-सुरज दाहाल
सिबिएसले प्रकाशित गरेको जनगणनाको प्रतिवेदन अनुसार नेपालमा १५ प्रतिशत घरपरिवारसँग मात्र ल्यापटप छ ७३ प्रतिशतसँग स्मार्ट मोबाइल छ, ३७ प्रतिशत घर परिवारसँग मात्र इन्टरनेटको पहुँच छ । ११ लाख ९१ हजार घरपरिवारमा कोशी प्रदेशको जनसंख्या लगभग ५० लाख छ । ११ प्रतिशतको घरमा ल्यापटप छ ७२ प्रतिशतसँग स्मार्ट फोन छ। विराटनगरको कुरा गर्ने हो भने नेपालको औसत भन्दा धेरै राम्रो छ । ८३.६ प्रतिशतको हातमा स्मार्ट फोन छ ३०.३ प्रतिशतको घरमा ल्यापटप अथवा कम्युटर छ २२.३ प्रतिशत घरपरिवारको सदस्य नेपाल बाहिर छन् । जसको सुचनाको स्रोत डिजिटल मिडिया नै हुन्।
प्रेस काउन्सिलका अनुसार नेपालमा ४ हजार ६८१ अनलाइन मिडिया दर्ता भएका छन् । सूचना तथा प्रसारण विभागले प्रकाशित गरेको २०७९ माघ मसान्तसम्म दर्ता भएका पत्रपत्रिकाहरुको अभिलेखमा ७ हजार ९५३ पत्रपत्रिका दर्ता भएका छन् । सेयरकास्ट इनिसियटिभ नेपालले गत वर्ष (२०२२) गरेको सर्वेक्षणमा ६२ प्रतिशत नेपालीले समाचार वा सुचना अनलाइन मिडियाबाट लिने गरेको देखिएको छ भने पछिल्लो समय छापा पत्र पत्रिका वा परम्परागत रुपमा कागजमा छापिदै आएका सञ्चारमा पाठकको संख्या घट्दै आएको सर्वेक्षणले देखाएको छ । यो इन्टरनेट र स्मार्टफोनको बड्दो प्रयोग र डिजिटल मिडियाको उदयको कारण हो। सर्वेक्षणमा केवल २५ प्रतिशतले मात्रै दैनिक पत्रिका (न्युजपेपर) पढ्छन्, २०१८ मा यसको हिस्सा ४० प्रतिशत थियो ।
समाचारपत्र (म्यागजिन) को प्रयोग पनि घटेको छ, उक्त सर्वेमा केवल १५ प्रतिशत उत्तरदाताहरूले दैनिक आधारमा पत्रिकाहरू पढ्ने देखायो जुन २०१८ मा २५ प्रतिशत थियो। सेयरकास्टको नेपाल मिडिया सर्भेको प्रतिवेदनले यो पनि प्रकाश पारेको छ कि परम्परागत कागजमा छापिने मिडियाका पाठकहरूको गिरावट युवाहरूमा बढी छ । उदाहरणका लागि, १८-२४ वर्षका उत्तरदाताहरू मध्य केवल १० प्रतिशतले मात्र पत्रपत्रिका पढ्ने गर्दछन भने ५५–६४ वर्षको उमेर समुहमा यसको हिस्सा ३५ प्रतिशत छ। अर्थात सय जना १८ देखि २४ वर्षका युवायुवती मध्य १० जनाले मात्रै कागजमा छापिने समाचारपत्र पढछन् । २०२२ मा रोयटर्सले गरेको सर्वेक्षणमा विश्वभरका ७३ प्रतिशत वयस्क मानिसहरूले अनलाइन बाट समाचार वा सुचाना लिने गर्दछन जुन २०१९ मा ६३ प्रतिशत थियो। रोयटर्सले गरेको सर्वेक्षणमा संसारभर का ४१ प्रतिशत १८ देखि २४ वर्षका उमेर समुहका युवा युवतीको समाचार प्राप्त गर्ने माध्यम अनलाइन हो।
पछिल्लो दशकमा भएको डिजिटल क्रान्ति र अनलाइन मिडियाको उदयले परम्परागत मिडियाका कर्पोरेट घरानाहरु लाई चुनौती मात्रै दिएको छैन रुपान्तरण हुन बाध्य पनि पारेको छ। डिजिटल अनलाइन मिडिया हरुको उदयले परम्परागत मिडियालाई पूर्ण रूपमा ह्रास गर्नेछ भन्ने अनुमान गर्नु गलत हुन सक्ला यसको सट्टा, परम्परागत सञ्चार माध्यममा दर्शकहरूको सहभागिता र अनुभवलाई जोड दिएर बिस्तारै डिजिटल वातावरणमा अनुकूल हुँदैछन् जस्तो कि सन् १९६१ मा स्थापित गोरखापत्रले २०१२ देखि फेसबुकमा अनलाइन अपडेट दिन थालेको थियो सन् १९०१ मा अमेरिकामा प्रकाशन सुरु गरेको न्युजविक ले झन्डै १११ वर्षको गर्विलो ईतिहास बदल्दै कागजी प्रिन्ट बन्द गरेर २०१२ मा पूर्ण डिजिटलमा रुपान्तरण गरेको थियो । यस्ता रूपान्तरणले सुचना सञ्चार र पत्रकारिताका मानकहरूलाई अद्यावधिक गरिएका मापदण्डहरूसँग प्रतिस्थापन गर्दैछ। समाचारका लागि डिजिटल मिडियामा बढ्दो निर्भरताले सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको छ। एकातिर, यसले पहिले पहुँच गर्न नसक्ने मानिसहरूका लागि समाचारलाई अझ पहुँचयोग्य बनाएको छ विश्वव्यापीकरणको युगमा समाचारको दुरी छोटाएको छ । अर्कोतर्फ, यसले अनलाइन उपलब्ध समाचारको गुणस्तर र गलत सूचनाको प्रसारमा सामाजिक सञ्जालको प्रभावको चिन्ता पनि बढाएको छ।
युवाहरुको समाचारको स्रोतको तथ्यांकहरुको कुरा गरिरहदा , विश्वको जनसंख्याको ठुलो हिस्सा नै समाचारको लागि अनलाइनमा निर्भर हुदै गर्दा स्थानीय वा क्षेत्रीय मिडिया र तिनीहरुको र त्यसको प्रभावको कुरा नगरी रहन मिल्दैन । सन् २०११ बाट नागरिक पत्रकारीतालाई मान्यता राख्दै संचालनमा आएको कोशी प्रदेश कै पहिलो अनलाइन म्यागजिन आवर विराटनगर डट नेटले स्थानीय समस्या र घटनाहरूको बारेमा निरन्तर जानकारी प्रदान गरेर, र समुदायका सदस्यहरूलाई आवाज दिएर नागरिक संलग्नता बढाउन र सामाजिक एकता मजबुद बनाउन विगत एक दशक यता ठुलो भूमिका खेलेको छ। हजारौ मानिसका हराएका र भेटिएका सम्पत्ति वा सामाग्रीहरुको बारेमा जानकारी दिने (लस्ट एण्ड फाउन्ड) पोस्टहरु , हजारौ ब्लड डोनेसनका रिक्वेस्टहरु , मानिसहरु हराएका सुचनाहरु आवर विराटनगरले आफ्नो दशकको यात्रामा गरेको छ जसले असंख्य मानिसलाई सहयोग गरेको छ जुन ठुला कर्पोरेट घराना र तिनीहरुका अनलाइन मिडियाले अहिलेसम्म गरेको छैनन। आवर विराटनगर मिडियाले विराटनगर र प्रदेशका स-सानादेखि ठुला मुद्दाहरूको गहिरो कभरेज प्रदान गरेर स्थानीय समस्याहरूको बुझाई सुधार गर्न मद्दत गर्न मद्दत गर्दै आएको छन् । यसले स्थानीय समुदायका सदस्यहरूलाई यी मुद्दाहरूको बारेमा सूचित भएर निर्णयहरू लिन र उनीहरूका निर्वाचित अधिकारीहरूलाई जवाफदेही बनाउन मद्दत गर्दै आएको छ ।
आवर विराटनगर जस्ता मिडियाको अझ प्रभावकारी उपस्तिथिको आवश्यकता स्थानीय (क्षेत्रीय खबर) समाचारको लागि ठुला कर्पोरेट मिडिया घरानासँगको निर्भरता घटाउन मात्रै छैन क्षेत्रीय मिडियाहरुले ति स्थानीय मानिसहरुको आवाज बोल्ने गर्दछन् । जसको आवाज काठमाडौँले सुन्दैन ति दृश्य देखाउन सक्छन जुन दृश्य काठमाडौँका ठुला मिडियाले देखेका हुदैनन् ,ति विचार खबर र समाचार सुनाउन वा देखाउन सक्छन जुन ठुला कर्पोरेट घरानाले आफ्नो स्वार्थ बाझिदा नसुनाएका हुन सक्छन।
नेपालमा अनलाइन समाचार पोर्टलहरू आफ्नो पेशागत र सार्वजनिक सरोकारवालाहरूप्रति कम जवाफदेही रहेको , समाचार र सूचनाहरुको विश्वसनीयता हराउदै गएको चर्चा हुँदै गर्दा र सामाजिक संजालहरुको बढ्दो प्रभावका बीच ओबी जस्ता क्षेत्रीय रुपमा सशक्त मिडियाहरुको सामु ठुलो चुनौती र अवसर छ , एकातिर अनलाइनमा पहुँच भएको ठुलो जनसंख्याको हिस्सा छ । भने अर्को तर्फ विज्ञापन बजारको ठुलो हिस्सा अहिले पनि परम्परागत रुपमा छापिने मिडियासँग छ , हरेक दिन रुपान्तरण भईरहेको डिजिटल प्रविधिसँगै अगाडि बढेर आम मानिसलाई अझै विश्वसनीय र तथ्यपूर्ण सुचना र समाचार प्रदान गर्दै नेपालको इन्टरनेटमा पहुँच भएको ठुलो जनसंख्या माझ पुग्ने र अझै सशक्त ढंगले अगाडि बढ्ने अवसर ओबीसँग छ ।