दुई वर्षभित्रमा कीर्तिपुर र मूलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति गर्ने

दुई वर्षभित्रमा कीर्तिपुर र मूलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति गर्ने

काठमाडौँ । सरकारले आगामी दुई वर्षभित्रमा काठमाडौँको कीर्तिपुर र मूलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति सम्पन्न गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र रङ्गशालाको स्तरोन्नति सम्पन्न गरी अन्तराष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङ्गको विराटनगर क्रिकेट रङ्गशालाको पूर्वाधार निर्माण कार्यसमेत अघि बढाइने बताउनुभयो ।

हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिने उल्लेख गर्दै उहाँले वार्षिक खेलकुद क्यालेण्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताको आयोजना गरिन उल्लेख गर्नुभयो । यसैगरी उहाँले एक वडा, एक खेल मैदान, एक पालिका, एक कभर्डहलको निर्माण गर्दै खेलकुदलाई राष्ट्रको पहिचान, गौरव र प्रतिष्ठा बढाउने माध्यमको रूपमा विकास गर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिइने उल्लेख गर्दै अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीलाई प्रोत्साहन एवम् पुरस्कृत गरिने बताउनुभयो । उहाँले खेलकुद पूर्वाधारको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लगिने र खेलकुद पर्यटनको विकास र विस्तारमा जोड दिइने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्