विराटनगर । फेसबुकको ‘पेरेन्ट’ कम्पनी मेटाले ट्वीटरसँगै प्रतिस्पर्धा गर्न नयाँ एप ‘थ्रेड’ सार्वजनिक गरेको छ।
मेटाले आज आफ्नो नयाँ एप ‘थ्रेड’ सार्वजनिक गरेको हो ।
मेटाका सीईओ मार्क जुकरबर्ग ‘थ्रेड’ ले ट्वीटरसँग प्रतिस्पर्धी गर्ने उद्देश्य लिएको बताउँछन्। बीबीसीका अनुसार ट्वीटरमा पछिल्लो समय गरिएको परिवर्तनले बेखुश प्रयोगकर्ताहरूलाई थ्रेडले आकर्षित गर्न सक्ने विज्ञहरूले बताएका छन्। जुकरबर्गका अनुसार ‘थ्रेड’ संवादका लागि खुला र मैत्रीपूर्ण सार्वजनिक थलो हो।
तत्कालका लागि यूरोपियन युनियनमा थ्रेड उपलब्ध नभए पनि हाल विश्वका १०० भन्दा बढी देशमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
थ्रेडमा ट्वीटरमा जस्तो थुप्रै समान र परिष्कृत सुविधा पनि छ। जस्तै थ्रेडमा प्रयोगकर्ताले ५०० अक्षरसम्म पोस्ट गर्न सक्नेछन्। यस्तै, लिंक, तस्वीर र पाँच मिनेटसम्मको भिडिओ पनि पोस्ट गर्न सकिनेछ। थ्रेडका पोस्टहरू सहजै इन्स्टाग्राम स्टोरीमा वा अन्य सामाजिक सञ्जाल प्लेटफर्ममा लिंकका रूपमा ‘शेयर’ गर्न सकिने कम्पनीले जनाएको छ ।
यसैगरी थ्रेडमा कसले ‘मेन्शन’ गर्न पाउने वा कसले ‘रिप्लाई’ गर्न पाउने भन्ने प्रयोगकर्ताले निर्णय गर्ने छन्। थ्रेडमा फेसबुकमा जस्तै ‘अनफलो’, ‘ब्लक’, ‘रेस्ट्रिक्ट’ र ‘रिपोर्ट’ को सुविधा रहेको कम्पनीले उल्लेख गरेको छ।
तर, थ्रेड प्रयोग गर्न सर्वप्रथम इन्स्टाग्राममा खाता हुन आवश्यक हुन्छ। थ्रेडमा प्रवेश गरिसकेपछि इन्स्टाग्रामकै फलोअर्ससँग अन्तरक्रिया गर्ने वा नगर्ने भन्ने सुविधा हुनेछ। यस्तै, इन्स्टाग्राममा ‘ब्लक’ गरिएको जुनसुकै खाता थ्रेडमा स्वतः ‘ब्लक’ हुनेछ।
मेटाले थ्रेडलाई इन्स्टाग्रामसँग सम्बन्धित गरिरहँदा केही सञ्चारमाध्यमले भने यसलाई ‘ट्वीटर किलर’ को संज्ञा दिएका छन्।