क्रिकेटका लागि आवश्यक सम्पूर्ण इन्टरनेट सुविधा दिन वर्ल्डलिङ्क र क्यानबीच सम्झौता

क्रिकेटका लागि आवश्यक सम्पूर्ण इन्टरनेट सुविधा दिन वर्ल्डलिङ्क र क्यानबीच सम्झौता

काठमाडौं । देशकै सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड र नेपाल क्रिकेट संघ बीच आधिकारिक रुपमा इन्टरनेट सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

देशमा क्रिकेटको स्तरोन्नति गर्न आवश्यक कनेक्टिभिटी सम्बन्धी हरेक पूर्वाधार प्रदान गर्ने विषयमा वर्ल्डलिंक र नेपाल क्रिकेट संघ (क्यान) बीच मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको एक कार्यक्रमको बीचमा वर्ल्डलिंकको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल र क्यानको तर्फबाट कार्यकारी सचिव दुर्गा राज पाठकले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

तीन वर्षका लागि भएको यो सम्झौताको अवधि दुवै पक्षबीचको आपसी समझदारीमा थप समयका लागि विस्तार हुनसक्ने बताइएको छ ।

समझदारीमा हस्ताक्षरका लागि आयोजित कार्यक्रममा कम्पनीका सीईओ नेपालले वर्ल्डलिंक देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक भएको नाताले पनि देशको खेललाई विस्तार तथा प्रवर्द्धन गर्नु आफूहरूको जिम्मेवारी भएको बताए ।

“हामीले देशका दुर्गम स्थानहरूमा पनि सेवा उपलब्ध गराईरहेका छौं । पछिल्लो समय खेलमा पनि नेपालले प्रगति गरिरहेको छ । यसलाई देशका हरेक कुनाकुनासम्म पुर्‍याउनु हाम्रो दायित्व हो । यही कुरालाई मनन गर्दै हामीले खेल प्रवर्द्धनमा सहयोग गरेका हौं,” उनले भने ।

नेपालमा जारी एसीसी क्रिकेट कप अवधिभरका लागि दुवै स्थानमा १०० एमबीपीएसको डेडिकेटेड इन्टरनेट जडान गरिएको कम्पनीले जनाएको छ ।

सम्झौता अनुसार वर्ल्डलिंकले नेपाल क्रिकेट संघ (क्यान) को आवश्यकता अनुसार देशभर वैकल्पिक अप्टिकल फाइबर सहितको इन्टरनेट सुविधा उपलब्ध गराउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्