काठमाडौँ । राष्ट्रिय बास्केटबल लिग (एनबिएल) हुने भएको छ ।
एनबिएलको पहिलो संस्करणको प्रतियोगिता असोज १२ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने आयोजकले जनाएको छ।
नेपाल बास्केटबल संघको स्वीकृतिमा कान्तिपुर टेलिभिजन नेटवर्क र डिजिफ्लाइको संयुक्त सहकार्यमा लिगको आयोजना गरिएको हो ।
पहिलो संस्करणमा आठ टिम सहभागी हुनेछन्। एनबिएल खेल्ने टोलीहरुमा विशालमिलन केन्द्र, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब, गोल्डेनगेट बास्केटबल क्लब, हाउन्ड्स एकेडेमी, रोयल स्पोट्स सेन्ट्रल, टाइम्स क्लब, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लबको सहभागिता रहेको आयोजकले जनाएको छ।
नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भिमसिंह गुरुङले एनबिएललाई उत्कृष्ट लिग बनाउने प्रयास रहेको भन्दै सहभागि सबै टिमलाई उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए ।