धनकुटाका दुई हजार ५ सय बढी दुग्ध किसानलाई प्रोत्साहन

धनकुटाका दुई हजार ५ सय बढी दुग्ध किसानलाई प्रोत्साहन

धनकुटा । धनकुटाका दुई हजार ५ सय ८३ दुग्ध उत्पादक किसानलाई प्रोत्साहन रकम पाउने भएका छन् । कोशी प्रदेश सरकारले अनुदान स्वरुप उपलब्ध गराएको उक्त रकम किसानलाई पशु सेवा कार्यालय धनकुटामार्फत् दिन लागिएको हो ।

जिल्लाका चार स्थानीय तहका ३७ दुग्ध उत्पादक सहकारीमार्फत् किसानलाई एक करोड ५० लाख रकम बितरण गरिने पशुसेवा कार्यालयका प्रमुख लोकनाथ ढुङ्गानाले जानकारी दिनुभयोे । चालु आर्थिक वर्षभर किसानले उत्पादन गरेको दुधको प्रतिलिटर रु दुईका दरले प्रोत्साहन रकम दिइने उहाँले जानकारी दिनुभयो ।

हालसम्म जिल्लाका १७ वटा सहकारीमार्फत् पहिलो चरणको प्रोत्साहन रकम वितरणको काम सकिएको कार्यालयका अधिकृत छैटा पुष्प दाहालले जानकारी दिनुभयो । सबैभन्दा धेरै छथर जोरपाटी गाउँपालिकाअन्तर्गत १९ सहकारीमार्फत एक हजार एक सय ५९ किसानले प्रोत्साहन रकम पाउनेछन् ।

महालक्ष्मी नगरपालिकाअन्तर्गत नौ वटा सहकारीमार्फत पाँच सय ८७ र धनकुटा नगरपालिकाका पाँच वटा सहकारीमार्फत पाँच सय ९८ किसानले रकम पाउनेछन् । त्यस्तै पाख्रिबास नगरपालिकाको चार सहकारी संस्थामार्फत् दुई सय ३९ किसानले प्रोत्साहन रकम पाउने कार्यालयले जनाएको छ ।

यसैक्रममा शुक्रबार धनकुटा नगरपालिका–३ स्थित श्री दुग्ध उत्पादक सहकारीका एक सय ४८ किसानलाई रु दुई लाख १० हजार सात सय आठ रकम प्रदान गरिएको छ । किसानलाई प्रदेशसभा सदस्य निरन राई, धनकुटा नगरपालिकाकी उपमेयर भिमादेवी खनाल, पशुसेवा कार्यालय धनकुटाका प्रमुख ढुङ्गानाले प्रोत्साहन रकम बितरण गर्नुभएको छ ।

गत आर्थिक वर्षमा धनकुटामा ८० करोड २१ लाख ५० हजार बराबरको १६ हजार ४३ मेट्रिङक टन दुध उत्पादन भएको थियो । कार्यालयको तथ्याङ्कअनुसार हाल जिल्लामा एक सय २३ गाई फर्म र ६ वटा भैँसी फर्म सञ्चालित छन् । जिल्लामा उत्पादित ५० प्रतिशत दुध जिल्ला बाहिर निकासी हुनेगरेको कार्यालयको तथ्याङ्क छ ।

फोटो :फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्