नागरिकता पाएपछि खुशीले भरिएका अनुहारहरु …..

नागरिकता पाएपछि खुशीले भरिएका अनुहारहरु …..

सुजता लिम्बू
विराटनगर । समय : बिहानको १२ बजे
स्थान : जिल्ला प्रशासन कार्यालय मोरङ
तराईको रापिलो घाम, कोही छाता ओडेर त कोही कागजातका फाइलले अनुहार छेक्दै लामो ताँतीमा पालो कुररिहको भिड देख्न सकिन्थ्यो । त्यसो त सधैं भन्दा सोमबार जिल्ला प्रशासन कार्यालय परिसरको माहोल भिन्नै अनुभूति गर्न सकिन्थ्यो । त्यही भीडमा नियाल्दै जाँदा भेटिएका अनुहारमा अनेक खालका भावहरु झल्किएको अनुभुती छर्लङ्ग महसुश गर्न सकिएको थियो । सर्वोच्च अदालतमा परेको रिट टुंगो लागेसँगै जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार जन्मको आधारमा नागरिकता प्राप्त गरेका बाबुआमाका सन्तानलाई नागरिकता वितरण सुरु गरेको छ । सोही अनुसार नागरिकता प्राप्त गरेर भविष्यको योजना बुन्ने सपना मोरङ कटहरी ४ का २६ वर्षिय निरज कामतको थियो । उनको हातमा नागरिकता थामिएसँगै पुनः छुटेको सपना सम्झना आएको थियो । उनी भन्दै थिए, ‘जुन समय मैले नागरिकता पाउनुपर्ने थियो मैले पाइन्, ५ वर्षको संघर्षपछि बल्ल न्याय पाएको छु ।’ नेपाल प्रहरी बनेर आफ्नै देशको सुरक्षा गर्ने उनको ठूलो सपना रहेछ । तर, नागरिकता नभएकै कारण सपनालई तिलाञ्जली दिनु विकल्प नरहेको उनले दुखेसो सुनाए ।

‘मैले जुन समय नागरिकता पाउनुपर्ने थियो त्यो समय पाइन मैले मेरो सपना गुमाए, भविष्य गुमाए बल्ल पाँच वर्षपछि न्याय पाए’ उनले हर्षित हुँदै सुनाए,‘ २६ वर्षको भए, बिबिएस तेस्रो वर्षमा अध्ययन गर्दैछु ,‘यो बेला प्रहरी जवानमा भर्ती हुने मेरो सपना थियो तर नागरिकता नभएर सपना त्यही तुहियो ।’ प्रहरी बन्ने सपना अधुरो भए पनि नेपाली नागरिक हुँ भन्नुमा नै गर्व रहेको बताउदै उनले अब कुनै निजी कम्पनिमा रोजगारी गर्ने योजना रहेको सुनाए ।

सर्वोच्च अदालतले नागरिकता विद्येयक कार्यान्वयनमा रोक लगाएपछि माइतीघर मण्डलामा नागरिकता विहीन संघर्ष समितिले गरेको प्रदर्शनीमा उनले जेठ ३१ गते सर्वोच्च अदालत परिसरमा शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोजेका थिए ।
उनै कामतले लामो संघर्षपछि जिल्ला प्रशासन कार्यालय मोरङबाट सोमबार नागरिकता प्राप्त गरेका हुन् ।
यस्तै २२ वर्षका रोहित जाजुले मोरङबाट सबैभन्दा पहिले नागरिकता प्राप्त गरेका थिए । नागरिकता पाउनसाथ राष्ट्रिय परिचयपत्र समेत बनाइहालेको उनले खुशी हुँदै सुनाए ।

रोहितले नागरिकता पाँउदै गर्दा उनी मात्रै खुशी थिएनन् । उनीसँगै खुशी साट्न उनको बुवा र काकाकाकी पनि साथै जिल्ला प्रशासन कार्यालयमा थिए । विराटनगर ९ का रोहितले २२ वर्षको उमेरमा नागरिकता प्राप्त गर्दा उनको बुवा नन्दकिशोर जाजुको आँखा खुशीले रसाएको थियो । उनी छोरालाई अंगालोमा बेर्दै भन्दै थिए, ‘मैले यही माटोमा २७-२८ जनालाई रोजगार दिएको छु, मेरो छोराले मेरो डब्बललाई रोजगार दिन्छ ।’ नागरिकता पाएसँगै नेपाली माटोमा नै छोराले केही गरोस भन्ने सपना बुनेका नन्दकिशोरका लागि छोराले नागरिकता पाउनु नेपालमा अर्को उद्योगी उत्पादन गर्नु जस्तै रहेको सुनाउछन् । पढाईका लागि विदेश अर्को देश पठाए पनि बाहिर देशबाट सिकेर आएको सीपलाई नेपालमा नै प्रयोगमा ल्यान छोरालाई प्रेरित गराउने उनले बताए ।

‘म आज एकदम खुशी छु, मेरो छोराले २२ बर्षको उमेरमा नागरिकता प्राप्त गरेको छ, मैले एउटा मिस्टेक गरे नागरिकता रोज्दा जन्मसिद्ध रोजे, मैले लिनुपर्ने बंशजको नागरिकता थियो मेरो मिस्टेकले गर्दा आजसम्म छोराले दुःख पायो’ उनले खुशीले भरिएको स्वरमा भने,‘उसलाई विदेश पढाउने रहर थियो पुरा भएको थिएन, नागरिकता पाएसँगै बल्ल सपना पुरा भयो विदेश पढाएर त्यहाँको अनुभव नेपालमा प्रयोग गर्न प्रेरित गर्छु ।’
त्यसो त नागरिकता नहुँदा रोहित विचल्ल्ति नै बनेका थिए आफ्नो नामको बैंक खाता नहुँदा, लाइसेन्स नहुँदा धेरै झमेला बेहोर्नुपरेको उनी सुनाउछन् ।
नागरिकता नपाएसम्म आफूलाई कुन देशले स्विकार्ने हो भन्ने प्रश्नले दैनिक जस्तो सताउने गरेको बताउदै उनले भने,‘अब नागरिकता पाएसँगै म पनि नेपाली भए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्