विराटनगर । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट सोमवार प्रहरीले लागुऔषध ब्राउनसुगर सहित ७ जनालाई पक्राउ गरेको छ ।
लागुऔषध ब्राउनसगुरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१३ का २५ बर्षीय तुलसी राजवंशीलाई ८५० मिलीग्राम लागूऔष ब्राउनसुगर सहित फूलवारी टोलबाट पक्राउ गरेको हो ।
त्यसैगरी प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-१ का २० बर्षीय बिशाल दमाईलाई २ ग्राम ५०० मिलीग्राम ब्राउनसुगर सहित चारआली चोकबाट पक्राउ गरेको हो भने सोही स्थानबाट स्थानीय २१ बर्षीय गणेश राजवंशी र अर्जुनधाराका २७ बर्षीय निकाश अधिकारी तथा मेचीनगर नगरपालिका-६ का ५५ बर्षीय डम्बर बहादुर तामाङ र मेचीनगर नगरपालिका-७ का १७ बर्षीय अभिषेक सिवालाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
यस्तै विराटनगर महानगरपालिका-१५ बाट ईटहरी-४ का उपेन्द्र ठकुरीलाई ०.४३ ग्राम लागुऔषध ब्राउनसुगर सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।