कोशी प्रदेशको बेरुजू गतवर्षको तुलनामा घट्यो

कोशी प्रदेशको बेरुजू गतवर्षको तुलनामा घट्यो

सुजता लिम्बु
विराटनगर । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रदेशको पाँचौं लेखापरीक्षण प्रतिवेदनमा कोशी प्रदेशको बेरुजू गत वर्षको तुलनामा घटेको देखिएको छ । महालेखाले आइतबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङलाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो ।
अघिल्लो चौथो लेखापरीक्षकको प्रतिवेदन (आर्थिक वर्ष २०७७÷०७८) मा बेरुजु प्रतिशत ३.२५ प्रतिशत थियो । पहिलो प्रतिवेदन २०७४÷०७५ मा ३.३८ प्रतिशत, दोस्रो प्रतिवेदन २०७५÷०७६ मा २.२१ प्रतिशत, तेस्रो प्रतिवेदन २०७६÷०७७ मा २.६४ प्रतिशत बेरुजू देखिएको थियो । हालसम्म जम्मा बेरुजू अंक भने कोशी प्रदेशमा १ अर्ब ५२ करोड ६५ लाख ४२ हजार पुगेको छ ।

प्रतिवेदनको अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश सरकारको पाँच वर्षमा बेरुजू बढेर १ अर्ब ४९ करोड ९८ लाख ५९ हजार पुगेको छ । सोमध्ये असुल गर्नुपर्ने ३२ करोड १० लाख ७६ हजार, नियमित गर्नुपर्ने १ अर्ब ५ करोड ९२ लाख ५२ हजार र पेश्की बाँकी ११ करोड ९५ लाख ३१ हजार रहेको छ ।
यसैगरी अन्य संस्था एवम समितितर्फ १४ करोड ६४ लाख ५३ हजार बेरुजू देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने १ करोड ७३ लाख २१ हजार, नियमित गर्नुपर्ने १२ करोड ८८ लाख ९३ हजार र पेश्की बाँकी २ लाख ४० हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।
लेखापरीक्षकको कार्यालयले प्रदेश सरकार मातहतका १८७ सरकारी कार्यालय र समिति र अन्य संस्था १७ वटा गरी २०४ वटाको ४९ अर्ब १ करोड ९४ लाख ३७ हजार रुपैयाँ समष्टिगत लेखापरीक्षण गरेको थियो ।

प्रतिवेदन अनुसार सबैभन्दा बढी बेरुजू प्रतिशत कृषि मन्त्रालयमा रहेको छ भने स्वास्थ्य मन्त्रालयलगायतमा सबैभन्दा कम बेरुजू देखिएको छ । प्रतिवेदनले सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको बेरुजू ४९ करोड ६२ लाख ७० हजार (४.६२ प्रतिशत), खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयको ४६ करोड ४ लाख १८ हजार (७.५६ प्रतिशत), कृषि मन्त्रालयको २२ करोड ८३ लाख ४९ हजार (१३.०१ प्रतिशत), वन वातावरण तथा भू संरक्षण मन्त्रालयको ९ करोड ११ लाख १८ हजार (४.५५ प्रतिशत), स्वास्थ्य मन्त्रालयको ६ करोड ७३ लाख ५९ हजार (१.९८ प्रतिशत) र अन्य मन्त्रालय र निकायको ३० करोड २७ लाख ९८ हजार रुपैयाँ (१.२१ प्रतिशत) बेरुजू देखिएको छ ।

सरकारी कार्यालयतर्फ सडक पूर्वाधार तथा शहरी विकासमन्त्रालयमा बढी रकम बेरुजू देखिएको र कम भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयमा देखिएको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकको कार्यालयले १८७ प्रदेश कार्यालय र १७ अन्य संस्था तथा समितिको लेखापरीक्षण गरेकोमध्ये २५ कार्यालयमा भने बेरुजू नदेखिएको र ४६ कार्यालयमा लगती बेरुजू नदेखिएको जनाएको छ । प्रदेश सरकारी कार्यालयतर्फ गत वर्षसम्मको पेश्की ३ अर्ब ५५ करोड ७४ लाख ५४ हजार बाँकी रहेकोमा यो वर्ष १ करोड १९ लाख ८१ हजार फस्र्याैट भई ३ अर्ब ५४ करोड ५४ लाख ७३ हजार बाँकी रहेको छ । जसमा यो वर्ष ११ करोड ९५ लाख ३१ हजार थप भई ३ अर्ब ६६ करोड ५० लाख ४ हजार बाँकी रहेको महालेखाले जनाएको छ ।

प्रदेश सरकारको गठन पश्चात संघबाट हस्तान्तरण भएका आयोजनाहरु र प्रदेश सरकारबाट स्रोत सहमति भई प्रदेश सरकार मातहतका कार्यालयबाट संचालित बहुवर्षीय आयोजनाहरु खरिद प्रक्रियामा गएर सम्झौता भई रु ३७ अर्ब ८० करोढ ७७ लाख ८४ हजार दायित्व सिर्जना भएको देखियएको प्रतिवेदनमा उल्लेख छ । दायित्व रकम २०७८÷०७९ को कूल बजेटभन्दा बढी देखिएकोले प्रदेश सरकारको योजना छनौट तथा स्रोत व्यवस्थापनमा तालमेलको स्थिति देखिएन ।

महालेखाको प्रतिवेदनले प्रदेश मातहतका विभिन्न निकाय तथा कार्यालयहरुले सवारी साधन खरिदमा मात्रै २१ करोड ७५ लाख २१ हजार खर्च गरेको उल्लेख छ । विगत ४ वर्षमा सवारी साधन खरिद कार्यमा १ अर्ब ५ करोड ७९ लाख ५३ हजार खर्च भएको थियो । यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा पदाधिकारी इन्धन खर्चमा १ करोड २३ लाख ७३ हजार खर्च भएकोमा आर्थिक वर्ष २०७८÷०७९ मा सो खर्च बढेर १ करोड ३७ लाख ८६ हजार पुगेको उल्लेख छ । यस्तै कार्यालय प्रयोजनमा भएको इन्धन खर्च २०७७÷०७८ मा ६ करोड ९८ लाख ६९ हजार थियो भने आर्थिक वर्ष २०७८÷०७९ मा इन्धन खर्च बढेर ९ करोड २८ लाख ८६ हजार (१३२.९४ प्रतिशत)ंले वृद्धि भएको देखाइएको छ । यस्तै सवारी साधन मर्मतमा ८ करोड १ लाख ५२ हजारबाट १२४.३२ प्रतिशतले बढेर ९ करोड ९६ लाख ४५ हजार पुगेको महालेखाले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्