पर्यटनमन्त्री किरातीले होटल व्यवसायीलाई भन्नुभयो : ‘नआत्तिनुस् म तपाईकै साथमा छु’

पर्यटनमन्त्री किरातीले होटल व्यवसायीलाई भन्नुभयो : ‘नआत्तिनुस् म तपाईकै साथमा छु’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होटल क्षेत्रसँगै समग्र पर्यटन क्षेत्रमा देखिएका समस्याबाट नआत्तिन व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

होटल सङ्घ नेपाल (हान)को ४८औँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उहाँले समस्याबाट नडराउन र परिस्थिति सुध्रनेमा ढुक्क रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तपाई व्यवसायी समस्याबाट नडराउनुस् म तपाईहरुकै साथमा छु, चिन्ता गरेर हैन समाधानको पहल गरेर सफलतातिर अघि बढ्न सकिन्छ ।”

कोरोना महामारीले नराम्ररी थलिएको होटल क्षेत्रका समसामयिक समस्या व्यवसायीले राखेपछि पर्यटनमन्त्री किरातीले सरकारले व्यवसायमैत्री सेवा सहजीकरण र नीगित सुधारका लागि पहल लिएकाले ढुक्कसँग व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।

पर्यटनमन्त्री किरातीले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि नीतिगत सुधारदेखि योजनाबद्ध कार्यक्रम अघि बढाइने विश्वास दिलाउनुभयो । उहाँले व्यवसायमैत्री समय सापेक्ष ऐन नहुँदा लगानीकर्ताले निकै शास्ती बेहोर्नुपरेको भन्दै ऐन कानुन एकद्वार प्रणालीको हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री किरातीले पर्यटनको महत्वपूर्ण पाटोको रुपमा रहेको होटल क्षेत्रको विकासका लागि नीतिगत सुधार जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले तराईका ठूला विमानस्थलमा एटिआर जहाज सहज रुपमा सञ्चालन गर्न, विभिन्न विमानस्थलबाट भारतका गन्तव्यमा सहज उडान गर्न र अन्य साना विमानस्थलको स्तरोन्नति गर्न मन्त्रालय लागि परेको जानकारी दिनुभयो ।

“प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोडेर लैजानुपर्छ, विश्वले फोटोकपी गर्न नसक्ने सगरमाथा र गौतमबुद्धको जन्मस्थल लुम्बिनी नेपालमै छन्, यीलगायत अन्य सम्पदाको संरक्षण र प्रवद्र्धन गरी पर्यटक आकर्षण गर्न सकिन्छ”, पर्यटनमन्त्री किरातीले भन्नुभयो । उहाँले पर्यटन क्षेत्रका नयाँ आयामको खोजी गरी बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने कार्यक्रम जरुरी रहेको उल्लेख गर्नुभयो ।

हानका निवर्तमान अध्यक्ष सिर्जना राणाले ठूलो लगानी भएको होटल क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिलाउन पहल गरिदिन पर्यटनमन्त्रीसमक्ष अनुरोध गर्नुभयो । हानका नवनिर्वाचित अध्यक्ष विनायक शाहले होटल क्षेत्रका विद्यमान समस्याको समाधानका लागि पहलकदमी गर्नु आफ्नो पहिलो दायित्व हुने उल्लेख गर्नुभयो ।

हानका महासचिव साजन शाक्यले होटल व्यवसाय सञ्चालनमा भइरहेका समस्या र आगामी सम्भावनाबारे बताउनुभएको थियो । हानको वार्षिक साधारणसभाले विनायक शाहको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरेको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्