लुप्त प्रेम

लुप्त प्रेम

-निर्मला देवी तिम्सिना
सामान्य कुरा प्राय भइरहन्छ । त्यति सम्झना रहँदैन । असामान्य कुरा एक चोटि भए पछि सधैं भरी सम्झना रहन्छ । आफैभित्र हुँदा जिन्दगी भरि रहन्छ तर आफूभन्दा बाहिर गयो भने पुस्तौं पुस्ता सम्म पनि रहन सक्छ। आख्यानको रुपमा रहन सक्छ ,मजाकको रुपमा रहन सक्छ ,लोक कथा बन्न सक्छ , गीत बन्न सक्छ ,कविता, कथा ,उपन्यास , नाटक आदि इत्यादि बनेर रहन सक्छ । हो मेरो पनि जिन्दगीको एउटा कथा छ, मुटुमा लुकाएर राखेको कथा । लुकाएर राखेका कुराहरू आफैँमा असामान्य भएर छट्पटिँदा रहेछन् त्यसैले म सबैको माझ झिक्छु , फाल्छु र छरपस्ट पारिदिन्छू जसले गर्दा मलाई शान्ति मिलोस् र अरुलाई पनि सही गलत छुट्याउने अवसर मिलोस् ।

कुरा सामाजिक सञ्जाल फेसबुकबाटै शुरु भएको थियो । धेरै पटक यो सामाजिक सञ्जाल बनाउने मान्छेलाई भगवान मानेर धन्यवाद दिँदै ढोगेको छु । छुटेका साथी भेटिए । छुटेका आफन्त भेटिए । नयाँ साथी बने । सबैको हालखबर देखियो , बुझियो ।भौतिक रुपमा टाढा भए पनि प्रत्यक्ष रूपमा बोल्न पाइयो,देख्न पाइयो।जरूरत परे धाइरहनु परेन । सेकेन्डभरमा चाहेको मान्छेसंग कुरा हुन पायो। तर कहिले काँही धिकारेको पनि छु । यसले गर्दा सामान्य मान्छेको जन जीवन अस्तव्यस्त भयो । पढ्नेले पढेनन् ,सुन्नेले सुनेनन् ,नबोली नहुनेहरुसँग बोलेनन्, बोल्नै नपर्नेहरुसँग बोलेर समय र चरित्र बर्बाद गरे । हो त्यही समय र चरित्र बर्बाद गर्ने मान्छेहरु मध्य म पनि एक हुँ।

म बिबाहित स्त्री थिएँ ! मेरा श्रीमानले मलाइ अत्यन्त प्रेम गर्नुहुन्थ्यो तर वहाँ मेरो साथमा हुनुहुन्न थियो । कार्यालयको कामले बाहिर बस्नु हुन्थ्यो समय मिलाएर आउने जाने गर्नु हुन्थ्यो । फेसबुक चलाउदै गर्दा एकजना बिबाहित पुरुषसंग मेरो परिचय भयो । उहाँ एक छोरा र एक छोरीको बा हुनुहुन्थ्यो । म पनि एउटा छोरीको आमा थिएँ । हाम्रा बच्चाहरु सानै थिए ।
कुराकानी च्याटबाट शुरु भएको थियो । बिस्तारै अडियो हुदैँ भिडीयोसम्म पुग्यो । भिडियो सम्म पुग्दा हामी साथी नभएर आफ्नै भैसकेका थियौं । सुरुमा बोल्न निक्कै अप्ठेरो भए पनि पछि नबोली नसक्ने भएका थियौ । बिशेष गरेर म आफैं । नबोल्ने प्रयास गरेकी थिएँ l म बिबाहित हुँ र उ पनि बिबाहित हुन भनेर । पहिला साथी भनेर बोलियो । बोल्दै जाँदा प्रेमिल कुराहरु भए । प्रेम भयो । बिपरित लिङ्गि हूँदैमा सबैसंग प्रेम हुन्छ भन्ने छैन l प्रेम हुन संयोग मिल्नु पर्छ क्यारे । मन र , व्यावहार मिल्नु पर्छ क्यारे । बिबाहित हुदैँमा प्रेम हुँदैन भन्ने कुरा झुटो भयो । बिबाह भएकासंग प्रेम नहुन सक्छ र प्रेम भएकासंग बिबाह नहुन सक्छ यो सत्य भयो । बिबाह एउटा कुरा रहेछ । प्रेम अर्कै कुरा रहेछ । बिबाहित भएर पनि प्रेम भयो l छोरा छोरी भएर पनि प्रेम भयो l उमेर ढल्किएर पनि प्रेम भयो । उसँग नबोल्दा अथहा पिडा हुन्थ्यो । बरु श्रीमानसंग नबोल्दा पिडा भएन । त्यति धेरै पिडा हुन्थ्यो जति कोही प्रिय मान्छे मरेको थियो ।

कुनै दिन उ ब्यस्त भएर कल गरेनन भने मेरा आँखा उसै चुहिन थाल्दथे म रोइदिन्थें । मनले संका गर्थ्यो माया गर्दैनन् क्यारे, प्रयोग पो भएँ कि!!
बदनाम हुने हूँ कि,घरपरिवार, श्रीमान, बच्चा,समाज,आफन्त, साथी सबैलाई सम्झन्थें । अनि मुटु फुट्ने गरि दुख्थ्यो । कति पटक त मुटु भड्किएको पनि थियो,अनुभब गरेकी थिएँ । त्यसरी केहि समय या धेरै पटक भड्किने हो भने मुटु निस्क्रिय हुने संकेत पाएकी थिएँ । नसा नसा दुख्थे l बिरामी महसुस हुन्थ्यो । आखाँ उसै चुहिन्थे । बेसरी रोइदिन्थें, धित मरुन्जेल रोइदिन्थें l जबसम्म आखाँ थाक्दैनन्,आँसु सकिन्दैनन् आफैलाई पिटेर रुन्थें ।
जब उनको फोन आँउथ्यो तब मनैदेखि शारीरमा स्फुर्ति आँउथ्यो । अनुहार तातिन्थ्यो, चम्किन्थ्यो, शान्ति मिल्थ्यो र आनन्द मिल्थ्यो । प्रेममा ठुलो ताकत हूँदो रहेछ । उनी आकर्षक र मोहित थिए । उनलाई कहिल्यै नछोडौ जस्तो लाग्थ्यो । म जसरि ब्यक्त हुन्थें उ पनि त्यसरी नै ब्यक्त हुन्थे । हाम्रा कुरा मिल्थे र विचार पनि मिल्थे । सबै कुरा मिलेर नै प्रेम भयो ।
फोनमा कुरा गरेर चित्त बुझेन l हामी लुकेर भेट्न थाल्यौं । एक अर्कामा शरीर साट्यौं l हामी अंगालोमा निक्कै कसिएर बेरिन्थ्यौं । एउटा मुटुको आवाज अर्को मुटुलाई सुनाउँथ्यौं । हामीमा बढो प्रेम थियो । उनले सानु भन्थे, मैले बाबा, हजूर भन्थें । हामी समाजले दिने सिन्दुर पोते बिनाका श्रीमान र श्रीमती भैसकेका थियौं । यसरि भेटेर छुटिने बेलामा निक्कै टाढाको एकल यात्राको महसुस हुन्थ्यो । हामी अँध्यारो मुहारमा बिना चाहना छुटिन्थ्यौं ।
समय यसरि नै बितिरहेको थियो l धर्म नछोडेका मान्छेले धर्म छोड्दा पाप लाग्छ क्यारे ! मैले कतै नछोडेको धर्म पर पुरुष माथि छोडेकी थिएँ । अत्यन्त माया गर्ने श्रीमान हुँदा हुँदै जोगाएर राखेको धर्म छोडेकी थिएँ । मलाई पाप लाग्यो । मलाई श्राप लाग्यो l हृदय घातको कारणले मैले श्रीमान गुमाएँ । म विधवा भएँ । मेरो सृगार गुम्यो । मेरो जिम्मेवारी गुम्यो । मेरो अमुर्त प्रेम गुम्यो । छोरीले बाबा गुमाईन् । हाम्रो सबैथोक गुम्यो ।
म सोकको घडीमा धेरै डुबें । पश्चातापले डुबें, प्रेमले डुबें , व्यवहारले डुबें, सबै कुराले गर्दा आँसुको तलाउमा डुबें । कहिलै निस्किन्न जस्तो लागेर डुबें l जति डुबे पनि व्यवहार व्यवहार नै रहेछ । उठेर सम्हालिनु पर्दो रहेछ । छोरी सानी थिइन् । उनको लागि भए पनि म उठ्नु पर्यो । साहसको साथ उठें, सम्हालिएँ । पहिला जस्तो मैले उनलाइ भेटेकी थिइन । उनै भेट्न आए ! उनलाई देखे पछि धेरै रोएँ । डाको छोडेर रोएँ तर अंगालेर रुन सकिन । मलाई लाग्यो मेरो श्रीमानको आत्माले देखिरहेको छ । मैले उनलाई हेरेर रोएँ l घरमा म एक्लै थिएँ । उनले पनि खै किन हो अंगालेनन । धेरै बेर पछि धेरै कुरा सम्झाए । मन अलि शान्त भयो l जाने बेलामा उनले अंगाल्न खोजे म मानिन तर उनको प्रेमको अगाडी मैले हारी हाल्थें । हारिदिएँ, म फेरि अंगालोमा बाँधिएँ ।
फेरि हाम्रो दिनचर्या पहिला झैँ शुरु भयो । हामी लुकेर नै भेट्ने गर्थौ ।उनले पहिला भन्दा बढी प्रेम गरेको महसुस हुन्थ्यो । पहिला केहि नदिने मान्छे, मेरो आबस्यकता हेरेर सामान ल्याइदिने गर्दथे । पैसा पनि दिन्थे । लुगा किनिदिन्थे lछोरीको फिस तिरिदिन्थे । आधा भन्दा बढी व्यवहार उनेले टार्दिन थालेका थिए ।
पापको परिणाम उनलाइ पनि पर्यो । उनकी श्रीमती पनि मेरै श्रीमान झैँ बितिन l उनलाई पनि बढो चोट पर्यो । उनको पनि सबैथोक गुम्यो । छोरा छोरीले आमा गुमाए । उनको घरमा पनि बज्र पात पर्यो । उनको परिवार कसैले नचिने पनि म भेट्न गएँ उनका बा ! किरियामा बसेका रहेछन l हेराहेर गर्यौं दुवै बोल्न सकेनौं । मलाई देख्ने बित्तिकै उनका आँखा रसाए । भित्र पसे, त्यसपछि बाहिरै आएनन । मैले धेरै बेर पर्खिएर बसें l उनका छोराछोरी देखेर झन् चित्त दुख्यो थामी नसक्नु चित्त दुख्यो । सोचें, मेरो ममता यिनीहरुमाथि पोखिनु पर्छ । छोरा छोरीको आमालाई किन लानु भगवान? बस्नै सकीनँ उ ननिस्किएपछी म हिडें ।
घर आएर म धेरै रोएँ । रूदै सम्झाउने शब्दहरु संदेश पठाएँ । लामो संदेश पठाएँ,उनले हेरे र हस भने । मलाई केहि आनन्द भयो । तर बिचलित भने भैरहें ।
छोरी स्कुल गएकी थिइन् l निक्कै दिन पछि फेरि उनै भेट्न आए । पहिला जस्तै फेरि हाम्रो सम्बन्ध सुध्रियो । उनी आफैं मलाइ बुझाउंथे । हाम्रो भाग्य नै यस्तै रहेछ । हामी सकी नसकी आफैंलाई बुझाइरहेका थियौँ । यो पाली मैले नै उनलाइ अँगालो हालें । सुनसान कोठामा सोकलाई शान्तिमा बदल्दै रमाउन खोज्यौं । केहि समय पछि उनी आफ्नो घर गए ।
समय बितिरहयो । दुवै जनाको वर्षान्त सकियो । पहिला भन्दा भेट पातलो हुन थाल्यो उनि ब्यस्त भएँ भनेर आउँदैनन् थिए । एकदिन त्यहिँ फेस बुकमा देखें,उनले फेरि अर्को बिबाह गरेछन । मलाई पहिला के बज्र पात परेको थियो र!! उनका बिबाहका तस्बिर देखेपछी ठुलो बज्र पात पर्यो । त्यस पछि बडो हिम्मतका साथ म्यासेज गरे । के हाम्रो प्रेम झुट्टो थियो? म योग्य थिइन? छोरा छोरीलाई माया गर्दिन थिएँ ? किन अरु बिबाह गर्नु भयो?
उनले सजिलै भने तिमि एक विधावा हौ, आफ्नो श्रीमान हुँदा हुँदै पर पुरुषसंग लाग्ने चरित्रहिन हौ । जानी जानी म कसरि बिबाह गरौँ ? बिबाह हुन त अरुसंग नलागेको मान्छे हुनुपर्छ । मेरो मुटु प्याट्ट फुटेन तर फुटे भन्दा कम दुखेन । उनले बुढी कन्या बिबाह गरेका थिए । बुढी अबिबाहित थिइन् तर के कन्या नै थिइन् त ? सबैको चरित्र सबैले बुझेका हुन्छन ? मेरो चरित्र उनले बुझेका थिए मैले पनि त उनको चरित्र बुझेकी थिएँ l म उनलाई चाहन्थें । उनले इन्कार गरे । महिलाले अर्को पुरुष भोग गर्दा चरित्रहिन हुने तर पुरुषले जति वटी महिला भोग गरे पनि किन चरित्रवान हुन्छन् ?
उनी पनि त मसंग लागेका थिए । म चरित्रहिन भएँ उनि चरित्रवान कसरि भए? उनकै अनुरोधमा सबै गरेकी थिएँ । जे गरें उनकै लागि गरेकी थिएँ । त्यसपछि मलाई त्यो शहरमा बस्न मन लागेन घर बेचें र अर्कै शहरमा छोरी लिएर हिडें । एक्लै जिउने प्रण गरें । साबधान भएँ । कुनै पुरुष प्रति नजर नालागोस बरु आँखा फुटेर अन्धो हुनु परोस, मेरा प्रेम रसहरु शारीरमै सुकुन । यहि प्रतिबद्दता राखें । उनलाई हरेक सम्पर्कका माध्यमबाट बन्द गरें । तर याद बन्द गर्न सकेकी छैन । एककोहोरो यादले सताएको छ । बुढाको यादले , प्रेमीको यादले । छोरीलाई मैले पाएको शिक्षाको संस्कार दिनु छ छोरीलाई बुझाउनु छ । पुरुषबाद समाजको एउटा आँखो देखाउनु छ l मेरी छोरीलाई म भएर हैन मेरी छोरी भएर बाँच्न सिकाउनु छ । छोरी बढ्दै छिन । जति छोरी बढ्छिन मेरा कर्तब्य, जिम्मेवारी र एककोहोरो याद त्यो भन्दा धेरै भएर बढिरहेका छन् । आफैंमा लुप्त,पिडित र बिकृत याद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्