जितगढी किल्ला हस्तान्तरण गरिँदै

जितगढी किल्ला हस्तान्तरण गरिँदै

रुपन्देही । अङग्रेजसँगको युद्धमा नेपालले विजयी हासिल गरेको बुटवलको जितगढी किल्ला हस्तान्तरण गरिने भएको छ । ब्रिटिस सेनालाई नेपालले युद्धमा पराजित गरी विजय हासिल गरेको दिन वैशाख ७ गते विशेष समारोहका बीच नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई बुटवलको जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

ब्रिटिस सेनालाई नेपालले युद्धमा पराजित गरी विजय हासिल गरेको स्थान बुटवलको जितगढी किल्ला संरक्षण सम्वर्द्धको काम सम्पन्न गरी बिहीबार हस्तान्तरण गर्ने तयारी गरिएको मध्यपश्चिम पृतना हेडक्वार्टर योगिकुटी बुटवलका पृतनापति यामप्रसाद ढकालले जानकारी दिनुभयो ।

नेपाली सेनाले अङ्ग्रेज फौजलाई पराजित गरी जितगढीबाट नेपाली वीरताको इतिहास रचेको थियो । विसं १८७१ मा पाल्पाका तत्कालीन कर्णेल उजीरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले वीरता र निडरताका साथ लडाइँ लडेर विजयको झण्डा फहराएको थियो ।

बुटवल उपमहानगरपालिकाले गुरुयोजना नै बनाएर यो किल्लाको संरक्षण र सम्वर्द्धनको काम थालेको थियो । सोही गुरुयोजनाअनुसार किल्लाको संरक्षण र विकासमा नेपाली सेना सक्रिय भएर लागेको थियो । जितगढीमा अङ्ग्रेज फौजसँगको युद्धमा नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापा र सहादत प्राप्त गर्ने १३ जना वीर नेपाली सैनिकको शालिक निर्माण गरिएको छ । उक्त लडाइँमा वीरगति प्राप्त गरेका तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सुर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानियाँ, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, समशेर राना मगर र जुठे बस्नेतको शालिक बनाइएको हो ।
सो क्षेत्रमा अहिले नौ फिट उचाइको पूर्णकदको तामाको शालिक निर्माण गरिनुका साथै ५५ फिटको टावरमा राष्ट्रिय झण्डा फहराइएको छ । वीरतापूर्वक अङ्ग्रेज फौजमाथि विजय प्रात गरेको सोही स्थानको संरक्षण र प्रवर्द्धनका लागि वीर योद्धाको शालिक, वाटर फाउण्टेन र झिलिमिली बत्तीसहितको फूलबारी र नजिकै युद्ध सङ्ग्रहालय निर्माण गरिएको छ भने मध्यभागमा नेपालको झण्डा राखिएको गेटको दुवैतर्फ तोप राखिएका छन् ।

बुटवल उपमहानगरपालिकाका संस्थापक प्रमुख शिवराज सुवेदीले आफ्नो कार्यकालमा पाँच वर्षे गुरुयोजना बनाएर अतिक्रमणको चपेटामा परेको जितगढी किल्लाको संरक्षण र सम्वर्द्धनको पहल सुरु गरिएको बताउनुभयो । “नेपाली सेनाले इतिहास रचेको क्षेत्र भए पनि अझेलमा थियो । अहिले यसको मुहार फेरिएको छ, सबैको सहयोग र सहकार्यमा जितगढी किल्लालाई यो अवस्थामा ल्याउन सक्यौँ”, उहाँले भन्नुभयो ।

जितगढी किल्ला हस्तान्तरणसँगै सोही दिन गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोलीको पदयात्रा यहीँ आएर समापन हुनेछ । पर्यटन प्रवर्द्धन गर्ने र नागरिकसँगको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले गोरखाबाट गत चैत २९ गते पैदलयात्रामा निस्केको सेनाको टोली तनहुँ, स्याङ्जा पाल्पा हुँदै बुटवल आउने छ ।

टोलीलाई नेपाली सेनाले अङ्ग्रेज फौजलाई परास्त गरेको बुटवलको जितगढी किल्लामा भव्य स्वागत गर्ने कार्यक्रम राखिएको मध्यपश्चिम पृतना योगिकुटी बुटवलका पृतनापति ढकालले बताउनुभयो । नेपालको राष्ट्रिय झण्डाका साथमा नेपाली सेनाको श्रीनाथ गण, पुरानो गोरख गण, कालिबक्स गण, बर्दवाणी गण, सबुज गण र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजासहित पदयात्रा सुरु भएको हो ।

टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई नेपाली भण्डा हस्तान्तरण गरेको छ । तनहुँको टोलीले पाल्पाको केलादीघाटमा पाल्पाली सेनाको टोलीलाई नेपाली भण्डा हस्तान्तरण गरेको छ । बुधबार पाल्पाले नुवाकोटगढीमा आएर गरुणदल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीदेखि जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको पृतनापति ढकालले बताउनुभयो । “राष्ट्रिय एकताको सन्देश दिनुका साथै नागरिकसँगको सम्बन्ध अझै प्रगाढ बनाउन पैदलयात्रा थालिएको हो । यो यात्रामा सर्वसाधारणको न्यानो स्वागत र सम्मान मिलेको छ”, पृतनापति ढकालले भन्नुभयो । उहाँले सेनाको टोलीले दैनिक ४० किलोमिटर पैदलयात्रा गरेको बताउनुभयो । “हामी अहिले पर्यटन प्रवर्द्धनलाई महत्त्व दिएर काम गरिरहेको छौँ, जितगढीसँगै माथागढीको विकासमा पनि लागेका छौँ, आशा छ यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने छ”, उहाँले थप्नुभयो ।

तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटो हुँदै सेनाको टोली पैदलमार्ग हुँदै बुटवल आइपुग्ने छ । राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण सहभागी पैदलयात्रामा ५५ जनाको टोली रहेको र जिल्ला–जिल्लामा सङ्ख्या थप हुँदै गएको मध्यपश्चिम पृतनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्