भविष्यवाणी

भविष्यवाणी

- मीनकुमार नवोदित
यसरी परिवर्तन हुनेछ समय
घरभित्रै बस्नेछन् मानिस
सब काम गर्नेछ फटाफट रोबोटले
युट्युब, फेसबुक, भाइबर र ट्वीटरमा
व्यस्त हुनेछन् घरभित्रै मान्छे ।

पृथ्वी यसरी तातिनेछ कि
आगाको भुङ्ग्रामै बसेझैं हुनेछ
एसी जडान हुनेछ शरीरमा
मान्छेको उचाइ घटेर
हुनेछ दुई फिटभन्दा कम
पृथ्वीकै सबैभन्दा मोटो मानिसको तौल
पच्चीस किलोभन्दा तलै हुनेछ ।

टिकट काटेर गर्नुपर्ने छैन जहाजमा यात्रा
सबका सब मान्छे हुनेछन् इमेल
गाउँगाउँमा राखिनेछन् मान्छे इमेल गर्ने मेसिन ।

सन्तान जन्माउन दम्पती हुनुपर्ने छैन सँगै
पृथ्वीको वल्लो र पल्लो छेउका दम्पतीबीच
अत्याधुनिक एपबाटै हुनेछ सम्भोग
चोक र गल्लीमा राखिएका एटीएमबाटै
बटम थिचेकै भरमा जन्मिने छन् सन्तान
हेर्दाहेर्दै यस्तो युग आउनेछ
मेसिनले नै गर्नेछ शासन ।

समयको जहाज चढेर यस्तो युग आउनेछ
बौलाउनेछ समुद्र
र वर्सौैं पुराना बस्तीहरूको गर्नेछ नरसंहार
हिमालहरू हिँडेर झर्नेछन् समुद्रतिर बसाइँ
पहाडका टाउकाहरूमा विस्फोट हुनेछ ज्वालामुखी
अनि, जलेर क्षणभरमै खरानी हुनेछ पहाड ।

युगले यसरी कोल्टो फेर्नेछ एकाएक
मौसम आउन पाउनेछैन आफूखुसी
पानीले पर्न पाउने छैन मान्छेको इच्छाविपरीत
घामले हिंड्न पाउनेछैन निस्फिक्री
आकाशको कुर्सीमा बसेर
जूनले पाउनेछैन मुस्काउन
ताराहरूले बिर्सिनेछन् आँखा झिम्क्याउन ।

कोरोनाभन्दा खतरनाक भाइरस फैलिनेछ
बतासले स्पर्श गर्नेबित्तिकै
ढल्नेछन् मान्छेहरू भटाभट ।

युगसँगै यस्तो बाढी आउनेछ,
बगाइदिनेछ विश्वका सबै सीमा
यस्तो आँधी आउनेछ,
शक्तिशाली शासकहरूको उडाइदिनेछ सत्ता ।

समय न हो, बगिरहन्छ निरन्तर
जसरी युगौँदेखि बगिरहेछन् कोशी, बाग्मती र कणर्ाली ।

बग्दै-बग्दै यस्तो युग आउनेछ
सम्भ्रान्तवर्गले आकाशमै बनाउनेछन् महल
महलभित्रै हुनेछ फोरडी, स्वीमिङपुल, जिमखाना
र, फाइभ स्टार होटलका सारा सुविधा
अन्तरिक्षमा बसाइँ सर्ने हतारोमा
हुनेछन् शरणार्थी परिवार
चन्द्रमा र मङ्गलग्रहमा हनिमुन मनाउन
जानेहरूको लाग्नेछ लर्को ।

स्कुल, कलेज र विश्वविद्यालयहरू बन्द हुने छन्
विद्यार्थीका हातहातमा हुनेछ
मेमोरीकार्ड, गुगल ड्राइभ र अत्याधुनिक एप्सहरू
जसबाटै विद्यार्थीले गर्नेछन् विद्यावारिधि ।

ठाउँ-ठाउँमा खुल्नेछन्
मुटु, कलेजो र फोक्सो उत्पादन गर्ने उद्योगहरू
त्यसपछि सकिनेछ मान्छेबाट
अलि-अलि भएको संवेदना ।

समयसँगै मान्छेको मन यसरी हुनेछ परिवर्तन
गीता, त्रिपिटर, कुरान र बाइबललाई सल्काएर
मन्दिर, गुम्बा, चर्च र मस्जिदमा लगाउनेछन् आगो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्