विराटनगर । कुनै सभा समारोह होस् या पाहुनालाई मायाको चिनो दिनलाई सबैको रोजाइमा चैनपुरे करुवा पर्छ । घरको सजावटका लागि पनि करुवाको खुब माग हुनेगर्छ ।
मेहनतका साथ राम्रो काँसमा कुँदिएको चैनपुरे करुवाको सुन्दर बुट्टाले पनि जो कसैको मन तान्छ । तर पछिल्लो समय करुवा बनाउने सीपमूलक काममा पुस्ताहस्तान्तरण नहुँदा, बनाउने दक्ष जनशक्ति र कच्चा पदार्थको अभावले चैनपुरे करुवाको व्यवसाय घटेको छ । जसले गर्दा करुवासँग नाम जोडिएको संखुवासभा जिल्लाको चैनपुरको परिचय कामय राख्न र यसको अस्तित्व जोगाउन निक्कै समस्या पर्न थालको छ । यसको अस्तित्व कायम राख्ने उद्देश्यका साथ चैनपुर नगरपालिकाले जिरोप्वाइन्टमा बुधबार करुवाको प्रतिमा स्थापना गरेको थियो ।
तर, उद्धघाटन पनि हुन नपाइ स्थानीय स्तरबाट चौतर्फी विरोध आएपछि नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै करुवाको प्रतिमालाई पुनः त्रिपालले ढाकेको छ ।
पार्कमा निर्माण भएको करुवाको आकार र बनावट चैनपुरे करुवाको जस्तो नभएको भन्दै स्थानीय युवराज ताम्राकारले असुन्तुष्टि पोखे । उनले बचेको एउटा पहिचान,चैनपुरको सम्पत्ति, चिनो,पू्र्खाको इतिहास नै गुमाएको महसुस भएको आरोप लगाए ।
करुवाको लागि प्रसिद्ध भनेर चिनिएको ऐतिहासिक ठाउँ चैनपुर जिरो प्वाइन्टमा हाल निर्माण भइसकेको करुवाले इतिहास मेट्ने काम भएको बताउदै उनले अस्तित्व र मेहनती हातहरुको हात काट्ने काम भएको बताए । उनले सम्बन्धित निकायले यो विषयमा गहन भएर सोच्नु पर्ने र गलत कार्यलाई सच्याउनु पर्ने देखिएको समेत बताए ।
पुरानै बजेटलाई प्राथमिकता दिएको हो : कृष्णकुमार तामाङ
यता, चैनपुर नगरपालिकाका प्रमुख कृष्ण कुमार तामाङले आर्थिक वर्ष ०७९/८० को कर्यक्रमलाई प्रथमिकता दिएको बताउछन् । अघिल्लो नगरप्रमुखको कार्यकालमा चैनपुर जिरोप्वाइन्टमा करुवासहितको पार्क निर्माण गर्ने भन्ने निर्णय गरिएको र सोही अनुसार काम गरिएको उनले बताए ।
‘यो अघिल्लो कार्यकालको योजना हो, ०७९-८० को कार्यक्रम अनुसार चैनपुर नगरपालिकाले जिरोप्वाईन्टमा चैनपुरे कुरुवासहितको पार्क निर्माण गर्ने निर्णय गरिएको रहेछ सोही अनुसार पार्क निर्माण गर्ने कामको लागि एक उपभोक्ता समिति गठन पनि गरेको रहेछ,’ उनले भने,‘उपभोक्ता समितिले काठमाण्डौको ललितपुर इमाडोल भन्ने ठाँउमा रवि शाक्यलाई निर्माण गर्न दिएको रहेछ, म निर्वाचित भएपछि उपभोक्ता समितिलाई खोजेर काम सुरु गराएको हो ।’
अघिल्लो कार्यकालमा यहीँको स्थानीय कालिगडलाई भन्दा नसक्ने भनेपछि ललितपुरमा करुवा बनाउन दिएको बताउदै उनले सम्झौता अनुसार काम नभएको स्विकार गरे ।
‘ सम्झौतामा काँस भनिएको रहेछ, बनेछ पित्तल एकहजार केजी भनिएको रहेछ ठूलोभएकाले जोख्न सकिएन अनुमानित ५ देखि ६ सय केजी होला भन्ने छ ,’ उनले भने,‘ सम्झौता अनुसार निर्माण नभएकाले नमुना दिएर पठाएका छौँ, उहाँहरुले त्यस्तै बनाएर ल्याउने विषयमा कुरा सम्झौता भएको छ ।’ २० लाखको लागत रमकमा निर्माण हुने करुवाको सम्झौता गर्दै ९ लाख रुपैँया पेस्कीस्वरुप कालिगढले लगिसकेको उनले बताए ।
पछिल्लो समय चैनपुरमा करुवा निर्माण हुन छोडिसकेको र एतिहासिक कुरालाई स्थायित्व दिन र यसलाई संरक्षण गर्न नगरपालिकाको योजना रहेको उनले बताए ।
धरानको करुवा चैनपुरे भन्दै बेच्ने प्रवृत्ति रहेको बताउदै एक जनप्रतिनिधिले भने,‘यहाँका स्थानीयहरु पहिचान खोज्छन् तर, धरानको करुवा ल्याएर चैनपुरे भन्दै बेच्ने गर्छन् ।’