सम्झिएर र बिर्सिएका पासवर्डहरु

सम्झिएर र बिर्सिएका पासवर्डहरु

-सुरज दाहाल
जिन्दगीमा धेरै पासवर्ड भुलियो होला धेरै सम्झियो होला हैन ?
मलाई केहि पासवर्डहरु चाहि याद छ जुन देश प्रेम वा विशुद्ध व्यक्तिगत मिलन र विछोडको स्मृति र विस्मृतिको रुपमा जिवन्त छ ,
सायद मान्छेले सम्झिरहने शब्द नै पासवर्ड राख्छ होला, सम्झिन सजिलो शब्द पासवर्ड राख्छ होला अथवा आफुलाई प्रिय लाग्ने शब्द पासवर्ड राख्छ होला।
मैले नेपाल (nepal123) पासवर्ड जिन्दगीमा सय ठाउमा राखे होला सायद जिन्दगीको सय ठाउमा नै नेपाल आएर होकी !
पासवर्ड कसैको यादमा चाहि राखिने रहेनछ सायद बिर्सन चाहेर होकी अथवा वर्तमानमा नभएर होकी !!

केही पासवर्डहरु आफु भएको ठाउँ परिस्थिति वा परिवेशसँग जोडिने रहेछन जस्तोको मैले काठमाण्डुमा काठमान्डू १२३ (kathmandu123) राख्ने गर्थे तनावमा हुँदा केहीको पासवर्ड राख्दा टेन्सन १२३ राख्थे वा उदास हुँदा मेलान्कोलिक १२३ (MELANCHOLIC123 ) राख्थे तर के उदाससँग कुनै शब्द हुन्छ र ?

हिन्दु समाजमा मंत्रलाई रहस्य गोप्यता र व्यक्तिगत प्रयोजनको रुपमा अभ्यास गरेको पाइन्छ। बुद्दिस्ट समाजमा मंत्र लाई शिष्य अनुसार सिकाउन वा अभ्यास गराउन व्यक्ति अनुसार दिइएको पाइन्छ।
भगवान श्री रामले माता सीतालाई हनुमानले भेटन जादा पासवर्ड दिएर पठाउनु हुन्छ , महाभारतमा शकुनीले पासाको पासवर्डले सर्वस्व लुट्न खोज्छन भने युद्धमा युधिष्ठिरले "अश्वत्थामा हतो हतः" भन्ने पासवर्ड द्रोनाचार्यलाई पराजित गर्न कृष्ण बाट पाउछन , पासवर्ड शास्त्रमा छ कहानीमा छ पासवर्ड मानव चिन्तनमा कम्युटर आउनु अगावै थियो।

के पासवर्ड सेक्युरिटी(सुरक्षा )को मात्रै सबाल हो ? के पासवर्ड फेसबुक ट्विटर टिकटक वा इन्स्टाग्राममा छिर्ने मात्रै मंत्र हो ?
पासवर्ड कसैको याद हो पासवर्ड कसैको प्रेम हो पासवर्ड कसैको पिडा हो पासवर्ड कसैको आँशु हो पासवर्ड कसैको सपना / लक्ष्य हो ,
आफ्नो प्रेम वा विछोड , परिस्थिति वा परिवेश , स्मृति वा विस्मृतिको अगाडि पछाडी केहि स्पेशल क्यारेक्टर राखिएला अल्फाबेट ठुलो सानो गरिएला तर दिनमा दर्जनौ पटक प्रयोग हुने पासवर्ड कुनै शब्द वा संकेतको समिश्रण मात्रै नभएर मानिसको आफ्नो गोप्य साथी हो।

एउटा युगको अन्त्य हुदैछ , अर्थात पासवर्डको युगको अन्त्य हुदैछ माइक्रोसफ्ट र गुगल जस्ता अग्रणी टेक कम्पनीहरुले पासवर्ड्को समाधानमा पासकी (pass -key ) को कन्सेप्ट अगाडि ल्याएका छन् तर के पासवर्डको दुनिया छिटै अन्त्य होलात् ?
हुदैन किनकि पासवर्ड मान्छेका यादसंग जोडिएका छन् प्रेमसँग जोडिएका छन् दु:ख सुख र भोगाइसँग जोडिएका छन्।

(यो लेख पासवर्ड दिवसको सन्दर्भमा लेखिएको हो -हरेक मे को पहिलो बिहिबार वर्ल्ड पासवर्ड डे मनाइन्छ यो साइबर सेक्युरिटीका विद्धानहरुले पासवर्ड बलियो राख्न र पासवर्डलाई अनुमान गर्न नसक्ने गरि राख्न सम्झाउन सुरु गरिएको थियो ,माइक्रोसफ्टले भन्दछ संसारमा १५ बिलियन पासवर्डहरु छन् र जसको टप टेनमा १२३४५ वा क्वेरटि (qwerty ) को संयोजन छ र अनुमान गर्न सजिलो छन्। २०२२ मा मात्रै माइक्रोसफ्टले हरेक सेकेन्डमा १२८७ पासवर्ड अट्याक डिटेक्ट गरेको थियो , आफ्नो पासवोर्ड अंक अक्षर , स्पेसल क्यारेक्टर मिसाएर बलियो राख्नु होला र समयसमयमा बदल्नु होला। )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्