गर्मी बढेपछि झापाका दुई वटा स्थानीय तहमा विद्यालय बन्द

गर्मी बढेपछि झापाका दुई वटा स्थानीय तहमा विद्यालय बन्द

झापा । तापक्रममा अत्यधिक वृद्धि भएर गर्मी बढेपछि झापाका दुई स्थानीय तहमा विद्यालय बन्द गरिएका छन् ।

गर्मी बढेसँगै मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिकाले पालिकाभित्र सञ्चालित विद्यालयमा बिदा गर्न सूचना जारी गरेका हुन् । मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले सूचना जारी गर्दै आगामी बर्खे विदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिन अनुरोध गरेको बताउनुभयो ।

अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समेत असर पर्न थालेकाले मेचीनगरभित्र सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा बिदा दिन सूचनामा भनिएको छ ।

कचनकवलका सामुदायिक विद्यालयमा पाँचदिन बिदा दिइएको छ । प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले गर्मीका कारण पठनपाठनमा समस्या आएकाले पाँच दिन विद्यालय बिदा गरिएको जानकारी दिनुभयो ।

यही जेठ १८ देखि २२ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको यादवले बताउनुभयो । हाल दिइएको बिदा बर्खे बिदामा मिलान गरिनेछ । एक सातायता झापाको तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेको छ । सूर्योदयसँगै तापक्रम २९ डिग्री सेल्सियस हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्