विराटनगर । कोशी प्रदेशमा पाँचदलीय गठबन्धन दलका नेताहरुले बुहमतको सरकार ल्याउने दाबी गरेका छन् ।
आज अर्थात शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वाकमो मत प्राप्त नगरेसँगै एमाले नेतृत्वको सरकार ढलेको छ । सोही क्रममा गठबन्धन दलका नेताहरुले प्रतिक्रिया दिँदै बहुमतको सरकार ल्याउने दाबी गरेका हुन् ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश प्रमुखले नयाँ सरकारको निम्ति आह्वान गरेपछि गठबन्धनको तर्फबाट बहुमतसहित मुख्यमन्त्रीको सरकारको दाबी गर्ने बताएका छन् । गठबन्धनको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै उनले गठबन्धन दल छलफलमा रहेको समेत बताए ।
उनले भने,‘एउटा प्रक्रिया भर्खरै पुरा भएको छ, मुख्यमन्त्री ज्युले विश्वासको मत पाउनु भएन , अब नयाँ सरकारको भर्खरै प्रारम्भ हुँदैछ ।’ स्वभाविकरुपमा सबै दलको दाबी रहेको बताउदै उनले गठबन्धनमा सहमति कायम गरेर सरकारको दाबी प्रस्तुत गर्ने तयारी रहेको जानकारी दिए ।
नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापाले गठबन्धन दलबाट जसले नेतृत्व गरेपनि यही दलले बहुमत प्राप्त गर्ने दाबी गरे । उनले मध्यावधिमा जाने दलहरुको चाहाना नरहेको बताउदै गठबन्धन दलले बहुमत प्राप्त गरेर सरकारलाई निरन्तरता दिने बताए ।
‘मलाई विश्वास छ, ४७ बनाउने कुरामा संख्या त हामीसँग ९३ जना हुनुहन्छ अहिले हामीसँग ४६ जना हुनुुहुन्छ बाँकी रहेको संख्याबाट हामी प्रयास गराउने कोसिसमा छौँ,’ उनले भने,‘ राप्रपा समेत नयाँ सरकारमा आउने सम्भावना छ ।’
सहमतीको सरकार बन्ने पनि कुरा छ नि ? भन्ने प्रश्नमा उनले भने,‘ त्यो पनि कुरा भइराखेको छ, त्यो पनि हुन्न भन्ने छैन प्रदेशको अवस्था हेरेर आर्थिक, सामाजिक, राजनितिक कुरा र राजनीतिक कुरालाई भन्ने हो भने हामीले सहमतिको सरकार बनाउन सक्ने अवस्था छैन भन्न किन्न । ’
यद्यपि गठबन्धन दल भित्रैबाट बहुमत पु¥याएर सरकार चालउने कोशीस गर्ने उनले जिकिर गरे ।
नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले मुख्यमन्त्रीमा आफ्नो दाबी नरहेको प्रष्ट पारे । केन्द्रमा त्यही खालको समझदारी भए जुनसुकै जिम्मा लिनुपर्ने बताउदै उनले भने,‘ व्यक्तिगतरुपमा मेरा मुख्यमन्त्रीमा प्रयास वा दाबि छैन । ’
अनौपचारिक रुपमा सहमति भए पनि केन्द्रले टुंगो नलगाएको हुँदा केन्द्रले टुंगो लगाएपछि कसको नेतृत्वमा सरकार बन्ने भन्ने प्रष्ट हुने बताए । आफूले दाबी नगरेपछि नयाँ बन्ने सरकारलाई आफ्नो सहमित रहेको उनले बताए । यता राप्रपाका सांसद अमरबहादुर विष्टले अहिले नै सरकारमा जाने निर्णय नभएको बताए । उनले केन्दबाट जे निर्णय आउछ त्यही हुने बताए । ‘अहिले नै सरकारमा जाने कुरा हुँदैन,’ उनले भने,‘केन्द्रबाट जे आउछ त्यही अनुसार हुन्छ ।’