दुर्घटनाले ओछ्यानमा थलिएका विराटनगरका माधव बस्नेत क्षतिपूर्ति र उपचार सहयोग माग्दै

दुर्घटनाले ओछ्यानमा थलिएका विराटनगरका माधव बस्नेत क्षतिपूर्ति र उपचार सहयोग माग्दै

विराटनगर । दुईवर्ष अगाडी दुर्घटनामा परी गम्भीर घाईते विराटनगरका माधव बस्नेत क्षतिपूर्ति र उपचार सहयोगको याचना गर्दै ओछ्यानमा छटपटाई रहेका छन् । कम्मरदेखि मुनिको भाग नचल्ने ५० वर्षीय बस्नेतले क्षतिपूर्ति रकम दिलाइदिन र थप उपचारका लागि सहयोगको याचना गरेका हुन् । विराटनगर– ६ मा डेरा गरी बस्दै आएका उनले राज्यविहीनको अवस्थामा बाच्नु परेको गुनासो गरेका छन् ।

दुई वर्ष अगाडि सिराहाको लहानमा सवारी दुर्घटनामा घाइते भएका बस्नेत अझै ओछ्यानबाट उठन सक्ने अवस्थामा छैनन् । आफूसँग अहिले थप उपचार गर्ने पैसा नभएपछि सहयोगको याचना गरिरहेको उनले बताए ।
काठमाडौँबाट मोटरसाइकलमा विराटनगर फर्कँदै गर्दा बस्नेत २०७७ पुस १ गते साँझ सिराहाको लहानमा दुर्घटनामा परेका थिए । अनियन्त्रित हिसाबमा विपरीत दिशाबाट आइरहेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएपछि उनी बेहोस भएका थिए । क्यान्सरका बिरामी उनको २०७५ कात्तिकमा कलेजोको क्यान्सरको शल्यक्रिया गरिएको थियो । त्यसको फलोअपका लागि काठमाडौँस्थित टिचिङ अस्पताल पुगेर फर्किदा उनी दुर्घटनामा परे ।

‘भयानक दुर्घटनामा परेर पनि बाँचेका उनी अहिले शौचालय जान सक्दैनन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएको र दुर्घटना गराउने पक्षले पनि उपचारमा चासो नदिएपछि समस्या दिन प्रतिदिन बढ्दै गइरहेको उनले बताए ।
ट्याक्टर सिराहाको गोलबजार नगरपालिका–११ का २६ वर्षीय शत्रुधन सदाले चलाएका थिए । सदाले मापसे (मादक पदार्थ सेवन) गरेर ट्याक्टर चलाएको अनुसन्धानबाट खुलेको छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) समेत नभएका उनले कल्याणपुर–१२ का राम एकवाल महतोको ट्याक्टर चलाएको बेला दुर्घटना गराएका थिए । दुर्घटनाका बेला महतो पनि सोही ट्याक्टरमा थिए ।

दुर्घटनापछि बस्नेतले प्रभावकारी उपचार पाउन नसकेको बताउँछन् । दुर्घटना गराउने पक्षबाट पटकपटक गरेर २ लाख १५ हजार रुपैयाँ पाएका थिए । त्यसपछि उनीहरु सम्पर्कमै आएनन् । उपचारमा २६ लाख खर्च भइसकेको छ ।
डाक्टरले अझै उपचारका लागि १० लाख रूपैयाँभन्दा बढी लाग्छ भनेका छन् । जिल्ला प्रशासन कार्यालय सिराहाले क्षतिपूर्ति बापत १२ लाख रुपैयाँ पीडकबाट भराउने आदेश दिए पनि हालसम्म आफूले पाएका छैनन् ।

जिल्ला अदालत सिराहाका न्यायाधीश पुष्पराज थपलियाको इजलासले २०७८ पुस २६ गते ट्याक्टर चालकलाई चार वर्ष कैद र ट्याक्टर धनीलाई आधा सजायको फैसला सुनाइसकेको छ । चालकलाई २५ हजार रुपैयाँ जरिवाना र धनीलाई १२ हजार ५ सय जरिवानाको फैसला अदालतले गरेको छ ।
‘दुर्घटना गराउनेलाई कानुनी कारबाही त भएपनि उनले उपचार भने पाउन सकेका छैनन् । क्षतिपूर्ति चित्तबुझ्दो नभएपनि उनलाई अहिले पीडाले झन् कमजोर बनाएको सुनाउँछन् ।
बस्नेतले सिराहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई ८ लाख रुपैयाँ खर्चको बिल पेस गरेका थिए । पछि उपचारमा थप १२ लाख खर्च भएको उनले सुनाए । उपचारमा लागेको खर्च र क्षतिपूर्ति माग गर्दा प्रजिअले धरौटीमा राखेको ६ लाख रुपैयाँभन्दा बढी भराउन नसक्ने बताएको उनको भनाइ छ ।
१५ लाखको बिल बुझाएपछि प्रशासनमा भएको अनौपचारिक छलफलमा ट्याक्टर धनीले तिर्ने भने पनि अहिलेसम्म आलटाल गरिरहेको गुनासो उनले गरे ।

उपचार र क्षतिपूर्तिको विषयमा अदालतबाट पनि असहयोग भएको गुनासो उनको छ । विराटनगरमा डेरा बसेका उनले मासिक १० हजार भाडा तिर्छन् । उनकी श्रीमती किराना पसल चलाउँछिन् । श्रीमानको उपचार, स्याहार, सुसार र हेरचाहमा उनी खटिन्छिन् । पसलको आम्दानीले घरको भाडा तिर्न पनि गाह्रो परेको उनले सुनाए ।
बस्नेतका छोरा र छोरी छन् । प्लस टु सकिसकेका छोरा र कक्षा ८ मा पढ्दै गरेकी छोरीलाई पढाउनसमेत समस्या भइरहेको उनको गुनासो छ । उपचार नपाएर म थलिएको छु । छोरालाई पढाउन पनि सकिनँ । विदेश पठाउन पनि पैसा नै चाहिन्छ, बस्नेतले भने, ‘छोरा र छोरीसहित मेरो हेरचाह र स्याहार गर्दै श्रीमतीले घर व्यवहार धान्नुपर्ने अवस्था छ । हामी साह्रै ठूलो पीडामा छौं । भगवानले पनि सजाय दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्