बागमती प्रदेशका नवनियुक्त मन्त्रीद्वारा पद र गोपनीयताको शपथ

बागमती प्रदेशका नवनियुक्त मन्त्रीद्वारा पद र गोपनीयताको शपथ

हेटौँडा । बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद र गोपनीयताको आज शपथ लिनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त दुवै जना मन्त्रीलाई पद र गोपनीयताको शपथ आज साँझ गराउनुभएको हो ।

मुख्यमन्त्री शालिकराम जमकट्टेलले नेपाली कांग्रेसका तर्फबाट बहादुर सिंह लामालाई आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थ लामालाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री नियुक्त गर्नुभएको थियो । उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

बागमती प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीको संयुक्त गठबन्धनबाट जमकट्टेल पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँले पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो । जसमा आर्थिक मामिला तथा योजनामन्त्री नेकपा एमालेका जगन्नाथ थपलिया र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राप्रपाका उद्धव थापा नियुक्त हुनुभएको थियो ।

माघ ४ गते विश्वासको मत पाएसँगै मुख्यमन्त्री जमकट्टेलले एमाले र राप्रपाको गरी थप तीनजना मन्त्री नियुक्त गर्नुभएको थियो । फागुन १३ गते बागमती सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएको थियो । सोही दिन राप्रपाका तर्फबाट मन्त्री बनेका तीनजनाले पदबाट राजीनामा दिनुभएको थियो । मुख्यमन्त्री जमकट्टेलले चैत १० गते पुनः विश्वासको मत लिने क्रममा एमालेले विश्वासको मतको विपक्षमा मतदान गर्दै सरकारबाट बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्