विराटनगर । मोरङ उर्लाबारीस्थित पूर्वी कमाण्ड अनलाइनका समाचार प्रमुख पुजन दास माथि सांघातिक आक्रमण भएको छ ।
समाचार संकलन गरेर फर्किने क्रममा मोरङको रतुवामाई १० स्थित एक ग्यारेजमा मोटरसाइकल बिग्रिएर मर्मत गर्ने क्रममा ५-६ जनाको समूहले उनीमाथि आक्रमण गरेका हुन् ।
उनको अहिले उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भइरहेको छ । आफूलाई बिना कारण आक्रमण गरिएको दासले बताए । उनको मुखमा चोट लागेको छ ।
घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारबाहीको माग गर्दै प्रेस सेन्टर मोरङले माग गरेको छ । सो संगठनले समाचार लेख्ने, संकलन गर्ने र प्रकाशन
तथा प्रसारण गर्ने संवैधानिक अधिकारको रक्षा गर्दै शान्तिपूर्ण ढंगले काम गर्ने वातावरण सिर्जना गर्न पनि स्थानीय प्रहरी प्रशासनसमक्ष माग गरेको छ ।