राष्ट्रपतिमा दोब्बर बढी मतले पौडेल निर्वाचित

राष्ट्रपतिमा दोब्बर बढी मतले पौडेल निर्वाचित

काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा पूर्वसभामुख रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । आफ्ना प्रत्यासी पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा निर्वाचनमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो । मतदानमा सङ्घको एक र प्रदेशको चार मत बदर भएको थियो । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् ।

निर्वाचन समितिका अनुसार पौडेलले सङ्घतर्फ दुई सय १४ र प्रदेशतर्फ तीन सय ५२ मत प्राप्त गर्नुभएको थियो । उहाँले कूल ३३ हजार आठ सय दुई मतभार प्राप्त गर्नुभयो । यसैगरी उहाँका प्रत्यासी नेम्वाङले सङ्घतर्फ ९८ र प्रदेशतर्फ एक सय ६२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । नेम्वाङले कुल १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभएको थियो ।

मतदानका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको थियो । पूर्वसभामुख पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्थ्यो भने अर्का पूर्वसभामुख नेम्वाङलाई एमालेको साथ थियो ।

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रूपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्