उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का अध्यक्ष प्रकाश राउतले शुक्रबार मध्याह्न स्थानीय एक महिलामाथि दुर्व्यवहार गरेका छन् । वर्षाको समयमा अवैधरुपमा ढुंगागिट्टी उत्खनन भइरहेको सूचना पाएपछि रोक्न पुगेकी सुनिता श्रेष्ठलाई राउतले हातपात गरेका हुन् ।
स्थानीय छिडि खोलामा वडाध्यक्ष राउतको समेत संलग्नतामा गिट्टी उत्खनन गरेको पाएपछि रोक्न जाँदा हातपात र दुर्व्यवहार गरेको पीडित श्रेष्ठले बताइन् ।
उनका अनुसार ठेकेदारसँग मिलेर राउतले एक्स्काभेटरकै प्रयोग गरी टिपरमा गिट्टी निकासी गरिरहेका थिए ।
चौदण्डीगढी नगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष रातउले भने आफूले महिलालाई कुटपिट र दुर्व्यवहार नगरेको दाबी गरे । वडामा सडक निर्माण चलिरहेकाले गिट्टी निकाल्ने क्रममा सामान्य विवाद भएको उनको भनाइ छ ।