विराटनगर । विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि साउन १ गतेदेखि अभियान नै सञ्चालन गर्ने भएको छ । सुर्तीजन्य पदार्थ बिक्री अनुमति लिएका सबै पसलको इजाजत रद्द गरेर राजस्व नलिने निर्णय गरेका कारण कुनैपनि सार्वजानिक स्थानमा यसको बिक्री वितरण र प्रयोग पूर्ण रुपमा रोकिने दावी छ ।
विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्रीका लागि दिइएको इजाजत रद्द गर्ने निर्णय गरिसकेको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आम नागरिकलाई सचेत गराउँदै साउन १ गतेदेखि सुर्तीजन्य वस्तु बिक्री वितरण पूर्ण रुपमा निषेधका लागि अभियान लिएर निस्कने बताएका छन् । उनले बुधबार पत्रकारहरुको एक कार्यक्रममा बोल्दै मानव स्वास्थ्य र शहरको वातावरणलाई बिगार्ने वस्तु बिक्री गर्न रोक लगाउने निर्णय कार्यन्वयनमा सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।
विराटनगर महानगरपालिका सरसफाई तथा वातावरण शाखा प्रमुख पुनम दाहालले महानगरपालिकाको नीति तथा कार्यक्रममा नै सुर्तीजन्य वस्तुको बिक्री वितरण निषेध गर्ने विषय समेटिएको जानकारी दिए । त्यससँगै साउन १ गतेदेखि विराटनगर महानगरपालिका भित्रको क्षेत्रमा कुनैपनि इजाजत प्राप्त गरेका पसलको प्रयोजन रद्द गरिने छ । गत बैशाख १ गतेदेखि सुरु गरिएको अभियानले केहि सार्थकता पाएपनि पूर्ण नियन्त्रणमा आउन सकेन । त्यसपछि महानगरपालिकाले आफैंले व्यवसाय दर्ता गर्दा प्रयोजन खुलाएको शिर्षकलाई रद्द गर्ने भएको छ । जस्तै कुनै किराना पसलले व्यवसाय दर्ता गरेर बिक्री प्रयोजन खुलाउने क्रममा बिभिन्न प्रकारका वस्तु जस्तै तम्बाकु, सुपारीजन्य वस्तु समेत उल्लेख गर्ने गरेका थिए । व्यवसाय नै दर्ता गरेर बिक्री र वितरण गर्ने इजाजत लिएका व्यापारीको पसलमा छिरेर नियन्त्रण गर्न कानुनले नदिएपछि इजाजत रद्द गरेर सबैतिर निषेध गरिने भएको छ ।
दाहालले साउन १ गतेदेखि पान पसलले समेत जर्धा बिक्री गर्न पाउँदैन । पान पसलले मिठा पान बाहेक बाँकी सुर्तीजन्य वस्तु बिक्री गर्न पाउने छैन । महानगरपालिका क्षेत्र भित्र नै निषेध गर्ने निर्णय भएकोले पान पसलमा समेत सुर्तीजन्य वस्तु रजनीगन्धामा प्रयोग हुने तुलसी, पासलमा प्रयोग हुने जर्धा समेत निषेध गरिने भएको छ ।
महानगरले बैशाखमा चालेको अभियानमा सार्वजानिकस्थल आसपासको २०० मिटर दुरीमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा केहि नियन्त्रण हुन सकेको थियो। सार्वजानिकस्थल मन्दिर, मस्जिद, गुम्बा, विद्यालय, सार्वजानिक सरोकार राख्ने कार्यालय आसपास, अस्पताल आसपासमा लुकाईछिपाई बिक्री भईरहेको छ । यो नियन्त्रण गर्नका लागि कानुनी रुपमा व्यवसाय दर्ता गर्दा पाएको वैधताले छेक्दै आएको थियो ।
सरकारले ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन–२०६८, ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली –२०६८ र ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका –२०७१ गरी तीनवटा कानून ल्याएको छ । त्यो कानुनको कार्यन्वयनमा महानगरपालिकाले कडाईका साथ उभिने तयारी गरेको हो । तर, कानुन कार्यन्वयन गर्नका लागि कानुनतः बिक्रीका लागि दिएको इजाजत पनि रद्द गर्नुपर्ने थियो । कार्यक्रमहरु अघि सारेको छ । तर, पनि परिणाम राम्रो देखिएको छैन । सूर्तीजन्य पदार्थको बट्टामा त्यसको प्रयोगले हुने खतराको संकेत राखिएको छ । सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थको प्रयोगमा प्रतिवन्ध नै लगाइएको छ । नियमित अनुगमन र कार्वाहीमा भएको फिलतोपनाले कानुनको कार्यन्वयन कमजोर मात्रै नभई शहरको सरसफाई र मानवको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।
सुर्तीजन्य पदार्थ सेवनका कारण निस्कने हरितगृह ग्यासले वायु प्रदूषण गराउनाले आफ्नो स्वास्थ्य र वातावरण सुरक्षित राख्न धुम्रपान त्याग्नुपर्ने चिकित्सकहरुको सुझाव छ । सन् २०२० को विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने विश्वमा वार्षिक २४ लाख मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको छ । त्यसैगरी सन् २०१८ को तथ्यांक हेर्दा ९६ लाख मानिसहरुको क्यान्सरबाट मृत्यु भएको छ । विश्वभर मृत्यु हुने कारणमध्ये क्यान्सर दोस्रो नम्बरमा पर्छ । २५ प्रतिशत क्यान्सरबाट मृत्यु सुर्तीजन्य पदार्थका कारण हुने गरेका छन् जसमा २० प्रकारका क्यान्सर हुन सक्ने सम्भावना रहन्छ ।
दैनिक अन्य उपभोग्य वस्तु बिक्री गर्ने स्थानमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न पाइने छैन । सोको अनुगमन गर्नका स्थानीय प्रशासनलाई सरकारले जिम्मेवारी दिएको छ । हालसम्म सुर्तीजन्य पदार्थ चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा आदि सार्वजनिक रूपमै बिक्रीवितरण हुँदै आइरहेको छ ।
फोटो:फाइल