शून्य समय : जनताका समस्याबारे ध्यानाकर्षण

शून्य समय : जनताका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरुले मिटरब्याज पीडितको मागको सम्बोधन, नागरिकता विधेयक र सडक निर्माण लगायतका जनताका दैनिक जनजीवनसँगसम्बन्धीत विषयमा सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउनुभएको छ ।

बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नागरिकता विधेयक तत्काल पास गर्न माग गर्नुभयो । उहाँले नेपाली नागरिकको बाआमाबाट जन्मेका सन्तानले नागरिकता पाउने संवैधानिक हकका बाबजुद धेरैले नागरिकता पाउन नसकेका बताउनुभयो । सांसद थापाले भन्नुभयो,“ आपूmहरुबीचको विमतिलाई थाती राखेर जन्मसिद्ध नागरिकता र आमाको नाममा नागरिकता पाउने व्यवस्थालाई ध्यानमा राखेर नागरिकता विधेयक पास गर्नुपर्छ । ”

यस्तै, सांसद अमरेशकुमार सिंहले मिटरब्याज पीडितको माग पूरा गर्न माग गर्दै भन्नुभयो, “मिटरब्याज पीडितहरु राज्यको ऐना हो, राज्य कसरी सञ्चालन भइरहेको छ भन्ने । ” मिटरब्याजको समस्या पटक–पटक दोहोरिनुको कारण सरकारको गम्भीर ध्यानआर्कषण नहुनु भएको सांसद सिंहको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी)का सांसद अमरबहादुर थापाले दैलेख जिल्लामा २०७२ र २०७९ सालमा भएको प्राकृतिक प्रकोपले क्षति पुराएका बस्ती पुनःस्थापना र व्यवस्थापन हुन नसकेकोतर्फ सरकारको ध्यानार्कषण गराउनुभयो । शून्य समयमा बोल्दै नेकपा (एमाले)का सांसद अमरबहादुर रायमाझीले उदयपुर जिल्लाको कटारी लगायतका स्थानमा नापीको काम यधाशीघ्र सुरु गर्न माग गर्नुभयो ।

नेकपा (एमाले)का सांसद अमृतलाल राजवंशीले झापाका किसान र पशुपालन व्यवसायीले आफनो उत्पादन र उपजको उचित मूल्य पाउन नसकेकोप्रति ध्यानार्कषण गराउनुभयो । नेकपा (एमाले)का सांसद अमृता अग्रहरिले कपिलबस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गर्नुभयो । उहाँले तिलौराकोटले हजारौँ वर्षको ऐतिहासिक महत्व बोकेको भन्दै विश्व सम्पदा सूचीमा राख्नपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले राष्ट्रिय तामाङ् सङ्ग्रहालय निर्माणको माग गर्नुभयो । सांसद अशोककुमार चौधरीले सुनसरीको विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेको सडकको मर्मत सम्भार र निर्माणमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (एमाले) को सांसद अस्माकुमारी चौधरीले दाङ घोराही उपमहानगरपालिकाका बस्ती वर्षायाममा बाढीको जोखिममा रहेको भन्दै ध्यानार्कषण गराउनुभयो । उहाँले तटबन्ध निर्माण र बस्ती व्यवस्थापनमासमेत ध्यानार्कषण गराउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद असिम साहले एक महिनादेखि मन्त्रालय मन्त्रीविहीन भएको भन्दै मन्त्रिमण्डल विस्तार तत्काल हुनुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले दोलखाका विभिन्न स्थानमा बन्द भएको स्लेट् ढुङ्गाखानी तत्काल सञ्चालन गर्न माग गर्नुभयो । नेकपा(एमाले) का अर्का सांसद ईश्वरी घर्तीले रोल्पामा चिकित्सकको अभावमा जनताले महँगो शुल्कमा उपचार गर्न बाध्य भएको भन्दै सरकारको ध्यानार्कषण गराउनुभयो । उहाँले उपचारका लागि केन्द्र धाउन पर्ने बाध्यताको अन्त्य गर्न विशेषज्ञ चिकित्सकको दरबन्दीका लागि माग गर्नुभयो । उहाँले जिल्लाका स्वास्थ्य स्वयमसेविकाले राज्यबाट सेवा सुविधा नपाएकोसमेत बताउनुभयो ।

नेकपा (एमाले)का सांसद महेश बर्तौलाले संसद्मा पटक –पटक संसद्को नियम उल्लङ्घन भएको भन्दै नियमापत्ति जनाउनुभयो । नेकपा (एमाले)का सांसद एकनाथ ढकालले राष्ट्रिय गौरबका योजनाप्रति सरकारको ध्यानार्कषण गराउँदै बूढीगण्डकी जलविद्युत् आयोजनालाई अन्यौलतर्फ नधकेल्न माग गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद कल्पना चौधरीले ठूलो सङ्ख्यामा युवा जनशक्ति बेरोजगार भएको चर्चा गर्नुभयो । नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले विकट स्थानका विद्यार्थीको खाजा खर्च बढाउन माग गर्नुभयो । कांग्रेसका सांसद सुमदेवी थापाले रुकुमपूर्वको सदरमुकाम २०७४ सालमा तोकिएको नयाँ सदरमुकाम सञ्चालनतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । नेकपा(एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले चीन सरकारको सहयोगमा निर्माण भएको चक्रपथ अलपत्र अवस्थामा भएको भन्दै मर्मत सुधारको नाममा अलपत्र नपार्न माग गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का संसद् गङ्गा कार्कीले दोलखा जिल्लाको कालीञ्चोक गाउँपालिका वडा पाँचमा रहेका थामी बस्ती जोखिममा रहेको भन्दै सरकारले यसतर्फ ध्यान दिओस भन्नुभयो । नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले कमैया प्रथाको मुक्तिको घोषणा गरेर कानुन निर्माण गरे पनि पुनःस्थापना हुन नसकेको बताउनुभयो । उहाँले सरकारले आश्वासन मात्र बाँडेको छ भन्नुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले धनगढी उपमहानगरपालिकामा छ महिनादेखि स्वास्थ्यकर्मीले पारिश्रमिक नपाएको बताउनुभयो । नेकपा (माओवादी केन्द) का सांसद छिरिङ डम्डलु लामा(भोटे )ले हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडन माग गर्नुभयो । उहाँले राष्ट्रिय प्रसारण लाइन जोड्न र पर्यटकीय गन्तव्यको रुपमा हुम्ला जिल्लाको विकास गर्नसमेत माग गर्नुभयो ।

नेकपा (माओवादी केन्द्रं) का सांसद छिरिङ ल्हामु लामाले सङ्घीय कर्मचारी ऐनको अभावमा कर्मचारी व्यवस्थापन र वृत्ति विकासमा भद्रगोल भएको छ भन्नुभयो । नेपाली कांग्रेसका सांसद जीवन परियारले देशव्यापी समस्याको रुपमा रहेको मिटरब्याज पीडितहरुको न्यायका लागि तत्काल निर्णय गर्नुपर्ने बताउनुभयो । उहाँले मुसहर बस्तीको व्यवस्थापन गर्न समेत माग गर्नुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्