हुलाकी राजमार्ग विराटनगर मात्रै हैन कटहरीदेखि रंगेलीसम्म सुस्त, स्थानीय तहमा नागरिक दवाव

हुलाकी राजमार्ग विराटनगर मात्रै हैन कटहरीदेखि रंगेलीसम्म सुस्त, स्थानीय तहमा नागरिक दवाव

विराटनगर । मोरङमा हुलाकी राजमार्ग निर्माण सुस्त हुँदा सास्ती बढेको भन्दै नागरिकले स्थानीय तहमा दवाव बढाएका छन् । विराटनगर महानगरपालिका र कटहरीका स्थानीयवासीले ठेकेदारले सडक भत्काएर छोडेपछि सास्ती बढेको भन्दै निर्माण पहल माग गर्दै दवाव बढाएका हुन् ।

कटहरी गाउँपालिकामा चार राजनीतिक दल र उद्योग वाणिज्य संघले अध्यक्ष देवराज चौधरीलाई बुधबार ज्ञापनपत्र बुझाउँदै तत्काल सडक निर्माणको काम बारे चासो लिईदिन माग गरेका छन् । कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर समेटने जुडी खोलादेखि सिंघिया खोलासम्मको सडक भत्काएर निर्माण नगरिएपछि त्यसले सास्ती बढाएको भन्दै ज्ञापनपत्र बुझाइएको हो ।

निर्माण कम्पनीले काम रोकेको भन्दै गाउँपालिका अध्यक्ष चौधरीलाई नेपाली काँग्रेस, नेकपा एमाले, जनता समाजवादी र नेकपा माओवादी केन्द्र तथा उद्योग वाणिज्य संघ कटहरीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले स्थानीय तहले आफ्नो समस्याको रुपमा बुझेर सडक निर्माणको कामलाई सुचारु गराउन पहल लिनुपर्ने माग गरेका छन् । सडक तथा सडकका कल्भर्ट र पुल भत्काएर सम्पर्कविहीन भएका ठेकेदारलाई काममा फर्काउने र संभावित जोखिम पूर्वानुमान गरेर प्राथमिकीकरण माग गरिएको छ ।

सडकसँगै पुल र कल्भर्टहरु भत्काएका कारण वर्षात्को समयमा हुनसक्ने संभावित जोखिमको बारेमा समयमै चासो राख्न माग गरिएको हो । सडक निर्माण गर्नुपर्ने भन्दै गठन गरिएको संघर्ष समितिले तत्काल काम अगाडी नबढाए ढाट लगाएर सवारी आवागमन रोक्नेसम्मको चेतावनी दिएका छन् । नागरिक संघर्ष समितिका संयोजक मृत्युन्जय झाले सर्वदलिय र सर्वपक्षिय हितका लागि संघर्ष समिति गठन गरेर विकास निर्माणको कामका लागि दवाव दिने उद्देश्य राखिएको बताउनुभयो । उहाँले स्थानीय नागरिकको प्रतिनिधि स्थानीय तहका जनप्रतिनिधि भएका कारण संस्थागत रुपमा प्रदेश तथा संघीय सरकारसम्म पत्राचार गरेर पहल लिन माग गर्नुभयो ।

कटहरी गाउँपालिका अध्यक्ष चौधरीले कटहरी गाउँपालिका क्षेत्रको जुडिखोला–सिंघिया चार किलोमिटर सडक निर्माणको ठेक्का श्रेष्ठ कन्ट्रक्सनले तीनवर्ष अगाडी लिएको जानकारी दिदैं काम रोकिनु कारण सम्बन्धित कार्यालयमा बुझ्ने र यथाशिघ्र पहल लिने आश्वाशन दिनु भएको थियो ।
ठेकेदार कम्पनीको ढिलासुस्तीले मोरङ जिल्लाभित्र निर्माणाधीन चरणमा रहेको हुलाकी राजमार्गले नागरिकलाई सास्ती दिइएको छ । ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले भत्काएर लथालिङ्ग पारेपछि समयमै काम नगर्दा त्यसको असर नागरिकको दैनिक जीवनमा परेको हो । यस अगाडी विराटनगर–५ को गणेशचौक–केशलिया खण्डको ३ किलोमिटर १९५ मिटर सडक खण्ड स्थानीयले अवरोध गरेका थिए । स्थानीयले विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई ज्ञापनपत्र बुझाउँदै सडक निर्माणको काम बारे चासो दिन माग गरेका थिए ।
हुलाकी राजमार्ग अन्तर्गत सेवाक्षेत्र भित्रका स्थानीय तहका जनप्रतिनिधिले निर्माणमा गम्भीर लापर्वाही भएको आरोप लगाउँदै आएका छन् । विराटनगर–रंगेली सडक खण्ड भत्काएर काम नगरेको भन्दै बारम्बार गुनासो पोख्ने गरिएको छ ।

मोरङमा हाल कुल ९९.५ किलोमिटर लम्बाईको हुलाकी राजमार्ग निमार्णको चरणमा छ । सात च्यानेजमा ठेक्का लगाएर ४४ किलोमिटरको रतुवा–केशलिया सडक, ३० किलोमिटरको गान्धी मनमोहन मार्ग, २२ किलोमिटरको कानेपोखरी–रङ्गेली सडक र ३.५ किलोमिटरको विराटनगर–केशलिया सडक पर्दछ ।
तराईको लाईफलाईन मानिएको हुलाकी राजमार्ग विस्तारमा ठेकेदार कम्पनीले आफूखुशी मापदण्ड निर्धारण गर्ने गरेको गुनासो समेत छ । मोरङमा सात च्यानेजमा ठेक्का लगाएर निर्माण भईरहेको रतुवा–केशलिया सडक खण्डमा गजुरमुखी मोतिदान जेभी, कालिका–मैनाचुली–वेदान्सी जेभी र श्रेष्ठ कन्स्ट्रक्सनसँग सम्झौता भएको छ । यसैगरी गान्धी मनमोहन मार्गमा कान्छाराम कन्स्ट्रक्सन तथा विराटनगर केशलिया रोड सडक खण्डमा देव एण्ड सायर भूमिले ठेक्का लिएको छ ।

विराटनगर–५ को गणेशचौकदेखि केशलियासम्मको ३.१९५ किलोमिटर सडक निर्माणको सम्झौता २०७८ माघ २ गते भएपनि काम अझै सुरु भएको छैन । त्यसको दवावले वडा अध्यक्ष सन्तोष न्यौपानेलाई दैनिक कामकाज गर्न समेत समस्या परिरहेको बताउनुहुन्छ ।
मोरङको रतुवा–केशलिया सडकखण्ड अन्तर्गत रतुवामाईदेखि झुँगी टोलसम्मको १६.५ किलोमिटर सडक खण्डको निमार्ण सम्झौता भएको अढाई वर्ष भईसकेको छ । २०७६ कात्तिक २४ मा सम्झौता भएको सो सडक २०७९ कात्तिक २३ सम्म सक्नुपर्ने लक्ष्य छ । तर, हाल सो सडकको भौतिक प्रगति २५ प्रतिशत मात्र छ । ७९ करोड ११ लाख ३५ हजार मा सम्झौता भएपनि काम सुस्त भएको स्थानीयवासीको गुनासो छ । पि.एस÷गजुरमुखी÷मोतिदान जेभीले ठेक्का लिएको सडकमा पछिल्लो अढाई वर्षमा टेवापर्खाल तथा कल्भर्ट निमार्ण र आंशिक रुपमा माटो पुर्ने बाहेक बाँकी काम यथावत् रहेको हो ।

यसैगरी रतुवा–केशलिया सडकखण्डको बेतौनादेखि कटहरीको नयाँ बजारसम्मको ११.९ किलोमिटर सडकखण्डको अवस्था पनि सुस्त छ । २०७६ कात्तिक २४ मा सम्झौता भएको सडकको भौतिक प्रगति न्यून छ । चालु वर्षमा सक्नुपर्ने सडक ७८ करोडको लागतमा निमार्ण सम्झौता भएकोमा १४ करोड भुक्तानी भईसकेको छ ।
यसैगरी झुँगी टोलदेखि बेतौनासम्मको ७.६ किलोमिटर सडकखण्ड भने कालोपत्रे भईसकेको छ । कटहरीदेखि विराटनगरसम्मको ६ किलोमिटरमा १५ प्रतिशत, गान्धी मनमोहन मार्ग अन्तर्गत पथरी–डाँसपुल र डाँसपुल–रङ्गेलीसम्मको ३० किलोमिटरको ४० प्रतिशत काम भएको छ । विराटनगरको गणेशचोक–केशलिया खोलासम्मको ३.१९ किलोमिटर सडकको भौतिक प्रगति ५ प्रतिशत मात्रै छ ।

राई–मधेशका २१ जिल्लाहरु जोड्ने बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना आर्थिक वर्ष २०६२÷६३ सालबाट सुरु भएको हो । पूर्व–पश्चिम हुँदै तराईका बस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्यसहित सुरु भएको राजमार्ग विस्तारको कार्य २०७४÷२०७५ मा सम्पन्न हुने अनुमान गरिएको थियो । पूर्वको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्ने यो सडक निर्माणको काम मोरङमा भने अलमलमा परेको देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्