सांसद राणाले नक्कली शरणार्थी प्रकरणमा आफूलाई जोडेर गलत प्रचार गरिएकामा आपत्ति

सांसद राणाले नक्कली शरणार्थी प्रकरणमा आफूलाई जोडेर गलत प्रचार गरिएकामा आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.आरजु राणाले नक्कली शरणार्थी प्रकरणमा आफूलाई जोडेर गलत प्रचार गरिएकामा आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले आफ्नो चरित्रमाथि औँला ठड्याउने काम भएको र त्यसबारे आफूले उजुरी दिन पनि कञ्जुस्याइँ गरेको बताउनुभयो ।

उहाँले मानव तस्करीको जालो रोक्न सरकारले कडा प्रयास गरोस् भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणलाई शीघ्र निष्कर्षमा पु¥याउन आग्रह गर्नुभयो । सांसद देउवाले आफ्नो नाममा गलत टेप बनाएर अनधिकृत प्रचार गरिएकाले आपत्ति प्रकट गर्नुभयो । उहाँले यो प्रकरणलाई शीघ्र निष्कर्षमा पुगोस् भन्नेमा आफू आतुर रहेको बताउनुभयो ।

सांसद रघुजी पन्तले नेपालको भुक्तानी प्रणालीको सूचना कुनै पनि विदेशी कम्पनीलाई दिन नहुने बताउनुभयो । उहाँले सरकारले देशहितको रक्षा गर्नुपर्नेमा जोड दिँदै राष्ट्रहितविपरीतका कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभयो । सांसद पन्तले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा मुलुकलाई अप्ठ्यारो पार्ने कुनै पनि गतिविधि नगर्न ध्यानाकर्षण गराउनुभयो ।

‘नक्कली शरणार्थी प्रकरण देशद्रोह हो’

सांसद देवेन्द्र पौडेलले अर्थतन्त्रको वर्तमान अवस्थाबारे यथार्थ विवरण पेस गर्दै सरकारले अगाडि बढाएको आर्थिक सुधारको कामलाई साथ र सहयोग दिन सबै राजनीतिक दल तथा सरोकारवालालाई ध्यानाकर्षण गराउनुभयो । उहाँले भ्रष्टाचारको विषय पक्ष र प्रतिपक्षको विषय नभएको उल्लेख गर्दै सरकारले पछिल्ला दिनमा सुरु गरेको नक्कली शरणार्थी प्रकरणलाई तार्किक निष्कर्षमा पु¥याउनुपर्ने बताउनुभयो । नक्कली शरणार्थी प्रकरणका विषयलाई निष्कर्षमा पु¥याउन छाडेर अरु विषय उठाएर यो प्रकरणलाई ओझेलमा पार्न खोजिएको उहाँको टिप्पणी थियो ।

भ्रष्टाचार सूचकाङ्कमा नेपालको अवस्था असाध्यै कमजोर रहेको तथ्य पेस गर्दै सांसद पौडेलले छानबिनको प्रक्रियामा रहेको विषयलाई निष्कर्षमा पु¥याउनैपर्ने उल्लेख गर्नुभयो । विगतका ठूला भ्रष्टाचार काण्डका रुपमा परिचित ओम्नी, बालुवाटार, सुरक्षण मुद्रण प्रकरणको पनि छानविन हुने सांसद पौडेलको भनाइ छ । सांसद पौडेलले नक्कली शरणार्थी प्रकरण सङ्गठित अपराध, कीर्ते ठगी, मानव बेचविखन र देशद्रोहसमेत भएकाले दोषीलाई कडा कारबाहीको दायरामा ल्याउनैपर्ने बताउनुभयो ।

सांसद गणेश पराजुलीले नेतृत्वमा रहेकाले नै राज्यशक्तिको दुरुपयोग गरेर भ्रष्टाचार र अनियमितता गरेको पाइएको तथ्य पेस गर्दै आफ्नो पार्टीका नेता दोषी ठहरिँदा जोगाउन लागिपरेको आरोप लगाउनुभयो । नक्कली शरणार्थी प्रकरणमा वर्तमान सरकार र गृह मन्त्रालयले देखाएको तदारुकतालाई धन्यवाद दिँदै उहाँले यसमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउन कुनै कमजोरी नगर्न आग्रह गर्नुभयो ।

सांसद ज्ञानबहादुर शाहीले भ्रष्टाचारको आरोप लागेका नै भ्रष्टाचार विरोधी आन्दोलनमा लागेको देख्दा आफूलाई दिक्क लागेको बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सदनले नै कडा कानुन बनाउनुपर्ने बताउनुभयो ।

सांसद नवलकिशोर साहले भ्रष्टाचार प्रकरणले मुलुकको प्रतिष्ठा गिराएकाले सरकारले नक्कली शरणार्थी प्रकरणका बारेमा सत्य तथ्य सदनलाई जानकारी गराउन माग गर्नुभयो । सांसद शेरबहादुर कुँवरले पनि नक्कली शरणार्थी प्रकरणमा सरकारले अगाडि बढाएको कारबाही प्रक्रियाले दण्डहिनताको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अनेकन काण्डैकाण्डका कारण पञ्चायती व्यवस्था ढलेको तथ्य पेस गर्दै जनताको बलिदानबाट स्थापित वर्तमान राजनीतिक प्रणालीलाई कमजोर बनाउने काम नगर्न आग्रह गर्नुभयो ।

सांसद अब्दुल खानले नेपाली नागरिकका सन्तानलाई सरकारले कहिले नागरिकता प्रदान गर्ने हो ? भन्ने प्रश्न गर्नुभयो । उहाँले नागरिकताविहीन नागरिकलाई तत्काल नागरिकता दिने प्रबन्ध गर्न माग गर्नुभयो ।

‘विद्युतीय सवारीसाधनको बढावा गरौँ’

सांसद अरुणकुमार चौधरीले बढ्दो इन्धन मूल्य र वातावरण प्रदूषणका कारण विश्वसमुदायको ध्यान विद्युतीय सवारीतर्फ आकर्षित भइरहेको उल्लेख गर्दै नेपाल आयल निगमले आयात गरेको इन्धनको मूल्य मात्रै मुलुकको अर्थतन्त्रको ठूलो आकार रहेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

उहाँले इन्धन आयातलाई थोरै मात्रामा घटाउन सकियो भने मात्रै पनि मुलुकको अर्थतन्त्रमा सुधार हुनसक्ने बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा इन्धन आयात कम गर्ने विषयलाई प्राथमिकतामा राख्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद चौधरीले राजमार्ग तथा पर्यटकीयस्थलमा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेशन निर्माण गर्न आग्रह गर्नुभयो ।

सांसद रामप्रकाश चौधरीले देश नै लज्जित हुने गरी नक्कली शरणार्थी प्रकरण सार्वजनिक भएकाले दोषीलाई कडा कारबाही गर्न र कोही कसैलाई पनि छुट नदिन आग्रह गर्नुभयो । उहाँले अनुसन्धान अधिकारीलाई कुनै पनि प्रभाव र दबाबमा नपर्न अनुरोध गर्नुभयो ।

सांसद प्रेम सुवालले भक्तपुरमा आइतबार काठ कारखानामा भएको आगलागीको घटनाको सत्यतथ्य छानविन गरी पीडितलाई क्षतिपूर्ति दिन आग्रह गर्नुभयो । सांसद अमरेशकुमार सिंहले भ्रष्टाचारीको कुनै जात, धर्म, लिङ्ग नहुने भन्दै नक्कली शरणार्थी प्रकरण देशद्रोह, सङ्गठित अपराध, सम्पत्ति शुद्धिकरणलगायतको विषय आकर्षित हुने भएकाले सरकारले आफ्ना निकायलाई एकीकृतरुपमा परिचालन गर्नुपर्ने बताउनुभयो ।

सांसद योगेन्द्र मण्डलले बेरोजगारी, किसानका बारेमा सदनमा छलफल नभएकामा गुनासो गर्नुभयो । सांसद श्यामकुमार घिमिरेले सांसद सञ्जयकुमार गौतम विभिन्न १५ बुँदे माग राखेर विगत तीन दिनदेखि बर्दियामा आमरण अनशन बस्नुभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सांसद गौतमले उठाउनुभएको माग तत्काल सम्बोधन गर्न आग्रह गर्दै विकास निर्माणको काममा भएको बेथितीको अन्त्य हुनुपर्ने बताउनुभयो ।

सांसद लीलानाथ श्रेष्ठले मानव सूचकाङ्का आधारमा आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्नुपर्ने माग गर्नुभयो । सांसद ज्वालाकुमारी साहले राजनीतिक पूर्वाग्रह र दबाबविना नै भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । सांसद प्रतिमा गौतमले पनि सांसद नै पुलमुनि आमरण अनशनमा बस्नुपर्ने बाध्यता किन आइपरेको भन्दै उहाँको माग सम्बोधन गर्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्