विराटनगर । लोहन्द्र खोलाको पुल र सुनसरी मोरङ सिंचाई आयोजनाको नहरको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्धघाटन गरेका छन् ।
२०७४ सालको बाढीले बगाएका पुल र नहर बगाएको ६ बर्षपछि ३४ करोड ९ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । उक्त पुल र नहरको मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मोदीले उद्घाटन गरेका हुन् ।
उक्त पुल र नहर बनेसँगै लोहन्द्रा खोलाबाट पूर्वको १४ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने भएको छ । यसअघि पुल र नहर बगाएसँगै उक्त जमिनमा सिंचाईको समस्या थियो । सुनसरी मोरङ सिंचाई आयोजनाका निर्देशक भिलानन्द यादवका अनुसार १५३ मिटर लम्बाइको पुलमा ६ वटा स्प्यान रहेको छ । १६ मिटर गहिराइबाट उठाएको र १ डायमिटरमा रहेको पुल हाइवे स्टेण्डरमा बनाइएको हो ।
पुल र नहर निर्माणको लागि कूल लागत अनुमान ४७ करोड ३२ लाख थियो । निर्माण सम्झौता निर्माण व्यवसायी आशिष स्वामिनारायण आशिर्वाद जेभी धरान १० सँग २०७६ सालमा भएको हो । पुल निर्माण सम्पन्न गर्नुपर्ने समय २०८० को भदौ अन्तिम समयसम्म थियो । लगभग अढाई तीन महिना अगाडिनै पुल र नहर सम्पन्न भएको निर्देशक यादवले बताए । सम्झौता अवधि अगावै लोहन्द्रा साइफन र पुल निर्माण गरे वापत आयोजनाको तर्फबाट निर्माण व्यवसायी सन्तोषकुमार बस्नेतलाई मन्त्री मोदीले सम्मानसमेत गरेका छन् ।
सुनसरी मोरङ सिंचाई आयोजनाले ६८ हजार हेक्टर (करिब १ लाख विगाहा) क्षेत्रफलमा खेती गर्न सिंचाई सुविधा पुर्याउँदै आएको छ । ५० वर्षभन्दा अगाडि योजना निर्माण सम्पन्न भइसकेको जनाउँदै निर्देशक यादवले पुराना संरचना धेरै जिणर् भइसकेको बताए । धेरैजसो संरचना इँटाले बनाएको कारण यसको पुनःनिर्माण गर्नुपर्ने अवस्था देखिएको उनले बताए । इन्टेकबाट प्रतिसेकेण्ड ६० क्यूमेक क्षमतामा पानी आउने यादवले बताए । नरहको क्षमता ५२ क्यूमेक प्रतिसेकेण्ड हो । अहिले ५० देखि ५५ क्यूमेकसम्म चलाइरहेको बताउँदै निर्देशक यादवले हिउँदमा ३५ देखि ४० क्यूमेकसम्म चलेको बताए । यद्यपि हिउँदमा पूणर् क्षमतामा चलाउनका लागि कोशीमा पानीको स्रोतमै कम भइरहेकोले सफल हुन नसकेको उनले बताए ।
सुनसरी मोरङ सिंचाई आयोजना कोशी सम्झौता अन्तर्गत सन् १९५४ सालबाट निर्माणको काम अगाडि बढेको थियो ।