विराटनगरसहित यी स्थानमा हुँदैछ आङ्ग खसेका महिलाको निःशुल्क शल्याक्रिया, भाडा समेत सरकारकै

विराटनगरसहित यी स्थानमा हुँदैछ आङ्ग खसेका महिलाको निःशुल्क शल्याक्रिया, भाडा समेत सरकारकै

विराटनगर । कोशी प्रदेशमा पाठेघर खसेका महिलाहरुको निःशुल्क शल्याक्रिया सेवा सुरु भएको छ । संघीय सरकार तथा प्रदेश सरकारको संयुक्त कार्यक्रममार्फत प्रदेशका १४ जिल्लालाई समेट्दै प्रदेश स्वास्थ्य निर्देशानालयले कार्यक्रम कार्यन्वयनमा ल्याएको हो ।

प्रदेश जनस्वास्थ्य निर्देशानालयका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार समस्या देखिएका महिलाहरुको शल्याक्रिया र यातायात खर्च समेत सरकारले बेहोर्ने गरि सुविधा प्रदान गरिएको हो ।
विराटनगरमा सरकारको यो कार्यक्रम बैशाख २२ गतेदेखि विराटनगर अस्पताल (विराट नर्सिङ्ग होम) मा कार्यन्वयनमा आएको हो । विराट नर्सिङ होममा १२० जना महिलाहरुको शल्याक्रिया गर्ने सम्झौता भएको स्वास्थ्य निर्देशक बस्नेतले जानकारी दिनुभयो ।
आङ खस्ने समस्या भएकी एक जना महिलाको शल्याक्रिा र उपचारका लागि सरकारले १२ हजार ५०० रुपिँया अस्पताललाई दिने गरेको छ । त्यसपछि हिमाली जिल्लाको महिला भए एक हजार पाँचसय, पहाडी जिल्लालाई एक हजार र तराई जिल्लाको महिलालाई ५०० यातायात खर्च समेत सरकारले उपलब्ध गराएको छ ।

कोशी प्रदेश स्वास्थ्य निर्देशालयका प्रमुख बस्नेतका अनुसार मोरङमा बिराट नर्सिङ होम जस्तै इलाम अस्पताल धनकुटा अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, गाईघाट अस्पताल र मेची अस्पतालमा यो सेवा विस्तार गरिने छ । बाँकी अन्य अस्पतालसँग समेत निर्देशानालयले राय मागेको प्रमुख बस्नेतले बताउनुभयो ।
सरकारले यो कार्यक्रम लागु गरेपछि विराट नर्सिङ होमले गाउँमा स्क्रिनिङ्ग टोलि परिचालन गरेको प्रशासन प्रमुख पदन बिनाडीले जानकारी दिनुभयो । जसमा ३५ वर्षदेखि ८५ वर्ष उमेरसम्मका महिलाहरुमा आङ खस्ने समस्या देखिएपछि अस्पतालसम्म ल्याएर शल्याक्रिया गरिएको छ ।

विराटनगर अस्पताल (विराट नर्सिङ होम) स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. प्रेरणा दाहालका अनुसार गर्भवती अवस्थामा आराम नगर्ने, प्रसुतिपछि उचित स्याहार तथा आराम नपाउने, कडा परिश्रम गर्ने, वजनदार भारी बोक्ने र धुम्रपान गर्नेहरुमा पाठेघर समस्या धेरै देखिने गरेको छ । ग्रामिण क्षेत्रका महिलाहरुमा यो समस्या व्याप्त रहेपनि लुकाएर बस्ने गर्दा जोखिम अधिक हुने गरेको छ । आङ खस्ने समस्याका तीन चरण हुने डाक्टर दाहालको भनाई छ । जसमध्ये पहिलो अभ्यास गर्ने, दोस्रो रिङ प्रेसरी राख्ने र तेस्रो शल्यक्रिया गर्नुपर्ने हुन्छ । तेस्रो अवस्था हुँदा अंग बाहिर निस्कने र फोहोर तथा घर्षणले फुल्न गई संक्रमण हुने र शल्याक्रिया गर्नुपर्ने स्थितिमा पुग्ने डाक्टर दाहालको भनाई छ ।

सरकारले निःशुल्क उपचार गर्ने भएपछि सुनसरीको चक्रघटीबाट अस्पताल आउनु भएकी ३६ वर्षीया कल्पना भारतीले महिलाहरुले पैसा व्यवस्थापन गर्न नसक्दा पनि पीडा सहेर बस्नुपर्ने बताउनुभयो । उहाँले शल्याक्रिया गर्ने पैसा आफैंसँग नहुँदा पीडा सहेर बस्ने धेरै महिला रहेको बताउनुभयो ।

१६ वर्षको उमेरमा विवाह गर्नु भएकी सुनसरी इनरुवा–७ निवासी ६४ वर्षीया जलेश्वरीदेवी खत्रीले वर्षौदेखिको कष्ट शल्याक्रिया गर्ने अवसरले अन्त्य भएको बताउनुभयो । स्वास्थ्य निर्देशानालयका प्रमुख बस्नेतले चालु आर्थिक वर्षमा संघ र प्रदेश सरकारको कार्यक्रम कार्यन्वयन भईरहेको बताउनुभयो । उहाँले सेवा दिने स्थानहरुको क्षेत्र फराकिलो बनाउँदै आगामी वर्षमा यो कार्यक्रम थप प्रभावकारी बनाउने दावी गर्नुभयो । चालु आर्थिक वर्षमा यो कार्यक्रमबाट २०० जना महिला लाभान्वित हुने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्