-भेषराज पोखरेल
१२ बर्ष अघि युवा मध्येका पनि कलिला विरुवाहरूले जन्माएको आवर विराटनगरले यसरी अन्तर्राष्ट्रिय ख्याति कमाउला भन्ने पटक्कै सोचेको थिइनँ। हो, ओबीले निष्पक्ष समाचार संप्रेषणमा स्थानीय आवश्यकतालाई सजिलै पूरा गर्ने कुरामा चाहिँ म ढुक्क थिएँ। तर समयको प्रवाहसँगै ओबी जुन रूपमा हुर्कियो त्यसले सामाजिक विकृति-विसंगति, राजनीतिक अपराध लगायत साहित्य, संगीत, मनोरञ्जन र खेलकुद जस्ता अनेकौं विधामा विश्वसनीय सूचना प्राप्त गर्ने प्राथमिक मुखपत्र बन्न ओबी सफल भयो।
मैले ओबीभित्र समेटिएका दर्जनौं अनुज पत्रकारहरूलाई धेरै नजिकबाट चिन्दै आएको छु। पीत पत्रकारितालाई हतियार बनाएर रातारात रोडपतिबाट करोडपति बन्ने घृणित खेलदेखि ओबीका संवाहकहरू सधैं टाढा रहिरहे। उनीहरू चाहेका भए ओबीको लोकप्रियतालाई पैसा कमाउने दरिलो माध्यम बनाउन सक्थे अनि करोड बढीको गाडी चढेर प्रदेश राजधानीका संभ्रान्त पत्रकारको खोल ओढ्न सक्थे। म ओबीका पत्रकार साथीहरको यही सादगीपूर्ण जीवन शैलीबाट सधैं प्रभावित रहँदै आएँ।
यसको अर्थ ओबीले सधैं आर्थिक विपन्नतामा बाँच्नुपर्छ भन्ने चाहिँ किंचित होइन। अब ओबीले आफ्नो लोकप्रियतालाई अर्थोपार्जनको जायज बाटोमा हिँडाएर अनलाईन मात्र होइन इलेक्ट्रोनिक र छापा माध्यममा पनि आफूलाई स्थापित गर्नुपर्छ।
ओबी स्थापनाकै बेलादेखि मलाई महत्वपूर्ण परामर्शदाताका रूपमा ग्रहण गर्ने ओबी परिवारलाई म हृदयदेखि नै कृतज्ञता प्रकट गर्दछु! अबको एक दशकभित्र नेपाल राष्ट्रभर सर्वाधिक खोजी गरिने विश्वसनीय सञ्चार माध्यमको स्वरुप ओबीले प्राप्त गर्ने कुरामा म पूर्ण विश्वस्त छु।
१२ बर्षे किशोर ओबीलाई जन्मदिनको अपूर्ण शुभकामना !