दश महिनामा २३ करोड ८३ लाख : खुल्ला सीमाबाट सामान भित्रन्छ, बाटोमा प्रहरी पक्रन्छ

दश महिनामा २३ करोड ८३ लाख : खुल्ला सीमाबाट सामान भित्रन्छ, बाटोमा प्रहरी पक्रन्छ

विराटनगर । चालु आर्थिक वर्षको दश महिनामा नेपाल प्रहरीले २३ करोड ८३ लाख ६७ हजार ८४४ रुपैँया बराबरको भन्सार चोरी निकासी र पैठारी भएका सामान नियन्त्रण गरेर राजस्वमा संकलन गरेको छ । चोरी निकासी र पैठारीमा संलग्न ६८ जना पक्राउ गरेको नेपाल प्रहरीले खुल्ला सीमानाका भएका कारण यसको नियन्त्रण जोखिम रहेको बताउँदै आएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८÷२०७९ मा ११ करोड ७४ लाख ४६ हजार ९२९ र अघिल्लो आर्थिक वर्ष २०७७÷२०७८ मा १९ करोड १ लाख ५८ हजार २१२ रुपैँया राजस्व संकलन भएको थियो ।

वर्षेनी खुल्ला सीमानाकाबाट चोरी पैठारी तथा निकासी हुने ग्राफ बढ्दै गएको छ । सरकारको राजस्व संकलन गर्ने भन्सारको प्रगती भने वर्षेनी खुम्चिदै तलतल झरिरहेको छ । चालु आर्थिक वर्षमा भन्सारको राजस्व असुली प्रगती ५० प्रतिशत आसपास मात्रै देखिदैं आएको छ ।
भन्सारमा राजस्व असुली घट्दै गएको बखत सामाजिक सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीको भने वर्षेनी चोरी निकासी–पैठारीतर्फको राजस्व संकलनको ग्राफ बढ्दो देखिन्छ । सीमा क्षेत्रमा भन्सार सुरक्षा गस्ती र सशस्त्र प्रहरी बलले जिम्मेवारी लिएका हुन्छन् । भन्सार सुरक्षा गस्तीलाई सीमा सुरक्षा बल र नेपाल प्रहरीको सहयोग बिना तस्करी नियन्त्रण गर्न संभव छैन । आधिकारिक निकायलाई कम सहयोग गरेर सशस्त्र प्रहरीले लाइन खोल्ने र नेपाल प्रहरीले सेटिङ मार्ने क्रम बढेपछि वस्तु पक्राउसँगै राजस्व संकलन प्रहरीतर्फ बढ्दो छ ।

भारत र नेपालमा मूल्यअन्तरको फाइदा तस्करीले लिने गरेका छन् । सर्वसाधारणले घरायसी प्रयोजनका मालवस्तु ल्याउने भन्दा तस्करले प्रहरी मिलाएर सेटिङमा खुल्ला सीमा दुरुपयोग गर्ने स्थिति भयावह रहेको छ । सीमा जोडिएका बजारमा यसको मार व्यापारीलाई धेरै रहेको छ । व्यापारीहरुले बारम्बार अनिवार्य आवश्यकताका वस्तुमा भन्सार दर घटाउनु पर्ने माग सरकारसँग गर्दै आएका छन् ।
दाल, चिनी, चामल, चियापत्ती, कफि, जिरा, धनियाँ, बिस्कुट, भुजिया, दालमोठ, साबुन, तोरी÷सूर्यमुखी तेल, काजु, किसमिस, लत्ता÷कपडा –गन्जी, कुर्ता सुरुवाल) जस्ता वस्तु खरिद गर्न सर्वसाधारण पारी पुग्छन् । त्यति मात्रै नभई तस्करहरुले भारतसँग नेपालको मूल्यान्तरको फाइदा उठाएर सीमा वारका पसलपसल भित्र्याउने गरेका छन् । यसमा प्रहरीको सेटिङ पहिल्यै मिलाएका कारण मौका मिलाउने समय तोकिएको हुन्छ ।

अनिवार्य आवश्यकताका वस्तुमा भन्सार दर कम राख्दा व्यापारीले अनावश्यक आयात गर्ने चिन्ता सरकारलाई हुन्छ भने बढी राख्दा व्यापारीले नै अवैध रुपमा भित्र्याउने गर्दछन् । त्यस भन्दा बढी सीमा क्षेत्रमा तस्कर, सशस्त्र प्रहरी र बाटोमा चेकजाँच नगर्ने शर्तमा नेपाल प्रहरीको मिलेमतोले बढी मालवस्तु आउने गरेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले तस्करी नियन्त्रणमा नेपाल प्रहरी चनाखो रहेको बताउँदै आएका छन् । उनले बुधबार आयोजित पत्रकार सम्मेलनमा चोरी पैठारी र निकासी नियन्त्रणमा नेपाल प्रहरीलाई कानुनले दिए बराबरको अधिकार प्रयोग गरिने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्