बैंकको पैसामा साइबर ‘अट्याक्ट’

बैंकको पैसामा साइबर ‘अट्याक्ट’

विराटनगर । मोरङ सुन्दरहरैंचा निवासी निशा खड्काको केहि समय अगाडी मोवाइलको सीम हरायो । उनको सीम हराएपछि त्यहि नम्बरबाट खल्ती एप्स खोलेर दुरुपयोग भएको पाइयो । जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको यो घटनामा खड्काको सीम प्रयोग गरेर खल्ती एप्सबाट अर्कै व्यक्तिको बैंक एकान्टमा भएको रकममध्ये २१ हजार ट्रान्सफर भएको हो ।

पीडितले प्रहरीमा दिएको उजुरीको अनुसन्धान गर्दै जाँदा घटना गर्ने व्यक्तिको रुपमा मोवाइलको सीम प्रयोगकर्तासम्म प्रहरी पुग्यो । खड्काले हराएको सीम ड्यामेज भएको भन्दै त्यहि नम्बरको अर्को सीम निकालिन् । त्यसपछि  सम्पर्क गरेर प्रहरीमा बोलाएको उनले बताइन् । सोमबार जिल्ला प्रहरी कार्यालयमा आएकी उनले आफूले गर्दै नगरेको घटनामा फसेको बताइन् ।

प्रहरीले यस अगाडी नै उनी र पीडितलाई राखेर सहमति गराएको छ । पीडितको रकम फिर्ता दिने सहमति भईसकेको घटना भने अनुसन्धानको प्रक्रियामा राखिएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार त्यो एप्स उनकै मोवाइलमा प्रयोग भएको देखिन्छ । तर, उनले अर्काको बैंकबाट पैसा ट्रान्सफर नगरेको बताउँदै आएकी छिन् ।

मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले सुचना प्रविधिको प्रयोग गरेर बैंकको पैसामा अट्याक्ट हुने घटना गम्भीर रुपमा बढिरहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालयमा परेका उजुरीमध्ये बोनस परेको भन्दै ओटीपी (वन टाइम पासवर्ड) मागेर ठगी गर्ने, गिफ्ट परेको भन्दै कर बुझाउन आग्रह गर्दै लोभ्याएर ठगी गर्ने, फेक फेसबुक एकाउन्ट खोलेर अफ्ठ्यारोमा परेको भन्दै ठगी गर्ने, हराएको फोन र सीम प्रयोग गरेर ठगी गर्ने र इमेल ह्याक्क गरेर बैंकले पठाएका म्यासेज अध्ययन गरेर पैसा ट्रान्सफर गर्नेसम्मका कामहरु भएका छन् ।

चालु आर्थिक वर्षमा यस्ता घटनासँग सम्बन्धित उजुरीको संख्या ६५ पुगिसकेको छ । अधिकांशका समस्या झुक्याएर ठगी गरेको देखिन्छन् । प्रहरी नायव उपरीक्षक दाहालका अनुसार इमेल ह्याकर र हराएको मोवायल वा सीम प्रयोगकर्ताले भने बैंकको म्यासेज अध्ययन गरेर डाइरेक्ट पैसा ट्रान्सफर गर्ने गरेका छन् । हराएको मोवाइलमा बैंकिङ्ग एप्स देखिए त्यहिंबाट एकाउन्टमा आक्रमण हुनसक्ने संभावना देखिएको छ ।

त्यस बाहेक बैंकमा जम्मा गरेको रकम संस्थागत रुपमा बैंकका कर्मचारीले ट्रान्सफर गरेर अपचलन गरेको विषयलाई गम्भीर रुपमा अध्ययन गरिरहेको छ । पछिल्लो समय इटहरीस्थित एभरेष्ट बैंकको शाखाको जस्तो घटना विराटनगरमा सप्तकोशी डेभलेपमेन्ट बैंकमा भईसकेको छ । प्रहरी नायव उपरीक्षक दाहालका अनुसार पछिल्लो समय पनि मोरङ प्रहरीमा यस्तै प्रकृतिको अर्को घटनाको उजुरी परेको छ । सेवाग्राहीको खाताबाट एकलाख बढी रकम गायब भएको भन्दै प्रहरीलाई अनुसन्धान लागि अनुरोध गरिएको छ । प्रहरीले यो घटनालाई पनि गम्भीर रुपमा अध्ययन गरिरहेको छ ।

प्रहरीको आग्रह
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक पोखरेलले कसैले पनि फेसबुक, म्यासेन्जर, वाट्सप, टिकटक भाइबर जस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा प्रविधिबाट जोगिनु पर्ने बताएका छन् । उनले फेसबुकका विभिन्न किसिमका लिंकहरु आउँदा त्यसलाई खोल्ने र आफ्नो विवरण भर्ने काम नगर्न आग्रह गरेका छन् । जस्तै तपाँई सानामा कस्तो हुनुहुन्थ्यो, बुढेसकालमा कस्तो हुनुहुन्छ, कति माया छ, नामको अर्थ के हो ? जस्ता लिंक आउँदा खोल्ने र आफ्नो विवरण पोष्ट गर्ने जस्ता काम नगर्न प्रहरी उपरीक्षक पोखरेलको अनुरोध छ । यस्तै चिन्दै नचिनेको व्यक्तिले पठाएका म्यासेजको भर पर्ने, चिनेको व्यक्तिले पैसा मागेर पठाएको म्यासेजलाई फोन गरेर कन्फर्म नगरी विश्वास गर्ने, कुनै गिफ्ट परेकोले कर बुझाउन गरिएको आग्रहलाई अस्वीकार गर्ने गर्दा जोगिन सकिनेछ ।

प्रविधिले दैनिक जीवनलाई सहज बनाएपनि त्यसले जन्माएको अपराध नियन्त्रणमा समस्या रहेको प्रहरीको बुझाई छ । सामाजिक सञ्जालबाट ठगिदाँ त्यसको अध्ययन गर्न प्रहरीले लामो समय खर्चनु पर्ने गरेको छ । सम्बन्धित सञ्जालको अथोरिटीबाट विवरण झिकाउन महिनौ लाग्ने भएकोले सेवाग्राही वा सर्वसाधारणले आफैं ध्यान दिनुपर्ने प्रहरीको आग्रह छ ।  मोवाइल हराएमा तत्काल सीम ब्लक गर्न लगाउने, प्रहरीमा सीम नम्बर र मोवाइल विवरण टिपाउने, फेसबुकमा समस्या देखिने बित्तिकै प्रहरीको सम्पर्कमा पुगिहाल्ने र अनावश्यक म्यासेज आउँदा त्यसको बारेमा बुझ्ने व्यक्तिसँग छलफल गर्न प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्