झापाको बाहुनडाँगी क्षेत्रका बासिन्दा भारतबाट आउने हुलका हुल हात्तीको त्रासमा

झापाको बाहुनडाँगी क्षेत्रका बासिन्दा भारतबाट आउने हुलका हुल हात्तीको त्रासमा

झापा – भारतबाट आउने हात्तीलाई मेची नदी किनारमा लगाइएको विद्युतीय तारबारले पनि छेक्न नसकेपछि सीमा क्षेत्रका बासिन्दालाई हात्तीबाट बच्न र बाली जोगाउन निकै गाह्रो हुन थालेको छ ।

खासगरी बाहुनडाँगी क्षेत्रका बासिन्दा भारतबाट आउने हुलका हुल हात्तीको त्रासमा छन् । हात्तीले विद्युतीय तारबारसमेत भत्काएर गाउँ पस्न थालेको स्थानीयबासी बताउँछन् ।

मेचीनगर नगरपालिका ४ बाहुनडाँगीका वडाध्यक्ष अर्जुन कार्कीका अनुसार हात्तीले मानव बस्ती पस्नका लागि ‘गौंडा’ बनाएका छन् । विद्युतीय तारबार भत्काएका स्थानका हात्ती सहजै गाउँ पस्न थालेको कार्कीले बताए ।

उनले भने, ‘हात्ती गाउँ पस्न नदिन अहिले गस्ती सुरु गरिएको छ । कतिबेला कहाँबाट हात्ती गाउँ पस्छन् भन्ने नै यकिन हुँदैन ।’

डिभिजन बन कार्यालय झापा, सशस्त्र प्रहरी तथा स्थानीयबासीको संयुक्त गस्ती टोली नै निर्माण गरेर हात्तीलाई गाउँ पस्न नदिने प्रयास जारी राखिएको उनले बताए ।

२०७२ सालमा निर्माण गरिएको १८ किलोमिटर विद्युतीय तारबार मर्मतको अभावमा कतिपय स्थानमा जमिनमा लत्रिएको अवस्थामा छ । कतिपय स्थानमा मानिस पुग्नसक्ने अवस्था पनि छैन । हात्ती गाउँ पसेर स्थानीयबासीको मकैबाली, बाँसका टुसा तथा घरमा भण्डार गरेर राखिएको धानसमेत खाइदिने गरेको स्थानीयबासीले बताएका छन् ।

डिभिजन बन कार्यालय झापाले साँझ पखदेखि साइरनसहितको सवारी साधन उपलब्ध गराएर हात्ती धपाउने प्रयास गरिरहेको छ । तर अब दीर्घकालीन समाधानको उपाय नखोजे कुनै पनि हात्तीले अझ जनधनको क्षति गर्नेसक्ने स्थानीयबासीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्