मेरो तर्फबाट साथ, सहयोग र समर्थन रहन्छ : उपाध्यक्ष नेम्वाङ

मेरो तर्फबाट साथ, सहयोग र समर्थन रहन्छ : उपाध्यक्ष नेम्वाङ

काठमाडौँ । राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताउनुभएको छ ।

राष्ट्रपतिको आज भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि रासससँग कुराकानी गर्दै उहाँले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पूर्वसभामुख नेम्वाङले भन्नुभयो, “घोषणा भएको निर्वाचन परिणामलाई पनि मैले त्यसै रूपमा लिएको छु । राष्ट्रपतिजस्तो सम्मानित पदमा मेरा मित्र पौडेलजी निर्वाचित हुनुभएको छ, कार्यकाल सफलताका लागि मेरो बधाई र शुभकामना छ ।”

जनताले जनताका लागि संविधानसभाबाट संविधान बनाएपछि राष्ट्रपतिको महत्त्वपूर्ण निर्वाचनको चरणबाट गुज्रिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । मलाई धेरै नै खुसी लागेको छ । यसलाई लोकतन्त्रको महत्त्वपूर्ण कडीका रूपमा म सम्झन्छु ।”

जनताले हाम्रै परिवारको व्यक्ति राष्ट्रपति भएको छ भन्ने अनुभूति गर्न पाउनुपर्छ भन्नेमा जोड दिँदै संविधानसभाका अध्यक्ष नेम्वाङले संविधान र कानूनबमोजिम राष्ट्रपतिको भूमिका सफलतापूर्वक सम्हाल्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “मेरो तर्फबाट मित्र रामचन्द्रजीलाई पूरै साथ, सहयोग र समर्थन रहने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।”

यसैबीच जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले आफूहरूले मत दिएर निर्वाचनमा विजयी तुल्याएकामा खुसी व्यक्त गर्दै कार्यकालको सफलतका लागि बधाई ज्ञापन गर्नुभयो ।

उहाँले भन्नुभयो, “सविधान र लोकतन्त्र रक्षा तथा जनभावनाअनुसार सबैको साझा र एकताको प्रतीकको प्रवर्द्धन गर्ने कार्यमा नयाँ राष्ट्रपतिको भूमिका र जिम्मेवारी केन्द्रित हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्