विराटनगर । रुपा न्यौपाने कोशी हेल्थ एण्ड साइन्स क्याम्पस विराटनगरमा बीपीएच (ब्याचलर अफ पब्लिक हेल्थ) आठौं सेमेस्टर अध्ययनरत छिन् । उनी चारवर्षदेखि कोशी हेल्थमा पढ्दै छिन् । छैटौं सेमेस्टरसम्म उत्तिर्ण उनी सातौं सेमेस्टरको प्राक्टिकलमा फेल भएकी हुन् ।
गत महिना जेठ १ गते पूर्वाञ्चल विश्वविद्यालयद्वारा प्रकाशित नतिजामा कम्प्रियनसीप पब्लिक हेल्थ एण्ड मेनेजमेन्ट प्राक्टिक्स, पब्लिक हेल्थ इथिक्स, सोसल हेल्थ एण्ड प्रोफेसनलिजमको प्रयोगामत्मक परीक्षामा उनी अनुत्तिर्ण छिन् । कोशी हेल्थ कलेजले पूर्वाञ्चल विश्वविद्यालयलाई रुपासँगै अनन्या भगतको समेत प्राक्टिकल नम्बरमा फेल भएकोले पुनरावलोकनका लागि अनुरोध गरेर पत्र पठाएपनि नतिजा भने सुधार भएन ।
कोशी हेल्थ कलेजमा चारवर्ष अगाडी भर्ना भएकी रुपाको बीपीएच सकिन लागेको थियो । तर, एकाएक सातौं सेमेस्टरमा ब्याक ब्रेक लाग्यो । यो ब्रेकले रुपालाई सताउनसम्म सताएको छ । हुन त उनको रेकर्डमा यस अगाडीको छैटौं सेमेस्टरसम्मको समग्र नतिजा औसत नै छ ।
पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा बीपीएच कार्यक्रम सञ्चालन गर्दै आएको कोशी हेल्थमा भएको यो घटना भने रुपाले व्यवस्थापन पक्षको कारण भएको आरोप लगाएकी छिन् । उनले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर घटना नियोजित रुपमा गराइएको दावी गरेकी छिन् । उनले निजी कलेजका सञ्चालक वा व्यवस्थापन पक्षले भने भन्दा केहि तलमाथि हुँदा विद्यार्थीसँग ‘इगो’ राखिने गरिएको बताइन् । त्यस्तो इगो राखेर कोशी हेल्थमा आफ्नो भविष्यमाथि खेलबाड भएको रुपाको गुनासो छ ।
तर, कलेज प्रशासनले भने रुपाले यस विषयलाई नकारात्मक रुपमा बुझिरहेको बताउँदै आएको छ । उनी नियमित र परीक्षामा उपस्थित विद्यार्थी भएकोले प्राक्टिकलको नम्बरमा देखिएको समस्या समाधानका लागि विश्वविद्यालयसँग पुनरावलोकन माग गरिएको थियो । तर, विश्वविद्यालयले पुनरावलोकन हुनसक्ने अवस्था नदेखिएको बताएको छ ।
कोशी हेल्थ कलेजका निमित्त प्रिन्सिपल सुर्यनारायण चौधरीका अनुसार सैद्धान्तिक ८० पूर्णाङ्क विश्वविद्यालयले र प्राक्टिकल २० पूर्णाङ्क आन्तरिक रुपमा कलेजले र बाह्य परीक्षकद्वारा १०० पूर्णाङ्कको ‘भायवा’ हुने गरेको छ । बाह्य परीक्षक विश्वविद्यालयले खटाएका प्रतिनिधि हुने गरेका छन् । जसको रिजल्ट सिट उनीहरु आफैंले तयार पारेर विश्वविद्यालयमा शिलबन्दी बुझाउने कलेज प्रशासनको भनाई छ । यहिंनेर कलेज प्रशासनले गलत नियत राखेको आशंका उब्जिएको छ । बाह्य परीक्षण खटिएर आएपनि विद्यार्थीको नम्बर दिने कुरामा भने कलेजका विषयगत शिक्षकको हात हुने गरेको छ ।
रुपा सैद्धान्तिक र कलेजले लिने आन्तरिक प्राक्टिकलमा उत्तिर्ण भएपनि ‘भायबा’ मा अनुत्तिर्ण भएको उल्लेख छ । यसको करेक्सन गर्न विश्वविद्यालयले नमानेका कारण अर्को वर्ष कुर्नु बाहेक विकल्प नभएको बताइन्छ । तर, रुपा आन्तरिक रुपमा कलेजले पठाउने नम्बरमा जर्बरजस्ती फेल पारिएको दावी गर्दै आएकी छिन् । उनले यस विषयमा अदालतको ढोका ढकढक्याउने मात्रै नभई राज्यले अनुसन्धान गर्नुपर्ने तहसम्म कुर्ने बताइन् । उनले भनिन्–प्रहरीले अनुसन्धान गर्नुपर्छ भन्ने माग छ, कुनै शैक्षिक संस्था भित्र इगो राखेर विद्यार्थीको भविष्य छेक्ने कार्य गलत नियतका साथ हुने गर्दछ । रुपाले आफुमाथि परेको अन्याय आगामी दिनमा अन्य विद्यार्थीमाथि पर्न नहुने निष्कर्षमा रहेको सुनाइन् ।