कर्णालीको कथामा ‘बुलाकी’

<span class='c1'>कर्णालीको कथामा</span> <span class='c2'>‘बुलाकी’</span>

काठमाडौं । नेपाली चलचित्रमा ग्रामीण परिवेश र कथालाई केही समययता देखाउने क्रम बढेको छ । मौलिक नेपाली चलचित्रमा स्थानीय भाषा, पहिरन र संस्कृतिलाई समेटिने गरिन्छ । कर्णालीमै डेढ महिना छायाङ्कन गरिएको चलचित्र ‘बुलाकी’ को काठमाडौँमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेत्री सुरक्षा पन्तले मनोरञ्जन, मौलिकतासँगै संस्कृतिलाई समेटेर तयार गरिएको जानकारी दिनुभयो ।

“कर्णाली ठाउँ विकट भए पनि त्यहाँका मान्छे दुःखी छैनन् । हामीले चलचित्रमार्फत अहिले पनि त्यहाँ सुनिने जारी प्रथाको कथालाई उठाएका छौँ”, अभिनेत्री पन्तले भन्नुभयो, “यसले प्रथाको प्रभावलाई देखाएको छ । त्यो ठीक होइन भन्ने सन्देश समाजलाई दिन्छ ।” उहाँले निर्देशक लक्ष्मण सुनार स्थानीयवासी भएकाले काम गर्न सजिलो भएको जानकारी दिँदै स्थानीय लवजसँगै पहिरन, खानपिनमै रहेर छायाङ्कन गरिएको चलचित्रमार्फत महिलाको कथा भन्न खोजिएको बताउनुभयो ।

चलचित्रमा अभिनेत्री पन्तको श्रीमान्को भूमिका निर्वाह गर्नुभएका अभिनेता नरेन खड्काले कर्णालीको एउटा समाज र परिवार देखाइएको बताउनुभयो । “यसलाई नेपाली मौलिक चलचित्र भनेर जहाँ पनि देखाउन सकिन्छ । हामीले व्यावसायिकभन्दा मौलिकता झल्कने चलचित्र बनाएका छौँ”, उहाँले भन्नुभयो, “चलचित्र पर्दामा हेरिरहँदा कर्णालीका बासिन्दाले आफूलाई पात्रसँग ‘कनेक्ट’ गर्नुहुनेमा विश्वस्त छु ।”

अभिनेता रमेश बुढाथोकीले नयाँ पुस्ताको काम र लगावको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “कलाकारहरूले जीवन्त अभिनय गर्नुभएको छ । आफ्नो पात्रलाई लिएर गर्ने तयारी अहिलेका कलाकारमा झनै राम्रो छ । सबैले आफ्नो पात्रलाई न्याय दिनुभएको छ ।” यसमा विराज विष्ट, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईं लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

चलचित्रमा शिव ढकालले छायाङ्कन, अर्जुन जिसीले सम्पादन, राजबहादुर सानेले कथा लेखन, लेखक साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता विष्टले पटकथा तथा संवाद तयार गर्नुभएको हो । डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको चलचित्र वैशाख १ गते प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्