीसँगै अन्य तीन साथी हुनुहुन्थ्यो । उहाँहरू पनि होलीमा रङसँग रमाइरहनुभएको थियो । उहाँको साथी केराङले रमाइलो गरिरहेको बताउनुभयो । नेपालको यो पर्वको बारेमा डेनमार्क फर्किएपछि अरु साथीलाई पनि सुनाउने बताउनुभयो । “पक्का पनि डेकमार्क गएपछि यसका बारेमा अरु साथीलाई भन्नेछु, उनीहरू पनि पक्का खुसी हुनेछन्”, केराङले भन्नुभयो ।

अमेरिकाबाट पोखरा घुम्न आउनुभएका टोमेरले रङसँग रमाउँदा निकै आनन्द र खुसी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले संस्कार र संस्कृतिको सम्मान गर्नसके राम्रो हुने बताउनुभयो । होटल सङ्घ पोखराका महासचिव राजेन्द्र ढकालले विभिन्न देशका नागरिक एकै ठाउँमा हुने अवसर प्रदान गरेकामा खुसी व्यक्त गर्नुभयो । “कोरोना महामारीपछि यो वर्ष पर्यटकको उल्लासमय उपस्थिति रह्यो । विदेशी पर्यटक एकअर्कालाई रङ दलेर आत्मियता र माया साटिरहेको हामीले पायौँ”, ढकालले भन्नुभयो ।

कोरोनापछि विस्तारै पर्यटकको सङ्ख्या बढ्दै गएको उहाँको प्रतिक्रिया थियो । समय समयमा हुने यस्तो गतिविधिले पर्यटकीय गतिविधि बढ्ने महासचिव ढकालले बताउनुभयो । अहिले पोखरामा होटलको अकुपेन्सी ३० प्रतिशतको हाराहारीमा रहेको उहाँले जानकारी दिनुभयो । पोखरा आउने बाटो र हवाई उडानका कारण भनेजस्तो पर्यटक नभएको उहाँको धारणा छ । “मुग्लिनबाट पोखरा आउने बाटो उस्तै छ । अनि हवाई उडानमा पनि उति सारो मन गर्दैनन्”, उहाँले भन्नुभयो, “यसमा सरकारले सोच्नुपर्ने हो तर आज जुनरूपमा हर्षोल्लास छाएको छ । यस्तो खालको गतिविधि अझै हुनु जरुरी छ ।”

हर्षोल्लासको पर्वमा अप्रिय घटना हुन नदिन कास्की प्रशासनले पोखरामा सुरक्षा व्यवस्था कडा बनाएको थियो । सोही कारण कुनै अप्रिय घटना हुन नपाएको वडा प्रहरी कार्यालय वैदामका प्रमुख वेदप्रसाद जोशीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्