विराटनगर । झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार झापाको बाह्रदशी गाउँपालिका-६ भित्रि सडक खण्ड स्थितमा ईलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरी टोलीले बा.२६ प ३६३८ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा चालक स्थानीय ४२ बर्षीय राम बहादुर तामाङको साथबाट १ ग्राम २ सय ५ मिलिग्राम ब्राउन सुगर र नगद ३ हजार ६ सय बरामद गरेसगै निजको घरकोठामा खानतलासी गर्दा उक्त कोठामा लुकाईछिपाई राखेको अवस्थामा डिजिटल तराजु एक थान, ब्राउन सुगर २ ग्राम २ सय ५० मिलिग्राम बरामद गरेको थियो ।
त्यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका-१ स्थित २४ बर्षीय अनिल भट्टराईको घरमा लागुऔषध बिक्रिबितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा ब्राउन सुगर ८ सय ६० मिलिग्राम सहित निजलाई पक्राउ गरेको हो ।
त्यस्तै मोरङको विराटनगर- १५ ढाट स्थित भारत बाट नेपालतर्फ आउदै गरेको पैदल यात्री धरान-३ का २६ बर्षीय सगर सहनीको साथबाट २ ग्राम ४० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटीबाट खटिएको प्रहरी टोलीले सुनसरीको ईटहरी उप-महानगरपालिका- १२ घर भई हाल ईटहरी-८ स्थित बस्दै आएका अनिस रानाको साथबाट लागुऔषध ब्राउन सुगर २ ग्राम ३ सय मिलिग्राम सहित पक्राउ गरेको हो ।
लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।