संस्थागत गणतन्त्र र सुशासन

संस्थागत गणतन्त्र र सुशासन

आम नागरिक स्वतन्त्र र राज्यका सेवाको पहुँचमा पुग्ने शासन व्यवस्था गणतन्त्र मानिन्छ । नेपालमा १६ वर्ष अगाडी एउटा राजनीतिक उपलब्धीको रुपमा प्रारम्भ भएको गणतन्त्रले अहिले आम नागरिकलाई साशन व्यवस्थामा पुग्ने हिस्सेदार बनाईसकेको छ । विशेष राजनीतिक परिस्थिति सिर्जना भएर लामो समयदेखिको राजतन्त्रात्मक व्यवस्था अन्त्य भएर नागरिकको छोरो राष्ट्र प्रमुखको रुपमा राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्री हुने संसदीय प्रणाली विद्यमान छ । यसका कयौं नकारात्मक पक्ष छन् । तर, मुलतः गणतन्त्रले सयौं संभावनालाई साशनका लागि बाटो खुल्ला गरिदिने र नागरिकका लागि स्वतन्त्रपूर्वक बोल्न पाउने बाटो खोलिदिएको छ ।

गणतन्त्रको संस्थागत विकास भनेको नागरिकदेखि साशन सत्तामा पुगेकासम्ममा हुने स्वअनुशासन र संविधानको परिधी भित्र बनेका कानुनको पालना हो । स्वनियम पालनाले मात्रै हरेक व्यक्तिलाई अनुशासित बनाउन सक्दछ । यदि गणतन्त्रमा स्वतन्त्रताको मात्रै पक्षमा उभिन खोज्ने हो भने त्यसले नागरिकदेखि साशनसत्तासम्मलाई स्वच्छन्दताको स्वभाव हावी गराई दिन्छ । जसले नागरिकका लागि लेखिएको संविधानको परिपालना हुनसकेको आभास सिर्जना गरिदिन्छ । अहिले नागरिकका मानसपटलमा सिर्जना भएको विचारहरु पनि गणतन्त्रको संस्थागत अभ्यासमा राज्य व्यवस्था सञ्चालकहरु चुकेकै कारण उत्पन्न परिस्थिति हो।

गणतन्त्रलाई संस्थागत गर्न सुशासनलाई प्राथमिकतामा राखिनु पर्दछ । गणतन्त्र आएपछिका जतिपनि सरकार गठन भए स्थायित्व हुनसकेन । सरकार स्थायी बन्न नसक्दा सुशासन ओझेलमा परेको छ । अर्कोतर्फ अलिक पुराना राजनीतिक पार्टीहरुले सरकारलाई सञ्चालन गर्दा उनीहरुको पुरानो बानी सुधार्न अझै सकेका छैनन् । जसका कारण भ्रष्टचारका लागि योजना बनाउने, भ्रष्टचारका लागि सम्झौता गर्ने र राजनीतिक मुद्दालाई कमजोर बनाउने काम भईरहेको छ । जुन विषय गणतन्त्रका लागि बलिदानी गर्ने शहीद, शहीद भएका परिवारका सदस्य, घाईते तथा अपाङ्गता भएका व्यक्ति तथा उनीहरुको परिवारले रुचाउन सक्ने विषय छैनन् । त्यति मात्रै नभई राजनीतिक रुपमा साशन प्रणाली रुपान्तरणमा सहयोग गरेका नागरिकले पनि नेतृत्वमा देखिएको भ्रष्टचार मोहलाई रुचाउन सक्ने कुरा भएन ।

निष्कर्षमा संघीय लोकतान्त्रिक गणतन्त्र नागरिकका लागि उत्कृष्ट विकल्प हो । जसले दल खडा गर्न पाउने, नागरिकसम्म गएर मत माग्ने र निर्वाचित हुन पाउने अधिकारलाई सुनिश्चित गरिदिएको छ । जसको परिणामस्वरुप नयाँ विचारसहितको युवा नेतृत्वको जमात अहिले संसद भित्र प्रवेश पाएको छ । यदि यसरी नै राजनीतिक कोर्षको करेक्सन हुँदै जाने हो भने आगामी दिन गणतन्त्रको बाटो उज्ज्वल हुने निश्चित छ । तर, यसका लागि संस्थागत गणतन्त्रका लागि सुशासन एक मात्रै मुलमन्त्र हुनुपर्नेछ । १६ औं गणतन्त्र दिवसको अवसरमा शहीदप्रति हार्दिक श्रद्धाञ्जली, शहीद परिवारप्रति सम्मान । घाईते भएका योद्धा तथा वेपत्ता पारिएका व्यक्तिहरुका परिवारजनप्रति सम्मान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्