स्ववियु नेतृत्वको भूमिका

स्ववियु नेतृत्वको भूमिका

उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक केन्द्रहरुमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । केहि क्याम्पसहरुमा हुने क्रम र केहिमा बाँकी छ । निर्वाचनबाट विद्यार्थीहरुको साझा नेतृत्व स्थापित भएका छन् । निर्वाचनले विश्वविद्यालय मातहतका क्याम्पसहरुमा विद्यार्थी माझ लोकतान्त्रिक अभ्यासमार्फत नेतृत्व विकासको एउटा ढोका खोलेको छ । यो व्यवहारिक र अभ्यासगत रुपमा समाजको भावी राजनीतिक नेतृत्व स्थापित गर्ने कार्य थियो । जहाँ विद्यार्थी नै उमेदवार र मतदाता भएका कारण त्यसको उद्देश्य पनि समग्र विद्यार्थी हित प्रेरित हुन्छ ।

स्ववियु निर्वाचनबाट निर्वाचित नेतृत्वले राजनीतिक भूमिका भन्दा शैक्षिक उन्नयनमा योगदान दिनु आवश्यकता छ । त्रिभुवन विश्वविद्यालय मातहतका शैक्षिक केन्द्रहरुको अवस्था विस्तारै खस्कदैं गएका छन् । शैक्षिक कार्यक्रमदेखि गुणस्तर शिक्षा प्रदान गर्ने थलो बन्नुपर्ने क्याम्पसहरु विद्यार्थीविहीन हुँदै जाँदा स्ववियु निर्वाचनले स्थापित गरेको नेतृत्वले समग्र पक्षलाई ध्यानमा राखेर काम गर्नुपर्ने जरुरी छ । शिक्षा प्रणालीमा सुधार गर्न बहस, क्याम्पसस्तरमा अध्ययन हुने शिक्षाले विश्वव्यापी प्रतिस्प्रर्धा गर्ने वातावरण, प्रविधि अनुसारको शैक्षिक कार्यक्रम र व्यवहारमुखी शिक्षाको विषयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको धारणा स्ववियुमार्फत सार्वजानिक हुनु जरुरी छ ।

विद्यार्थीले युग सुहाउँदो शिक्षा प्रणाली र शैक्षिक कार्यक्रमका लागि स्ववियुमार्फत क्याम्पस प्रशासनसम्म माग राख्दा त्यसको बहस प्राज्ञिक क्षेत्रमा प्रवेश गर्नेछ । क्याम्पसमा लामो अनुभव भएका प्राज्ञसँगै नयाँ खोज अनुसन्धानको क्षेत्रमा क्रियाशिल भएर आएकाहरुको उपस्थिति हुन्छ । विद्यार्थीका मुद्दामाथि प्राज्ञिक बहस हुँदा त्यसको निचोड समग्र शैक्षिक क्षेत्रमा सुधारका लागि हुनेछ ।

स्ववियु निर्वाचनपछि निर्वाचित विद्यार्थी नेतृत्वले वर्तमानको अवस्था आंकलन गरेर भविष्यको रुपरेखा तयार पार्ने भूमिका निर्वाह गर्न सक्दछन् । जसले नेतृत्वको महत्वलाई राजनीतिक रुपमा नभई शैक्षिक रुपमा स्थापित गराउन चाहन्छ उसले मात्रै यस्ता काम गर्ने पहल लिन सक्दछ । अतः क्याम्पस प्रशासनसँगको मिलेमतो, स्ववियु अन्तर्गत रहने विभिन्न प्रकारका कोषमा आँखा लगाउने मात्रै नभई समग्र शिक्षा प्रणालीलाई उचाईमा उठाउन विद्यार्थी नेतृत्वको ध्यान जाओस् । प्राज्ञिक थलो भित्र स्थापित नेतृत्वको हैसियत प्राज्ञिकस्तरकै भए मात्रै शिक्षा प्रणालीको दिगो विकासमा मद्दत पुग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्