विश्वास गरेका सँगै सुरक्षित छैनन् बालबालिका

विश्वास गरेका सँगै सुरक्षित छैनन् बालबालिका

सुजता लिम्बु
विराटनगर । गत बैशाख २९ गते मोरङकी एक बालिका आफ्नै बुबाबाट बलात्कृत भइन् । घरमा कोही नभएको अवस्थामा बुबाले जर्बजस्ती करणाी गरे । ११ वर्षिया बालिकामाथि बलात्कार गरेर फरार रहेको उनलाई प्रहरीले जेठ ४ गते नियन्त्रणमा लिइयो । अहिले उनलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरि अनसन्धानको क्रममा छन् ।
यस्तै , ०७९ श्रावण १० गते विराटनगरमा १९ वर्षीया एक युवती आफ्नै प्रशिक्षकबाट जर्बरजस्ती करणीमा परिन् । ती युवतीलाई होटलमा लगेर जर्बरजस्ती करणी गरेको र भिडियो बनाएर थप दुःख दिएको भन्दै उनीहरु विरुद्ध पीडित युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
पीडितको जाहेरी अनुसार खेलकुद विकास समितिका कराँते प्रशिक्षक बिनोद राउत र उनका साथी सुरज सुवेदी पक्राउ परेका थिए । उनीहरु अहिले पूर्पक्षमा छन् ।
मोरङको लेटाङ ५ स्थित शिक्षा विकास माविकी १४ वर्षीया छात्रालाई यौन दुर्वयवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक ६५ वर्षीय मनोज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
माथि उल्लेखित घटना र समावेश पात्र प्रतिनिधि मात्रै हुन् । पछिल्लो समय हाडनाता साथै आफूले भरोसा गरिएको आफ्न्तबाट यौन हिंसामा पर्नेको संख्या बढ्दो रुपमा देखिन्छ । त्यसो त परिवारभित्रै घटेका घटना बाहिरिनु आफैमा चुनौती छँदैछ त्यसमा पनि बालबालिकासँग जोडिएका घटना संवेदनशिल हुने हुँदा यस्ता घटना कुनै उजागर हुने गर्छन् भने कुनै भित्रै दबिने गरेको पनि पाइएको छ ।

आफ्न्तबाट हिंसामा परेका छन् बालबालिका
मोरङमा तीन वर्षको तथ्याङ्काको आधारमा ठूलो संख्यामा पीडक चिनेजानेको सम्बन्धमा भएको मान्छेबाट नै यौनजन्य अपराध हुने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त डिएसपी रन्जनकुरमार दाहालले जानकारी दिए । उनका अनुसार धेरै जस्तो यौन हिंसा साथी , प्रेमी, छिमेकी र घरभित्रको चिनिएको मान्छेबाट अपराध भएको देखिन्छ । नचिनेको मान्छेबाट पनि अपराध भए पनि त्यति ठूलो संख्यामा नरहेको उनले बताए ।

मोरङ जिल्लमा घटेका यौनजन्य अपराधहरु विगत तीनवर्ष देखि तथ्यांक विश्लेषण गर्दा जबर्जस्ती करणी, बाल यौन दुरुपयोग र अपहरण पश्चात हुने जबर्जस्ती करणी जस्ता अधिकांश घटनामा १८ वर्षभन्दा मुनिका बालकालिका रहेको उनले जानकारी दिए ।
‘हामीले डाटा हेर्दा २०७६÷०७७ सालमा ६६ प्रतिशत, ७२०६÷०७८ सालमा ७० प्रतिशत र २०७८÷०७९ सालमा ६७ प्रतिशत १८ बर्षभन्दा तलका बालबालिका यौन हिंसामा परेको पाइन्छ ।’ उनले भने,‘ यसको ठिक उल्टो पिडकलाई विश्लेषण गर्दा अधिकांश पिडकहरु २५ देखि ५० वर्ष उमेर समूहका वयस्क मान्छे भएको पाइन्छ ।’ अधिकांश विवाह भइसकेका, र वयस्क उमेरका मान्छेले बालबालिकालाई लक्षित गर्ने गरेको बताउदै उनले ७० प्रतिशत भन्दा बढी पिडक २५ देखि ५० वर्षको देखिएको बताए ।

यसको रोकथाम गर्न हस्तक्षेप गर्ने क्षेत्र घरभित्र, स्कुल, साथीभर्ईहरु हुन् । रोकथामका लागि समुदायमा जानै पर्ने अवस्था रहेको छ । त्यति मात्रै नभई कसरी घटना हुनसक्छ भन्ने कुरा बालबालिकालाई जानकारी दिनुपर्ने देखिन्छ ।
‘घटना घटिसकेपछि कानुनी दायरामा ल्याउने कुरा त छँदैछ, मेसेज दिने कुरामा भोलि म फस्न सक्छु भन्ने सम्भावित घटना हुनसक्ने उमेर समूहलाई कानुनको बारेमा जानकारी दिनुपर्ने हुन्छ ।’ कस्ताकस्ता कुरा गर्नु हुँदैन भन्ने कुराको जानकारी दिनु पनि त्यतिकै आवश्यकत छ, उनले भने,‘ सुरक्षाको प्रत्याभुति महसुस गराउने र सचेत गराउने कुराहरु विद्यालयबाट नै सुरु गर्नुपर्छ ।’
समुदाय प्रहरी साझेदारी कार्यक्रमबाट गरिएका सचेतनामूलक कार्यक्रमले पनि उत्तिकै प्रभावकारी भएको बताउँदै उनले थप प्रभावकारी बनाउन विद्यालय, टोल, गाँउ समाजबाट पनि आ–आफ्नो स्तरबाट साझेदारी काम गर्नुपर्नेमा जोड दिए ।
यसलाई सक्रियताका साथ अगाडी बढाउन मासिक बैठक राख्ने बताउँदै उनले भने,‘ यसको अवधारणा के भने आफ्नो गाँउमा स्कुलमा भएको समस्या प्रहरीलाई भन्दा पनि त्यही गाँउको स्कुलको मान्छेलाई थाहा हुन्छ उहाँहरु नै संलग्न भएर त्यसको सुरक्षाको चुनौतीको विषय पहिचान गर्ने त्यो समाधानका लागि साधन श्रोत जुटाउने र संयुक्तरुपमा प्रयास गर्ने भन्ने अवधारणा हो ।’
बालबालिसँग जोडिएको अपराध अनुसन्धानका घटना निक्कै चुनौतीपूर्ण रहेको बताउदै उनले घरभित्र घटेको घटना पीडित छोरी र पिडक बुबा भए कानुनी उपचारमा समस्या र चुनौती देखिन्छ ।

‘पीडितले ठूलो साहस गर्छ एक त यहाँसम्म आउन निक्कै कठिन पर्छ आइसके पनि बयानमा अडिन त्यति नै धेरै चुनौती छ ।’ उनले भने, ‘यो खालको अनुसन्धानलाई एकदम संवेदनशिल अनुसन्धान गर्नुपर्छ भनेर नेपाल प्रहरीले तालिम कार्यक्रम सञ्चालन गरिरहेको छ ।’
यस्ता घट्नामा लैङ्गिक संवेदनशिलता हुने बताउँदै उनले विराटनगरमा विभन्न संघसंस्था सँग सहकार्य गरेर पीडितलाई काउन्सिलिङ गर्ने गरेको जानकारी दिए ।

सुरक्षित महसुस गरेकैबाट असुरक्षित
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका समाजशास्त्र विभाग प्रमुख डा. चन्द्र उपाध्यायले जोसँग आफू रहँदा महिलाहरुले सुरक्षित महुसस गर्छन उनैबाट यौन हिंसाको सिकारमा पर्नु सामाजिक विचलन विकृतिको एउटा चरम अवस्था रहेको बताए ।
उनको अनुसार यसको कारण यौन शिक्षा, पितृसत्ताको हावी हुनु साथै कुनै पनि अवस्थाले कमजोर छ भने त्यसको फाइदा लिन खोज्नु, त्यो सँगै मनोवैज्ञानिक, सामाजिक कारण मानसिक समस्या पनि हो ।
यौन चाहाना कसरी पुरा हुन्छ भन्ने कुराको चेतनशिल ज्ञान नभएको र अवसर छ भन्दैमा महिला विरुद्ध जाइलाग्ने प्रवृत्ति मानसिक विचलन रहेको कारण पनि समाजमा यस्ता घटना बढ्दै गएको उनको भनाई थियो । ‘कतिपय संचारको प्रभाव, सामाजले यौन व्यवस्थापनका लागि कतिपय नियमहरु बनाएको छ, यौनलाई एउटा मानविय आवश्यकता मान्ने हो भने त्यसको व्यवस्थापन बनाएको छ,’ उनले भने,‘ त्यसको नियम पालना गर्नुपर्छ त्यो संगसंगै कतिपय कुरा समय सापेक्ष समाजमा दिनुपर्ने शिक्षा चेतनाको स्वरुप पनि परिवर्तन गर्नुपर्छ ।’
यौन भनेको लाज लाग्ने कुरा हो, यौन सम्बन्धि कुरा लुकाउनुपर्छ यौन चाहानालाई दबाउनुपर्छ भन्ने खालका शिक्षा पनि त्रुटिपूर्ण रहेको उनको तर्क छ ।
‘यौन आवश्यक हो, यौन चाहाना जैविक चाहाना हो, उमेरसँगै त्यसको सम्बोधन हुनुपर्छ त्यस सम्बन्धि दिनुपर्ने सामाजिक, मानोवैज्ञानिक शिक्षा जुन छ त्यसको स्वरुप पनि पविर्तन गर्नुपर्छ,’ उनले भने,‘दबाउन खोज्दा अपराधहरु भइरहेको छ, पुरुषले मात्रै गल्ति गरको छ भन्ने होइन चाहाना दुवैलाई हुन्छ दुवैले नचाहादा नचाहादै पनि हाडनाता भित्र शारिरीक सम्बन्ध भएर सामाजिक विपत्तिहरु आएका छन् ।’ यसले पारिवारिक विघटनका कुराहरु भइरहेको र यसले पारिवारिक, सामाजिक तह, मानसिक तहामा ठूलो असर परेको उनले बताए ।

अपराधमा किन संलग्न हुन्छन ?
विराटनगरस्थित कोशी अस्पतालका मनोचिकित्सक डा. प्रभात चालिसेका अनुसार सबै खालको यौन हिंसा गर्ने मान्छे रोगले नै गर्दा हुँदैन, कुनै खालको एन्टिसोसियल पर्सनालिटी डिसअर्डर अर्थात यस्ता रोग लागेको मान्छे विभिन्न खालको अपराधिक क्रियाकलापहरुमा भेटिन्छन् । यसमा यौनजन्य हिंसा मात्रै नभए चोरी, डकैती, ज्यानमार्ने उद्योग जस्ता घटनामा धेरै पाइएको अध्ययनमा देखाएको उनले बताए ।
‘यि बाहेक पैराफिलिया भन्ने ग्रुपको रोग हुन्छ यसले स्वभाविक भन्दा फरक खालको यौनजन्य क्रियाकलापमा समावेश हुने मानिस एक खालको पीडोफिलिया (पीडो भनेको बच्चा, फिलिया भनेको आर्कषण ) कुनै पनि बच्चालाई छोएर अथवा उसँग यौन जन्य क्रियाकलापमा संलग्न भएर आफ्नो यौन इच्छा पुरा गर्ने खालको रोग हो’ उनले भने,‘त्यसो त उसँग यौनजन्य क्रियाकलपमा सहभागी हुनुपर्छ भन्ने हुँदैन तर देखेर, छोएर इच्छा आउने एक खालको रोग हुन्छ ।’
यो अधिकांश पुरुषमा हुने र महिलामा पनि हुने गरेको तर महिलालाई कम हुने बताउदै उनले यो राग लागेको मान्छेहरु बालबालिका प्रति यौनजन्य हिंसामा सहाभगी हुने गरेको पाइएको उनले बताए ।
यो रोग लाग्दैमा हिंसा नै गर्छ भन्ने नहुने र यो रोग लागेको मध्ये ५० प्रतिशत मान्छेहरु हिंसामा संलग्न भएको अध्ययनले देखाएको उनको भनाई थियो । यो उपचार हुने खालको रोग रहेको बताए ।
बौद्धिक क्षमता कम भएको, मादक पदार्थ सेवन गर्ने मानिसहहरु, एडिक्स्नमा फसेको मान्छे पनि यौन हिंसामा परेको देखिएको उनले बताए ।
उनका अनुसार बाल्यअवस्थामा आफूले हिंसा सहेकाले पनि आफै हिंसा गर्ने प्रवृत्ति विकास हुने अध्ययनले देखाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्