विराटनगरदेखि बर्जुसम्मको म्याराथन शनिबार

विराटनगरदेखि बर्जुसम्मको म्याराथन शनिबार

विराटनगर । विराटनगर–१८ स्थित विराटराजाको दरबारदेखि सुनसरीको बर्जु तालसम्म आगामी जेठ ६ गते शनिबार हाफ म्याराथन प्रतियोगिताको तयारी सुरु गरिएको छ । कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा म्याराथन दौड आयोजना गरिने भएको हो ।

खुल्लातर्फ विराट राजाको दरबार क्षेत्रदेखि बर्जुतालसम्म २२ किलोमिटरमा दौड प्रतियोगिता हुनेछ । यसैगरी विराट राजाको दरबार क्षेत्रबाटै ५ किलोमिटर महिला हाफ म्याराथन दौड प्रतियोगिता आयोजना गरिने भएको छ ।
कार्यक्रम आयोजक समितिका संयोजक तथा मन्त्रालयका सचिव डा. सञ्जीवकुमार राईले पर्यटन प्रवद्र्धन गर्ने हेतुले हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको हो । महिला तर्फ ५ किलोमिटर र खुल्लातर्फ हाफ म्याराथन दौडमा एकसय सहभागी गराउने लक्ष्य राखिएको छ ।
चार गतेसम्म जिल्ला एथलेटिक्स संघमार्फत ईच्छुक धावकलाई नाम दर्ताको समय दिइएको छ । मन्त्रालयले म्याराथन प्रतियोगिताका लागि सचिवको संयोजकत्वमा १४ सदस्यीय आयोजक समिति समेत गठन गरेको छ । जसमा सुरक्षा संयन्त्रका जिल्लास्थित प्रमुख, पर्यटन व्यवसायी, पत्रकार, खेलविज्ञ समेत संलग्न गराइएको छ । दश लाख लागतमा प्रतियोगिता आयोजना गरिने भएको हो । खुल्लातर्फको हाफ म्याराथनमा प्रथम हुनेलाई १ लाख, द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार तथा सान्त्वना पुरस्कार ३ जनालाई १५ हजारको दरले उपलब्ध गराइनेछ ।

महिलातर्फ ५ किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, २० हजार र १५ हजारले पुरस्कृत गरिने जानकारी दिइएको छ । महिलातर्फको प्रतियोगिता पनि विराट राजाको दरबार क्षेत्रबाट पाँच किलोमिटर दुरी कोशी राजमार्गसम्म हुनेछ ।

दरबार संग्राहालय क्षेत्रबाट विराटनगर भन्सार (आईसीपी), कोशी राजमार्ग, रोडशेष चौक, बसपार्क, जनआन्दोलन चौक, भट्टी मोडबाट केसलिया रोड, केसलिया पुल, भीमपुर चौक, रामगञ्ज रोड, गोपी चौक, शुक्रबारे हुँदे चिमडीको बर्जु तालको उत्तर गेटबाट भित्र प्रवेश गराईने छ । बिहान ६ बजे सुरु हुने दौड प्रतियोगितामा सवारी व्यवस्थापन ट्राफिक प्रहरीले मिलाउने र सुरक्षा व्यवस्थापन नेपाल प्रहरी र सशस्त्र प्रहरीले गर्नेछन् । मन्त्रालयले मोरङ एथलेटिक्स संघमार्फत खmेलाडी दर्ता गराउने छ । सुरुमा दर्ता गर्ने एकसय जनालाई दौडमा सहभागि गराईने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्