त्यो कालो रात

त्यो कालो रात

-सुस्मा ढकाल
मन नै बेहोस् हुने आतिने त्यो कोलाहलपूर्ण वातावरणले आँखाबाट आँसु नरोकिने यि र यस्ता घटनाहरु लेख्न मन नहुँदानहुँदै पनि इतिहासमा साक्षि राख्न मनलाई नै असर गर्ने घटनालाई नलेखिरहन सकिन । संकलन गरिएका त्यस्तै तस्बिर नटाँसी मनले मानेन । यसलाई अन्नयथा नसोचिदिनु होला । पात्रहरु बदलिए पनि, घटनाको प्रकृति र प्रयोग हुने वस्तुहरु बदलिए पनि बारम्बार हामीले यस्ता घटना भोगिरहन, देखिरहन र सुनिरहन परिरहेछ । त्यसैले यो घटनालाई मैले इतिहासमा उतार्ने जमर्को गरेकी छु !
‘कालो बादल नीलो आकाशमा,
गए आमा चढेर जहाजमा,फर्के बाकसमा’

चलचित्र परदेशीको लागि गायिका उषा मगरले गाएको यो गीत शनिबार राति एका एक सम्झिए । रातको करिब १० बजेको थियो मानिसहरूको चहल पहल निकै थियो । मानिसहरु वरपर गरिरहेका थिए म घरको छतमा बसेर हेरिरहेकी थिए एक्कासी मेरो कानमा एउटा आवाज आएर ढोक्कियो।

कृष्णको लास ल्याईपुर्याउन लागे जाऊ हेर्न । म आतिए केही बोल्न सकिन । अनि बिस्तारै छतबाट तल झरे सोचे त्यहा कसरी जाऊ के हिम्मत आउला त। फेरि मनले मानेन ढोका लगाए अनि घरबाट बाहिर निस्के बाटाभरि मानिसको भिड लागेको थियो । म पनि त्यही भिडमा गए मानिसहरु एक अर्कोबिच कुराहरु गर्दै बसेका थिए।म त्यहाँबाट घरतिर गए । त्यहाँ मानिसको भिड थियो । त्यतिकैमा गाडिको आवाजसँगै मधुरो उज्यालोमा एउटा गाडि घर अगाडि आएर रोकियो तब त्यहाँको माहोल नै परिवर्तन भयो कोलाहल पूर्ण।

विदेश गएको छोरो बाकसमा कैद बनेर फर्किदा परिवार र आफ्न्तले आफूलाई थाम्न सकेनन् । कोही बाकसमा हेर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका थिए भने कोही परिवारजनमा सहानुभूति र समवेदना । कोही त्यही बाकसमा अंगालो हालेर सुमसुम्याउदै डाँको छोडिरहेका थिए । मृत्यु भएको झण्डै एकसातापछि गाउँमा आउदा गाउँ नै शोकाकुल भएको छ । खाउँखाउँ लाउँलाउँ उमेरको छोरो हाँस्दै रमाउदै सबैजनासँग बिदा मागेर गएको अचानक बाकसमा कैद बनेर फर्किदा ती वृद्ध बाबुआमाको मन कसरी थामिन्यथो होला र उनकी आमाको आँखा घटना सुनेदेखि ओभाएका थिएनन् । ‘सबैसँग बिदा मागेर चाडै आउने भन्दै गएको छोरो अब कहिल्यै नआउने गरी बिदा हुदा कस्को मन नरोला र श्रीमती छोरा अचेत अबस्थामा हुनुहुन्थ्यो- कसले कल्पना गरेको हुन्छ र यस्तो पीडा व्यहोर्नु पर्छ होला भन्ने ।’ धन कमाउन विदेश गएको छोरो काठको बाकसमा लास बनेर फर्के पछि उनको परिवारमा यतिखेर निक्कै ठुलो चोट परेको छ । कमाउन हिडेको छोरोको लास बाकसमा फर्किदा कुन आमाको मन थामिएला कल्पना पनि गर्न सकिन्न ।

उनको मृत्युको खवर सुनेदेखि गाउँ सबै स्तब्ध र शोकमग्न थियो । सिङ्गो परिवार र गाउँले छोराको शवको प्रतिक्षामा थियो । बाकसमा उनको शव आउँदा सारा गाउँलेमा रुवाबासी मच्चियो । सोच्दै नसोचेको पीडा यतिखेर त्यो गाउले व्यहोर्दैछ । छोराका मृत्युको खबर सुनेदेखि बास्तोला परिवारको घरको चुल्होमा आगो बलेको छैन् । परिवार अचेत अवस्थामा छन्।

पैसा कमाउने, छोराछोरीलाई धेरै पढाउने उद्देश्यले आफ्नो घरको आर्थिक समस्या कम गर्न पैसा कमाउन विदेश पुग्ने सबै नेपालीहरु भाग्यमानी हुँदैनन् । कतिले राम्रैसंग पैसा कमाएर फर्कन्छन् भने कतिले विदेशी भूमिमा आफ्नो ज्यान गुमाउनु पर्ने हुन्छ ।

यस्तै एक प्रतिनिधि पात्र हुन् कृष्ण । वैदेशिक रोजगारीका लागि गएका कृष्ण अब कहिल्यै नफर्किने गरि बिदा भए । उनको श्रीमती छोरा र छोरी रहेका छन् । यी सँगै बाबुआमा समेत वृद्ध अवस्थाका छन्। सामान्य आर्थिक अवस्थाका कारण विदेशीएका कृषको निधनले घरपरिवारमा ठूलो क्षति पुगेको छ । छोराछोरी पढाउने हुर्काउने देखि वृद्ध अवस्थाका सासु ससुराको रेखदेखदेखि घरबार खर्च चलाउने जिम्मा अब उनकी श्रीमतीको काँधमा आएको छ । स्वर्गीय कृष्णको आइतबार स्थानीय बुढीगंगा धाटमामा अन्त्यष्टि गरिएको छ । देश रेमिटेन्सले नै चलेको छ । वार्षिक रुपमा आउने खर्बौ रुपैयाँ बराबरको रेमिटेन्स कै कारण अहिले देश धानिएको छ तर विदेश जाने र देश चलाउने ति युवाहरु भने रातो बाकसमा फर्कर्नु पर्ने बाध्यता छ ।

स्वदेशमा सुख नपाएर दु:ख गर्न विदेश पुगेका उनीहरु त्यहाँ पनि कम संघर्ष गर्न बाध्य छैनन् । हरेक युवाहरुको चाहना रोजगारीका लागि विदेश जानु नपरोस भन्ने नै हुन्छ । तर बाध्यताको अगाडि कसको के लाग्छ । अहिले देशले विदेश बाट युवाहरुले कमाएको रेमिटेन्स मात्र बुझिरहेको छैन । दैनिक रुपमा नेपाली युवा जवानको शव समेत बुझिरहन परेको दुःख लाग्दो अवस्था छ । अब देशले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक छ ताकि कुनै युवाहरुले विदेशमा आफ्नो ज्यान गुमाउनु नपरोस । विदेशिएका युवालाई सकुशल स्वदेश फर्काउन वातावरण बन्नै पर्छ, राज्य जिम्मेवार हुनैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्