धनकुटामा पहिलो कोप्चे महोत्सव सुरु

धनकुटामा पहिलो कोप्चे महोत्सव सुरु

नयाँ वर्ष २०८० को अवसरमा शुक्रबारदेखि धनकुटामा पहिलो कोप्चे महोत्सव सुरु भएको छ । ‘मौलिकता संरक्षण, पर्यटन प्रवर्द्धन’ भन्ने नाराका साथ ऐतिहासिक बिहीबारे हाटस्थलमा तीनदिने महोत्सव धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शुभारम्भ गरेका थिए । उक्त अवसरमा मौलिक नेवारी र आठपहरिया जातिको कला, संस्कृति, भेषभुषा, रहनसहन र परिकार विशेष आकर्षण रहेको छ ।

कोप्चे पुनर्जागरण अभियानबारे जानकारी प्रदान गर्न, पर्यटन विकासमार्फत आर्थिक सामाजिक विकास र जीवनस्तर उकास्न, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक मौलिकता संरक्षण र बाह्यय पर्यटन केन्द्रको रुपमा विकास गर्न महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक रिदम श्रेष्ठले बताए । महोत्सवमा १५ स्टल रहेका छन् । स्टलमा नेवारी र आठपहरिया जातिको मौलिक परिकार समावेश छ । संस्कृति संरक्षण र पर्यटन विकासका लागि अन्तर्क्रिया, सन्देशमूलक चलचित्र प्रदर्शनी, धनकुटाका पुराना तस्बिरको प्रदर्शनी तथा मनोरञ्जनात्मक खेलसमेत समावेश छन् ।

महोत्सव २० हजार जना सहभागी हुने आयोजकको अपेक्षा छ । महोत्सव सञ्चालन गर्न धनकुटा नगरपालिकाकाले २ लाख, वडा नं ५ कार्यालय र संघ संस्था उद्यमी, व्यापारीबाट १/१ लाख र स्टलबाट ४५ हजार गरी कुल ६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

ओरेन्ज सिटी नाम दिइएको तल्लो र माथिल्लो कोप्चेका डेढ सय घर सुन्तले रंगमा सजिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्