सरकारले गरेका कामलाई सकारात्मक रूपमा लिनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

<span class='c1'>सरकारले गरेका कामलाई सकारात्मक रूपमा</span> <span class='c2'>लिनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ</span>

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारका कामलाई नकारात्मक दृष्टिले मात्रै हेर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले जति काम गरेको छ त्यसलाई सकारात्मकरूपमा लिनुको सट्टा जति गरे पनि नकारात्मक हेर्ने दृष्टिकोणबाहेक केही पनि होइन ।” भूटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा प्रहरीले स्वच्छ र स्वतन्त्र अनुसन्धान गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वच्छ, स्वतन्त्र अनुसन्धानको आधारमा तथ्य र प्रमाणले जे देखाउँछ, त्यो विन्दुसम्म सरकार पुग्छ ।” यस विषयमा अरु ढङ्गले सोच्नुपर्ने आवश्यकता नरहेको उहाँको भनाइ थियो ।

बर्सात सुरु हुने समयमा विपद्को तयारी के छ भन्ने पत्रकारको प्रश्नमा उहाँले विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनअन्तर्गत तयारीको कामलाई व्यवस्थित र प्रभावकारी बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई सामान, स्रोत, प्रविधिको अझै पनि केही अपर्याप्तता रहेको छ । तैपनि हामीले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका सन्दर्भमा यसलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार लागेको छ ।”

फरक प्रसङ्गमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीले सरकार बनाउन भारतले सहयोग गरेको भन्ने कुरा सत्य नरहेको बताउनुभयो । बाहिर आएका समाचार हेर्दा पनि प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने नदेखिएको उल्लेख गर्दै उहाँले नेपालको प्रधानमन्त्री नेपालको संसद्ले निर्वाचित गर्ने बताउनुभयो ।

जननिर्वाचित सरकार र जनताको शासन प्रणालीका निम्ति सबैभन्दा बढी सङ्घर्ष गर्ने नेताले यहाँको सरकार बनाउनका निमित्त विदेशको मुख ताक्ने वा विदेशतर्फ धाउने कुरा हुन नसक्ने उहाँको तर्क थियो । उहाँले भन्नुभयो, “यस विषयमा प्रधानमन्त्रीज्यूले आफ्नो धारणा सार्वजनिक गर्नुहुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्