सुजता लिम्बु
विराटनगर । संविधान दिवसको अवसर पारेर गत असोज ३ गते तामझामका साथ विराटनगर महानगरपालिका र प्रदेश सरकारले कोशी राजमार्गको डिभाईडर क्षेत्रमा बृक्षारोपण गरियो । संविधान दिवस मनाउन तामझाम साथ रोपिएका २२ हजार बिरुवा हुर्किएकी हुर्केनन् कुनै पत्तो छैन ।
वृक्षरोपण कार्यक्रमका दिन महानगरपालिका उपप्रमुख शिल्पा निरौला कार्कीले भनेकी थिइन्,‘विरुवा रोप्नुभन्दा संरक्षण गर्नु ठूलो कुरा हो, हामी छिट्टै सरोकारवालाको मिटिङ गरेर संरक्षणको खाका तयार पार्छौ ।’ तर, त्यो समयको प्रतिवद्धता अनुसार काम देखिदैन ।
वृक्षारोपण गरिएको ६ महिना वितिसक्दा संरक्षण अभावमा सुक्न थालेका छन् । विरुवा रोपिएको स्थानमा काँडेबार नहुँदा छाडा चौपायले खान्छन् । तत्तकालिन प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राई, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की लगायतको उपस्थितिमा विभिन्न क्षेत्रमा विभाजित गरेर बिरुववाहरु रोपिएको थियो । तर, बिरुवा मुख्यमन्त्री वा मन्त्री या त मेयर-उपमेयर रोपेपनि संरक्षण नहुँदा हुर्कन नपाउँदै सुकिसक्छन् ।
त्यसो त वर्षेनी विराटनगरमा संस्थागत रुपमा वृक्षारोपण कार्यक्रममा लाखौ खर्च गर्ने महानगरसँग रोपिएको विरुवा र खर्चको विवरण छैन । कति विरुवा रोपियो, कति हुर्कियो भन्ने तथ्यांक नहुँदा खर्चको पनि परादर्शिता छैन । वातावरण संरक्षणको नाममा वर्षेनी महानगरपालिकाले गर्ने लाखौं खर्च बालुवामा पानी झै भएर सकिने गरेको छ । बिरुवा रोप्ने र संरक्षण गर्ने नहुँदा भएको खर्चको पारदर्शितामा समेत प्रश्न उठाउने प्रशस्त ठाउँ हुने गरेका छन् । २२ हजार बिरुवा रोपिएको तथ्यांक अनुसार भएको खर्च र ती विरुवा रोपिएकै हुन् की कागजमा मात्रै देखाइएको हो भन्न नसकिने स्थानीय बताउँछन् ।
यसको विषयमा विराटनगर महानगरपालिकाको वातावरण शाखामा बुझ्न खोज्दा कार्यलयका कर्मचारी नै अनभिज्ञ छन् ।