केही अर्थ छैन फगत मान्छे मात्रै हुनुको

केही अर्थ छैन फगत मान्छे मात्रै हुनुको

-सुरज दाहाल
आठ अर्बको भिडमा स्वास मात्रै फेर्नुको
भिडमा हराएको भिड मात्रै बन्नुको
फगत उभिएको मान्छे मात्रै बन्नुको
केही अर्थ छैन मान्छे भएर मान्छे मात्रै हुनुको

सबैभन्दा गतिहीन हुनु दौडन नसक्नु हैन
सबैभन्दा पराजित हुनु भिडन नसक्नु हैन
गतिहीनता मान्छे भएर मान्छेको दु:खमा रमिता हेर्नु हो
ठुलो पराजय आफै भित्रको मान्छे अरुमा नदेख्नु हो।

जिउँदो हुनु जन्मदिनमा केक काट्नु मात्रै हैन
स्वार्थ जोडिएका सिमितसँग खुशी बाड्नु मात्रै हैन
मान्छे जिउँदो हुनु - मानवता जिउँदो हुनु हो
मान्छे सामाजिक प्राणी भएको मान्यता जिउँदो हुनु हो
तिन लाख वर्ष विकसित हुन् लागेको - सभ्यता जिउँदो हुनु हो
त्यसैले मान्छे जन्मदै छन् मर्दैछन् तर सभ्यता मर्दैन
एउटाको मृत्युमा अर्को शोकमा हुन्छ मानवता मर्दैन

जसले आफ्नै अगाडि कोहि लडदा उठाउन प्रयास गर्दैन
आँखा अगाडि कोहि मरिरहदा बचाउन प्रयास गर्दैन
कोहि झरिरहदा हात समाउने प्रयास गर्दैन
आफैँभित्र अरुलाई खोज्ने साहस गर्दैन
आफुभित्र अरु प्रति करुणाको आभाष गर्दैन
केहि अर्थ छैन त्यो मान्छे मान्छे हुनुको
केहि अर्थ छैन मानवको एउटा शरीर जिउँदो हुनुको

कोही अर्थ छैन आधुनिक मान्छे हुनुको
आधुनिकतासँग मानवता बाच्दैन भने
मानवताकै लागि भनि आफ्नो मृत्यु साच्दैन भने
आफुलाई मानवताको तराजुमा जोख्दैन भने
अरुको अनुहारमा आफु जस्तै अर्को मान्छे देख्दैन भने
केही अर्थ छैन मान्छे भएर फगत मान्छे मात्रै हुनुको !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्