डेढ दशक जस्तो अघि विराटनगरको नेटक्रेकर साईबर क्याफेंमा नियमित ईन्टरनेट चलाउदथें । साथ साथै पत्रकारिता पनि पढिरहेको थिए । गरिरहेको थिए ।
त्यस समय एकदमै सक्रिय र फुलटाईम पत्रकारिता गर्दथे । तर मिडिया पुरानै शैलीमा चलिरहेका थिए । फेसबुक र ट्विटर थिए तर यहाँ त्यसको प्रयोग मिडियाका रुपमा त्यति साह्रो भएको थिएन । त्यसै बेला मित्र निर्मल शर्मा र मैले YouthShala डटकम भन्ने वेबसाईट सुरु गर्यौँ। सायद यो सन् २०१० तिरको कुरा थियो । ईन्टरनेट ब्यापक नभएकोले र प्राविधिक कमजोरीहरुका कारण त्यसलाई निरन्तरता दिन सकेनौं ।
पछि सन् २०११ तिर विराटनगरका सानासाना गतिविधि जानकारी दिनेगरि Our Biratnagar को सुरुवात गर्यौँ । मलाई हिजै जस्तो लाग्छ यो त्यहि नेटक्रेकरमा बस्दा बस्दै सोच आएको थियो । त्यहि फेसबुक पेज बनाएर यसको सुरुवात गरे । त्यस बेला छोटकरीमा OB हुने गरिको राखेको नाम आवर विराटनगर सामान्य नाम थियो । तर समयसँगै यसको औचित्य बढ्दै गयो र काम विशेष हुदा सामान्य नाम पनि विशेष हुदै गयो । युथसाला भन्दा फरक यसलाई फेसबुकमा बढि सक्रिय बनाउने योजना थियो ।
यसमा पनि प्रविधि सम्हाल्ने गरि निर्मलसंगै त्यतिबेला सक्रिय पत्रकार रहेका सुरेश कार्की दाई सम्पादकका रुपमा र प्रेम देवान जि पत्रकारका रुपमा जोडिनु भयो । मित्र बिनु तिम्सिनाका समाचार पनि ओबिमा आउन थालेका थिए । त्यसको अलि पछि हामीले आजकै दिन अर्थात असार १५ मा दहि चिउरा खादै यसको उद्घाटन गर्यौँ ।
हामीले विराटनगरका साना भन्दा साना समाचार हाल्न थाल्यौं । पसल खुलेका समाचारहरु आउँदा मानिसहरु हामीलाई कमेन्टमा गाली गर्थे । हामी भन्थ्यौं , “काठमाडौंमा ठुला ब्रान्डका आउटलेट खुल्नु भन्दा हाम्रो लागि बढि महत्वपुर्ण विराटनगरमा खुलेका यि साना पसलहरु हुन् “।
त्यसबेला विस्तारै अनलाईनमा यस्ता समाचारहरु त आउन थाले तर विज्ञापन आउदैन थिए । हामीलाई आर्थिक समस्या पर्न थालो । बिलहरु तिर्न पैसा पनि जरुरी थियो । यो समस्याले केहि समय ओबिको वेबसाईट बन्द भयो । फेसबुकमा बिग्रिएका सडक, फोहोरका थुप्रो लगायत भेटेका र खिचेका कुरा बेलाबेला आईरहन्थे । यत्तिले चल्दैन थियो ।
फेरि पछि यसलाई निरन्तरता दिने गरि विवेक दाहाल, प्रयास दाहाल भाई, सन्दिप भगत भाई साथै प्रेम जि लगायत जोडियौं । यसैमा सरोज लम्साल, गोकुल कार्की दाई र जाकिर राजाको साथ बढ्यो । बजारबाट विस्तारै समाचार र विज्ञापन दुबै आउन थाले ।
त्यसपछि लम्साल जि, जाकिर , प्रेम जि र म पुर्ण कर्मचारी भयौं । तलब तिन अंक भन्दाबढि थिएन । तर मिडिया कम्पनी बनाउनु थियो । जोश थियो । यसरी कहिले आफुहरु नै कर्मचारी हुदै त कहिले अरु कर्मचारी पनि थप्दै लग्यौ । तर जो जो कर्मचारी भएर आए उनिहरुको उर्जा थपिदै गए । विस्तारै ओविले मिडिया कम्पनिको रुप लिन थाल्यो । सायद यो अहिले त्यो भईसकेको छ ।
यसैबाट प्रेरित भई उस्तै नाम र लोगो राखेर विभिन्न सहरमा अनलाईन मिडियाहरु खुलेका छन् । त्यो हाम्रो लागि बढो गर्वको विषय हो । यसै गरि अझ बढि प्रेरणा बाढिरहन पाउ ।
तर यसको सुरुवात जेको लागि भएको थियो ति अझैं प्राप्त भएका छैनन् । एक्सक्लुसिभ मिडियाहरुको जमातमा विराटनगर र वरिपरिका वास्तविक समस्या उठाउन हामीबाट पनि अझै कमजोरी भईनै रहेको छ । यसलाई आगामी दिनमा ओविले सुधार्न जरुरी छ । अनि बल्ल हाम्रो उचाईको नारा - हामी जोड्दैछौं विश्वसंग विराटनगरलाईका साथसाथै हाम्रो जरा पनि मजबुत हुनेछ ।
ओवि परिवारका साथै हाम्रा पाठक, दर्शक, प्रयोगकर्ता , विज्ञापनदाता अनि शुभेच्छुक सबैमा यो १२ औं वर्ष पार गरेको श्रेय बाढ्दछु । शुभकामना दिदछु । शुभकामना !