विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिकामा आज(मंगलबार) कोशी नाम खारेजको माग गर्दै आएका पहिचान पक्षधरको एक समूहले पूर्वप्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइएको हो ।
बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जाने क्रममा उनलाई कालोझण्डा देखाइएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
ओली कार्यक्रमस्थलतर्फ जाने क्रममा कालो झण्डा देखाउँदै पहिचान पक्षधरले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ओली बुद्धशान्तिस्थित रामजानकी मन्दिरमा कार्यकर्ता भेटघाटको लागि गएका थिए । प्रहरीले घटनास्थलबाट आन्दोलनकारीमध्येका मित्र लिङ्देनलाई नियन्त्रणमा लिएको छ । ओली झापाको कार्यक्रम सकेर इलाम पुगिसकेको प्रहरीले जनाएको छ ।