जुत्ता

जुत्ता

-सुरज दाहाल
जुत्ता ,
खुट्टा जोगाउने अस्त्र मात्र हैन
युगौ देखिको वर्गिय वस्त्र हो
जुत्ता इतिहास हो
जुत्ता वर्तमान हो
र तिमि कसैको जुता चाटन सक्छौ भने
जुत्ता तिम्रो भविष्य पनि हो
हो !, जुत्ता तिम्रो धरातलमा मात्र छैन
यो तिम्रो उच्चाई पनि हो
जस्तो कि
लुइस चौधौ दश इन्च लामो जुत्तामा अग्लो शासन गर्थे

जुत्ता
यो संस्कृति हो
यो विकृती हो
यो साकार छ /निराकार छ
त्यसैले अचेल खुट्टाले जुत्ताको आकार तय गर्दैन
जुत्ताले खुट्टाको आकार तय गर्दछ
जस्तो कि पार्टी शु~~ज लगाएर निदाएको देशको इतिहास हेर
पुरुषले लगाउन छोडेको हिल्स शु~
र हिल्स शु~~लगाएर डान्सबारमा नाचिरहेको आधुनिक नारीवाद /फेमिनिज्म हेर
नभए तिमि कुनै पनि कार शोरुममा कारको अगाडि उभिएको जिवित डमि/मोडल हेर्न सक्छौ -
हो
जुत्ता
बोल्छ चल्छ खेल्छ नाच्छ साथी
मानौ आफुले मात्र जुत्ता लगाउन दिने मिश्रका फिरौनहरु आज करोडौं छन
हुनसक्छ आज हाम्रो खुट्टा भन्दा ज्यादा पुजीवादी जुत्ताको मुल्य ज्यादा छ !!
यद्यपि ...
अनि तिम्रो खुट्टामा टासिंएको जुत्ता
स्थिर अजिव अजैविक वस्तु हैन
यसलाई तिम्रो चाल छल कपट हरेक थाहा छ
र तिम्रो एउटा साथी पनि हो
हरेक पाइलामा तिमि सगै चलिरहेछ
तिम्रा खुट्टाहरुलाई छलिरहेछ
र खुट्टा सगै गलिरहेछ
तिम्रो थकानमा थाक्ने तिम्रो रुकाइमा रुक्ने ..साथी..यो अजिवित कसरी हुनसक्छ ??
जमिन सग तिम्रो स्पर्श टुटेको कसरी हुनसक्छ ?

जनावरले जुत्ता लगाउदैन
न जुत्ताले जनावरका खुट्टाको आकार तय गर्दछ
आउ त्यसैले जुत्ता लगाएर मानवताको नया यात्रा सुरु गरौ
ताकि कुनै जुत्ताले खाली खुट्टा कुल्चिन नपरोस
जुत्ता लगाएर अग्लो देखिन नपरोस
र जुत्ता नभएर कतै रोकिन नपरोस ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्